PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिंहदरबारमा थन्किएका थोत्रा गाडी स्थानीय निकायलाई, 'लाने भए आफै मर्मत गर्नुस्'



बीपी साह

सिंहदरबारमा थन्किएका थोत्रा गाडी स्थानीय निकायलाई, 'लाने भए आफै मर्मत गर्नुस्'

काठमाडौं: २०७६ असार मसान्तसम्ममा सकिने गरी सिंहदरबारको सौन्दर्यकरण गर्ने प्रक्रिया अगाडि बढेको छ।

देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबारलाई सौन्दर्यकरण गर्नका लागि बगैँचा व्यवस्थापनदेखि थोत्रा गाडी वितरणको योजनासमेत अगाडि बढेको छ।

सिंहदरबारभित्र एक सयभन्दा बढी पुराना गाडीहरु राखिएका छन्। विभिन्न मन्त्रालयका बिग्रिएका गाडीहरु सिंहदरबारमा थुपार्दा कुरुप देखिने भन्दै गाडीहरुको व्यवस्थापन गरिन लागिएको हो।

सबै मन्त्रालयका पुराना सवारी साधानहरुको मर्मत गरी पुनः सञ्चालनमा ल्याउने योजना अगाडि बढाइएको छ। सञ्चालनमा आउन नसक्ने गाडीलाई विद्यार्थीहरुको अध्ययन प्रयोजनका लागि वितरण गर्ने तयारी गरिएको छ।

मर्मत गरेर सञ्चालनमा आउन सक्ने र तर मन्त्रालयलाई काम नलाग्ने गाडी समान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा पठाउने तयारी पनि भइरहेको छ। यसमध्ये हालसम्म ९ वटा स्थानीय निकायले गाडी लग्ने भन्दै मन्त्रालयमा निवेदन दिएका छन्।

सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थान शाखाका उपसचिव ईश्वर गिरीले निवेदन दिएका स्थानीय निकायहरुसँग छलफल भइरहेको बताए।

‘हामीसँग स्थानीय निकायमा पठाउन सक्ने करिब १५ वटा गाडी छ। जसमध्ये ९ वटा निवेदन आएको छ उहाँहरुसँग छलफल भइरहेको छ,’
पहिलोपोस्टसँग उपसचिव गिरीले भने,‘मर्मतका लागि लाग्ने खर्च स्थानीय निकाय स्वयंले ब्यहोर्नु पर्नेछ। उहाँहरुले चित्त बुझे लान सक्नु हुनेछ।’

काम नलाग्ने खालका ६० वटा जति गाडी सिंहदरबार परिसरमा रहेको गिरीले जानकारी दिए। ती गाडीहरु मेकेनिकल इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुलाई दिने तयारी भइरहेको छ।

यसैबीच साविकको प्रधानमन्त्री कार्यालयलाई सौन्दर्यकरणका लागि विद्युतीकरण तथा बगैँचालाई आधुनिक प्रविधियुक्त सिँचाइको व्यवस्था गरिदैछ। यसको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइएको छ भने आर्थिक सहयोग अर्थ मन्त्रालयले गर्नेछ।

सिंहदरबारको गुरुयोजना अनुसार तुरुन्त काम अगाडि बढाउन थालिएको छ भने बाहिरपट्टीका पर्खालहरुमा बत्ती बाल्ने र रंगरोगनको व्यवस्था हुन लागेको छ। शहरी विकास मन्त्रालय र अर्थलाई यो योजना २०७६ असार मसान्तसम्म सकिने निर्देशन सचिवस्तरीय निर्णयबाट दिइएको हो।
सिंहदरबारभित्र पस्ने गेटहरुलाई पुरातात्विक एवं ऐतिहासिक शैली दर्शिने गरी पुर्ननिर्माणको तयारी गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell