PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमएम कप क्रिकेट : विक्रम ठगुन्नाको ह्याट्रिक, प्रदेश नम्बर ७ को फराकिलो जित



पहिलोपोस्ट

एमएम कप क्रिकेट : विक्रम ठगुन्नाको ह्याट्रिक, प्रदेश नम्बर ७ को फराकिलो जित

सुनसरी : विक्रम ठगुन्नाले ह्याट्रिक विकेट लिएपछि प्रदेश नम्वर ७ ले मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवार भएको समूह सी को खेलमा प्रदेश नम्बर ५ लाई ११८ रनले पराजित गरेको छ।

सुनसरीस्थित इनरुवा क्रिकेट मैदान पहिले ब्याटिङ गर्दै प्रदेश ७ ले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो। प्रदेश ७ का लागि लोकेश बमले सर्वाधिक ६८ तथा रोशन अधिकारीले ५९ रन जोडेका थिए। यस्तै बिपिन रावलले २४ र नारायण जोशीले २२ रन जोडे।

बलिङमा प्रदेश ५ का मन बहादुर रानाले सर्वाधिक ३ विकेट हात लिए भने रुपेश कुर्मी र विक्रम भुषालले २-२ विकेट लिए।

२४५ रनको लक्ष्य पछ्याएको प्रदेश ५, २८.३ ओभरमा १२६ रनमा अलआउट भयो। प्रदेश ५ का लागि लागि कृष्ण कार्कीले ३६, सन्दिप रजालीले १४ तथा सुबेन्दु पाण्डे र विक्रम भुषालले ११-११ रन जोड्न बाहेक अन्यले दोहोरो अंक छुन सकेनन।

प्रदेश ५ लाई कम स्कोरमा लअआउट गर्न प्रदेश ७ का विक्रम ठगुन्नाले ह्याट्रिकसहित ४ विकेट लिए। उनले खेलको सातौँ ओभरको चौथो, पाँचौ र छैठौं बलमा लगातार विकेट लिँदै प्रतियोगिताकै पहिलो ह्याट्रिक लिए। विक्रमले उक्त ओभरमा राजविर सिंह (९), प्रकाश केसी (०) र सौरभ खनाल (०) लाई आउट गरेका थिए।

विक्रमले ८.३ ओभर बलिङ गर्दै २ मेडन राख्दै ३८ रन खर्चिए।। यस्तै नारायण जोशी र शेर मल्लले २-२ विकेट लिए।

प्रतियोगिताअन्तर्गत बुधवार समूह चरणको अन्तिम खेलमा प्रदेश ७ ले भारतीय टोलीसँग खेल्नेछ। उक्त खेलमा विजयी भए प्रदेश ७ सेमिफाइनल पुग्नेछ। भारतीय टोली विजयी भएमा भने तीन टोलीको समान २ अंक हुनेछ र रनरेटमा समूह विजेताको निर्णय हुनेछ। यस समूहको पहिलो खेलमा प्रदेश ७ ले भारतीय टोलीलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell