PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पारिश्रमिक विवादमा 'रोज', निर्माता सम्पर्कविहिन, कलाकारले पाएका चेक 'बाउन्स'



पहिलोपोस्ट

पारिश्रमिक विवादमा 'रोज', निर्माता सम्पर्कविहिन, कलाकारले पाएका चेक 'बाउन्स'

काठमाडौं : निर्माणदेखि नै फिल्म 'रोज' विवादमा थियो। सात वर्षअघिको रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर फिल्म बन्ने कुराले फिल्मको टाइटलसमेत परिवर्तन गर्नु पर्‍यो। महर्जन परिवारसँग सम्झौता गरेपछि फिल्मको नाम 'रोजी'बाट 'रोज' बनाइएको थियो।

नीरक पौडेल निर्देशित फिल्म गत २२ भदौबाट प्रदर्शन आयो। तर, फिल्म खासै चलेन। प्रदर्शनको पाँच महिना बितेपछि फिल्मका निर्माता विवादमा तानिएका छ्न्।

कारण , पारिश्रमिक विवाद।

फिल्मका कलाकार र प्राविधिकले पारिश्रमिक नपाएको गुनासो गरेका छन्। फिल्म प्रदर्शनमा आएको ५ महिना बितिसक्दा निर्मातासमेत रहेका निर्देशक पौडेल सम्पर्कविहिन छन्। अहिले कलाकारहरु पारिश्रमिक नपाएर तनावमा छन्।

फिल्मका मुख्य कलाकार प्रदीप खड्काले फिल्मबाट १५ लाख लिइसकेका थिए। तर बाँकी पैसा पाएका छैनन्। उनले भने पहिलोपोस्टलाई भने 'मैले पूरा पारिश्रमिक पाएको छैन। दिन्छु त, भनेका छन्। म मात्र  होइन, सबै जना कुरिहेका छन।  मैले लिन बाँकी १० लाख हो। धेरै जनाको बाँकी छ पैसा लिन। म्यूजिकल्ली कन्टेस्टको विजेतालाई दिने घोषणा गरेको उपहार रकम पनि दिइएको छैन।'

उनका अनुसार अभिनेत्री मिरुना मगर र परमिता राणाले पनि फिल्मबाट पारिश्रमिक पाएका छैनन्।

फिल्मका निर्माता नीरक मात्र होइनन्, मनिकरण केसी पनि हुन्।

नीरक कहिले युरोपतिर रहेको खबर आउँछ। कहिले नेपाल। तर उनी कलाकार र प्राविधिकसँग सम्पर्कबाट टाढा छन्।  

प्रदीपले आफूसँग पारिश्रमिकको सम्झौता पत्र रहेको दावी गरे। उनीसँग बाँकी रकमका चेक पनि छ, तर चेक तीनपटक बाउन्स भएको उनी बताउँछन्।

प्रदीप चाँडै पारिश्रिक पाउने आशामा छन्। उनले भने 'म पैसालाई त्यति महत्व त दिन्न। यदि मैले पैसालाई महत्व दिएको भए, रोजको रिलिज रोक्न सकिन्थ्यो। तर ५ महिना भयो फिल्म रिलिज भएको। अब त दिनुहुन्छ भन्ने आश छ।'

त्यस्तै फिल्मका पार्श्व संगीतकार एलिस कार्कीले पनि पारिश्रमिक पाएका छैनन्। सुन्नमा आए अनुसार फिल्मबाट एलिसले ४ लाख लिन बाँकी छ। अहिले उनी 'समर लभ'मा व्यस्त छन्।

फिल्ममा भिएफएक्सका काम गरेका श्रीकृष्ण श्रेष्ठले पनि फिल्मको पैसा पाएका छैनन्। उनले फिल्मबाट १ लाख लिन बाँकी छ। 'अस्ति युरोप हुँदा अर्को हप्ता दिन्छु भनेको, त्यसपछि धेरै हप्ता त्यसरी नै गयो। प्रोडक्सन म्यानेजरले नीरक युरोप गएको कुरा गर्छन्'  उनले सुनाए।

हुन त श्रेष्ठका लागि पारिश्रिक ढिला दिनु नयाँ होइन। तर यो अब इन्डस्ट्रीको समस्या नै बनेको छ।

'मेरो पैसा लिनुपर्ने फिल्महरु धेरै छन्। कुनै फिल्मको निर्माता विदेशमा छन्। कोही नेपाल छन्। नेपाल भएर पनि फोन उठाउँदैनन्,' उनले आफ्नो समस्या सुनाए 'काम हुन्जेलसम्म दिनमा ५० चोटी फोन गर्छन् तर, काम सकिएपछि नम्बर नै ब्लक गर्दिन्छन्। मेरो त १९ लाख नै उठाउन बाँकी छ।'  

फिल्मका सम्पादक मित्र डि गुरुङ, लेखक केदार भुषालले पनि पारिश्रमिक पाएका छैनन्।

फिल्मकी अभिनेत्री मिरुनाले पनि आफूले अझै पारिश्रमिक नपाएको बताइन्। 'दिने भनेको धेरै नै भइसक्यो। के गर्नु यस्तै भयो। पाइसकेको छैन। उहाँले चाँडै दिने कुरा गर्नुभएको छ। ढिला चाँही भयो' उनले सुनाइन्।

अहिले फिल्मको प्रोडक्सन म्यानेजर बुद्धीलाल मगर अष्ट्रेलियामा छन्। नीरकको फोनमा आगमन कल निषेध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell