PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के हो स्वाइनफ्लु? कसरी फैलन्छ? बच्ने कसरी?



के हो स्वाइनफ्लु? कसरी फैलन्छ? बच्ने कसरी?
फोटो: myjoyonline.com

चिसो बढ्न थालेसँगै स्वाइनफ्लुका लक्षण भएका बिरामीहरु बढ्न थालेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइनफ्लुका लक्षण भएका बिरामी आउने सङख्या बढिरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा दैनिक ३० देखि ४० बिरामी मौसमी फ्लुको लक्षण बोकेर आउने गरेका अस्पतालको निर्देशक शेरबहादुर पुन बताउँछन्। उनका अनुसार स्वाइनफ्लु नै भइसकेका बिरामी भने आएका छैनन्। सामान्य रुघाखोकी र ज्वरो आउँदा ध्यान दिएन भने स्वाइनफ्लु हुने भएकाले सचेत हुन उनको आग्रह छ।

 

गत वर्ष स्याङजाको वालिङमा १,८४३ जनाको स्वास्थ्य जाँच गर्दा ६२८ जनामा रुघाखोकी र सय जनामा जाँच गर्दा ४० जनामा उच्च ज्वरो देखिएको थियो। ठुलो सङ्ख्यामा रुघाखोकीको संक्रमण देखिएकाले स्वाइनफ्लु हुन सक्ने भन्दै सरकारी टोली उद्दारको लागि त्यहाँ पुगेको थियो।

 

औषधि लिएर स्वास्थ्यकर्मीको टोली समयमै पुग्दा पनि स्वाइनफ्लुकै कारण मर्नेहरु दर्जन भन्दा बढी थिए भने सयौँ भन्दा बढीलाई उपचार गरिएको थियो।

त्यसैले सामान्य रुघाखोकी लाग्दा समेत स्वास्थ्यको ख्याल राख्नुपर्ने पुन बताउँछन्।

 

के हो स्वाइन फ्लु?

इन्फलुएन्जा ए (एच१एन१) भाइरस अर्थात् स्वाइन फ्लु रोग साससँग सम्बन्धित एउटा संक्रामक भाइरल रोग हो। सन् २००९ मा यो रोग विश्वव्यापी महामारी बन्यो। यो टाइप ए भाइरसका कारणले हुन्छ। यो भाइरस शरीरमा प्रदूषित हावालाई सासका माध्यमले भित्र जाँदा वा कुनै प्रदूषित सतहलाई छोएर आँखा, नाक वा मुखलाई छोएपछि शरीरभित्र प्रवेश गर्छ। स्वाइन फ्लुको लक्षण सामान्य भाइरलसँग मिल्दोजुल्दो भए पनि यसको तीव्रता धेरै बढी हुन्छ।

 

स्वाइनफ्लु सरुवा रोग हो। यो एक स्थानबाट अर्को स्थानमा चाँडै फैलन सक्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सचेत भएर सरसफाईमा ध्यान दिने र बेलैमा उपचार गरे यसले असर गर्दैन। महामारीको रुपमा फैलन पाउँदैन।

 

घाँटी बिग्रनु, उच्च ज्वरो, अल्छीपना र शक्तिहीनता अनुभव हुनु यसका सामान्य लक्षण हुन्। यसको उपचार लक्षणका आधारमा गरिन्छ। स्वाइन फ्लुका केही केसमा बिरामीलाई वान्ता हुने र पखाला लाग्नेसमेत देखिएको छ। यसको गम्भीर केसमा निमोनिया र शरीरका अंगहरू फेल पनि हुन्छन्।

मौसमी रुघाखोकी र स्वाइन फ्लु

उस्ताउस्तै लक्षण हुने भएकोले मौसमी रुघाखोकी र स्वाइन फ्लुबीचको अन्तर छुट्टयाउन गाह्रो हुने गरेको छ। ज्वरो बढी आयो, सास फेर्न असजिलो भयो भने तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ।

 

को बढी जोगिने?

 

बूढापाका, पाँच वर्षमुनिका बालबालिका र गर्भवतीहरु

मुटु, फोक्सो र मृगौला र दमका रोगीहरू

पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएकाहरू

मधुमेह भएका, रोगप्रतिरोधक क्षमता कमजोर भएकाहरूले विशेष ख्याल राख्नुपर्छ।

 

कसरी जोगिने?

 

सार्वजनिक स्थानबाट घर फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ।

हात नधोएसम्म मुख, नाक वा आँखा छुनुहुन्न किनभने शरीरमा विषाणु प्रवेश गर्ने बाटा नै यिनै हुन्।

खोक्नु वा हाच्छिउँ गर्नुअघि टिस्यु पेपर वा रुमालले मुख छोप्नुपर्छ। त्यसपछि टिस्यु पेपरचाहिँ फयाँक्ने र रुमाललाई तातो पानीमा छोएर सुकाउनुपर्छ। हात पनि राम्ररी धुनुपर्छ।

घरको भुइँ विसंक्रमित पार्नुपर्छ।

रोगीले काममा जानुहुन्न। सामाजिक मेलमिलाप तथा उत्सवबाट टाढै बस्नुपर्छ, अन्य व्यक्तिलाई तपाईंको रोग नसरोस् भनेर।

रोगीसँग घनिष्ट सम्पर्कमा बस्नुहुन्न।

 

कसरी फैलिन्छ?

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्य रुघाखोकीको विषाणुजस्तै स्वाइन फ्लुको विषाणु फैलिन्छ। जसरी मौसमी रुघाखोकी हाच्छिउँ वा रोगीले छुँदा, आम्नेसाम्ने कुरा गर्ने व्यक्तिमा फैलिन्छ, त्यसैगरी एच१एन१ समेत फैलिने गरेको छ।

 

यो रोग पकाएको सुँगुरको मासु खानाले वा सुँगुरनजिक रहनाले हुँदैन। यदि फ्लु विषाणु भएको कुनै वस्तुलाई कुनै व्यक्तिले छोएर आफ्नो नाक वा मुखलाई छोयो भने रोग सर्न सक्छ।

जब कुनै रोगी खोक्छ वा हाच्छिउँ गर्छ, त्यति बेला धेरै ससाना पानीको नदेखिने कण (ड्रप्लेट) वातावरणमा फैलिन्छ। रोग प्रभावित व्यक्तिले कुराकानी गर्दासमेत मुखबाट निस्किने ससाना नदेखिने पानीका कणमा विषाणु हुन सक्छन्।

 

उपचार के  त ?

‘टमिफ्लु’ नामक भ्याक्सिन लगाएमा एचवानएनवान नामक भाइरसले शरीरमा संक्रमण गर्दैन। यो १ वर्षसम्मको लागि हुन्छ।यो रेलेसा नामक विषाणुरोधी औषधि हो। यी दुइटै औषधिले विषाणुको प्रोटिन न्युरामिनिडेजलाई दमन गर्छन्। यी औषधि सबैथरीका इन्फलुएन्जा ए भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएका छन्। ईन्फलुएन्जाको विषाणुरोधी औषधि यो रोगको रोकथामका लागि ती व्यक्तिहरूलाई दिन सकिन्छ, जो अहिले रोगी नभए पनि एच१एन१ बाट ग्रस्त व्यक्तिको सम्पर्कमा पुगिसकेका छन्। वा, कुनै यस्ता रोगीको सम्पर्कमा छन्।

 

 

लक्षण के?

सामान्य रुघाखोकीमा झैँ नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु।

तीव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघट्नु,

पखाला लाग्नु, वान्ता हुनु।

घाँटी खसखसाउनु, यस्तो क्रम बढ्दै जानु।

टाउको फुट्लाजस्तो हुनु, मांसपेसी दुख्नु, अत्यधिक थकाइ लाग्नु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell