PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केन्याको राजधानीमा आतंककारी आक्रमण, प्रहरी र लडाकुबीच गोली हानाहान: विश्वमा आज



केन्याको राजधानीमा आतंककारी आक्रमण, प्रहरी र लडाकुबीच गोली हानाहान: विश्वमा आज

केन्यामा आक्रमण

केन्याको राजधानी नैरोबीमा आतंककारी आक्रमण हुँदा धेरै संख्यामा मानिसहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

सोमालियाको लडाकु समूह अल- सबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

नैराबीको वेस्टल्यान्ड जिल्लामा रहेको सुविधा सम्पन्न डुसिटडी टु होटल लगायत अरु कार्यालयहरु रहेको भवनमा बम विस्फोट हुनुका साथै गोली चलिरहेको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र लडाकुहरुबीच गोली हानाहान भइरहेको बताइएको छ।

भवन बाहिर पार्किङमा रहेका गाडीहरुमा आगलागी भएका तस्विरहरु सार्वजनिक भएका छन्। यस्तै गोली लागेका र घाइते अवस्थामा केही व्यक्तिहरुलाई भवन बाहिर निकालिएको बताइएको छ।

 होटल क्षेत्रमा हतियारधारी समूह प्रवेश गरी बम आक्रमण गरेको र एक जना आक्रमणकारीले आत्मघाती विस्फोट गरेको बताइएको छ।

 आक्रमण पश्चात भवन क्षेत्रमा व्यापाक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। हतियारधारी समूहका सदस्य अहिले पनि भवन भित्र रहेको आशंकामा प्रहरीले सर्च अपरेसन गरिरहेको छ।

स्वतन्त्रताका लागि विद्रोह

कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छिन्।

दुई हप्ताअघि १८ वर्षीया मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन्। इस्लाम त्यागदै परिवारसँग विद्रोह गरेकाले उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन्।

ट्रम्पलाई टक्कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ।

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधाहरु हटाएको थियो। ट्रम्प प्रशासनको उक्त आदेश लगत्तै स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधा कटौती हुनुका साथै कतिपय स्वास्थ्य संस्थाले गर्भपतनमा कडाई गर्न थालेका थिए। अमेरिकी अदालतहरुले ट्रम्प प्रशासनका नयाँ नियमहरुप्रति आपत्ति जनाएपछि सामान्य संशोधन गरिएको थियो। यी संशोधनहरु सोमबारदेखि लागू हुने तयारीमा थिए। पेन्सिलभेनियाकी अमेरिकी जिल्ला न्यायाधीश वेन्डी बिटलस्टोनले राष्ट्रव्यापी रुपमै लागू हुनेगरी नयाँ आदेश जारी गरेकी हुन्।

आन्तरिक ऋणमा वृद्धि

सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो। यद्यपि सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइनाले जनाएको छ।

 फोटो: SCMP/BBC/AP/AFP/GETTYIMAGE/REUTERS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell