PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अफगानिस्तानको गाउँमा भेटिए 'क्यानडाका प्रधानमन्त्री ट्रुडिउका जुम्ल्याहा'



पहिलोपोस्ट

अफगानिस्तानको गाउँमा भेटिए 'क्यानडाका प्रधानमन्त्री ट्रुडिउका जुम्ल्याहा'

अफगानिस्तानको उत्तरपूर्वी राज्यको ग्रामीण बडाकसहान गाउँका अबदुल सलाम मफतुन विवाह समारोहमा गीत गाउने गर्छन्। उनी त्यही प्रतिभा प्रदर्शन गर्न अफगानिस्तानको गायन रियनलिटी शो 'अफगान स्टार'मा सहभागी हुन पुगे। 

हाल उनै मफतुन अफगानिस्तानमा मात्र नभइ विश्वमै चर्चाको पात्र बनेका छन्। तर, उनको गाउने शैलीले मात्रै होइन। 

रियालिटी कार्यक्रममा एक जना निर्णायकले उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउसँग तुलना गरेको एपिसोड प्रसारण भएपछि मफतुन एकाएक 'भाइरल' भएका हुन्। 

कार्यक्रमका निर्णायक रहेका अफगानिस्तान मूलका क्यानाडियन संगीतकार क्युआस उल्फाटले मफतुनलाई प्रधानमन्त्री ट्रुडिउ जस्तै देखेको बीबीसीलाई बताए। 

'त्यसपछि मफतुन भाइरल भए। सामाजिक संजालमा सबै जना उनको चर्चा गरिरहेका छन्,' उल्फाटले भने। 

विश्वकै कामुक राजनेतामा पर्न सफल ट्रुडिउसँग नाम जोडिएपछि २९ वर्षे मफतुन विश्वस्त भएका छन् - धेरै भोट आउनेमा।

'मानिसहरुले मेरो नाम बिर्सिसके। अहिले उनीहरु मलाई जस्टिन ट्रुडिउ भनेर बोलाउँछन्। ट्रुडिउको फोटो सामाजिक संजालमा देख्नुअघि मलाई उनको बारे केही थाहा थिएन,' उनले एएफपीसँग भने। 

ट्रुडिउसँग तुलना गरिँदा आफू विजयी हुने सम्भावना ५० प्रतिशतले वृद्धि भएको उनी बताउँछन्। भाइरल हुँदै गएसँगै मफतुनले गाउने रोमान्टिक लोक संगीत र उनले लगाएको मौलिक पहिरनलाई धेरैले मनपराएका छन्। 

अफगान स्टारका निर्णयकहरुले मफतुनको शारीरिक समानताका बारे कुरा गरेको भिडियो हजारौं पटक हेरिएको गार्डियनले जनाएको छ। अफगानिस्तानका सामाजिक संजाल प्रयोगकर्ताहरुले मफतुनका धेरै तस्विरहरु सेयर गरिरहेका छन्। कतिपयले त मफतुनसँग सेल्फी लिँदै सामाजिक संजालमा तस्विरहरु राखिरहेका छन्।

 


सामाजिक संजालका प्रयोगकर्ताहरुले मफतुनलाई 'ट्रुडिउको हराएको जुम्ल्याहा' भन्न थालेका छन्।

बिहीवार भएको कार्यक्रममा मफतुन अर्को चरण पुग्ने ८ प्रतिस्पर्धी मध्ये एक हुन्। अर्को चरणमा स्थान सुरक्षित हुन उनलाई भोटको आवश्यक्ता पर्छ। 

चार सन्तानका बुबा मफतुन हालसम्म विवाह समारोहमा गीत गाएर र बाजा बजाएर आफ्नो परिवारको खर्च धान्दै आएका थिए। हाल चर्चामा आएका कारण उनको प्रस्तुतिको डिमान्ड बढ्नेमा मफतुनले विश्वास गरेका छन्। 

मफतुनले प्रधानमन्त्री ट्रुडिउसँग भेट्ने इच्छा व्यक्त गर्दै भने, 'उनी विश्वकै चर्चित व्यक्ति हुन्। त्यसैले उनले चाहे म उनलाई भेट्न चाहन्छु। म अफगानिस्तानको दुर्गम गाउँमा बस्ने गरिब मानिस हुँ।'

यद्यपि, उनको यो इच्छा सजिलै साकार भने नहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

सन् २००५ देखि सुरु भएको रियालिटी कार्यक्रम 'अफ्गान स्टार' अफगानिस्तानको चर्चित कार्यक्रममा पर्छ। यद्यपि, उक्त कार्य्रक्रमलाई विभिन्न लडाकु समूहले इस्लाम विरोधी रहेको भन्दै विरोध गर्दै आएका छन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell