PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतमा ४९ दिन लामो कुम्भ मेला सुरु, मेलास्थलमा नरेन्द्र मोदीको तस्विरसँग सेल्फी



भारतमा ४९ दिन लामो कुम्भ मेला सुरु, मेलास्थलमा नरेन्द्र मोदीको तस्विरसँग सेल्फी
फोटो : अंकित श्रीनिवास बीबीसी

प्रयाग : भारतमा आजदेखि कुम्भ मेला सुरु भएको छ।  यस मेलालाई संसारकै सबैभन्दा ठूलो मेलाका रुपमा लिने गरिन्छ।

लाखौं तीर्थालुले गंगा र यमुना नदीको संगमस्थलमा स्नान गरी मेलाको शुभारम्भ गरेका छन्। स्नान गर्दा पापमोचन हुने जनविश्वास रहेको छ। 

मेलामा धेरै संख्यामा महिला तीर्थालुहरु प्रयागराज पुगेर स्नान गरेको बताइएको छ। यस्तै केही समलिंगीहरुले समेत स्नान गरेको बीबीसीले उल्लेख गरेको छ।  

आजमात्रै करिब १ करोड पचास लाख भक्तजनहरु मेलामा सहभागी हुने अनुमान गरिएको छ। 

 ४९ दिन आयोजना हुने मेलामा सहभागी हुने धेरै संख्यामा साधुसन्तहरु अहिले मेला स्थानमा पुगेका छन्।

भारतको उत्तर प्रदेशस्थित प्रयागमा प्रत्येक १२ वर्षमा परापूर्वकादेखि मंकरसंक्रान्तिका दिनदेखि  कुम्भ मेला संचालन हुँदै आएको छ।

२० वर्षयता भने कुम्भ मेलाको बारे धेरै चर्चा हुने गरेको छ।

हिन्दुवादी सरकारको छवी बनाएको नरेन्द्र मोदी सरकारले आयोजन गरेकाले पनि यसपटकको मेलालाई विशेष महत्व दिइएको छ।

प्रयागराज भरी मोदीको तस्विर भएका होर्डिङ वोर्डहरु राखिएको बताइएको छ। यस्तै, धेरै मानिसहरु मेला स्थलमा राखिएका मोदीको तस्वीरसँग सेल्फी लिइरहेको फोटोहरु सामाजिक संजालमा देखिन थालेको बताइएको छ।  

उत्तर प्रदेश सरकारले केही महिनाअघि मात्रै 'इलहावाद'को नाम परिवर्तन गरी 'प्रयागराज' राखेको थियो। यसपटक मेलामा सहभागी हुन करिब १२ करोड मानिस प्रयागराज पुग्ने अनुमान गरिएको छ। १२ वर्षअघि इलहावादमा भएको कुम्भ मेलामा करिब १० करोड तीर्थालु पुगेको बताइएको छ। 

माघ २१ गते गंगा, यमुना लगायत नदीहरुको संगमस्थलमा धेरै तीर्थालुहरु स्नान गर्न आउने भएकाले सो दिनलाई धेरै महत्वपूर्ण मान्ने गरिन्छ। त्यस दिनका लागि सुरक्षा व्यवस्था लगायत तीर्थालुहरुको सहजताका लागि अहिलेदेखि तयारी भइरेको बताइएको छ। 

मेला आयोजना र व्यवस्थापनका लागि करिब २८ अर्ब भारतीय रुपैया खर्च हुने अनुमान गरिएको छ। 

मेलालाई मध्यनजर गर्दै विभिन्न स्थानहरुमा अस्थायी संरचनाहरुको निर्माण गरिएको छ। मेलामा सहभागी हुन आउनेका लागि राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेश पुग्न नयाँ विमानस्थल र सडकहरु बनाइएको बताइएको छ। ३५ लाख तीर्थालुहरु रेल मार्गहुँदै मेलामा सहभागी हुन आउने अनुमान गरिएको छ। त्यसका लागि नयाँ रेल रुटहरु संचालन गरिएको छ।  

मेलामा सहभागी हुन आउने तीर्थालुहरुको खानपिन र स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गरिएको छ। 

यस्तै, मेलाको व्यवस्थापनका लागि हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell