PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘गरिब’ प्रदेशका मन्त्रीले भ्रमणमै पारे साढे ७ लाख स्वाहा, तोकिएभन्दा बढी बुझे भैपरी खर्च 



पी बी खड्का

‘गरिब’ प्रदेशका मन्त्रीले भ्रमणमै पारे साढे ७ लाख स्वाहा, तोकिएभन्दा बढी बुझे भैपरी खर्च 

सुर्खेत:  कर्णाली प्रदेशका मन्त्रीहरूले भ्रमण खर्चमा साढे सात लाख भन्दा बढी स्वाहा पारेका छन्। ५२ प्रतिशत गरिबी रहेको कर्णालीका मन्त्रीहरू समृद्धिको कथा गाउँदै ठुलो रकम भ्रमण खर्चमै सकाएका हुन्। विभिन्न औपचारिक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रममा जति सक्यो खर्च कम गर्ने भन्दै भाषण गर्ने मन्त्रीहरूले लाखौँ रकम भ्रमण खर्च बापत बुझ्दै आएका छन्। 


चालु आर्थिक वर्षको ६ महिनामा साढे सात लाख भन्दा बढी भ्रमण खर्च बुझेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरू भ्रमण खर्च बापत ७ लाख ५७ हजार एक सय ४५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिना मसान्तसम्मको भ्रमण खर्च बुझेका हुन्। 


यी हुन् बढी रकम बुझ्ने मन्त्री


सबैभन्दा बढी प्रदेश हाँक्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै  बुझेका छन्। उनले यो ६ महिनाको अवधिमा २ लाख २७ हजार एक सय २५ रुपैयाँ बुझेका छन्। 


यसअघि भ्रमण खर्चमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मुख्यमन्त्री शाहीलाई उछिनेकी थिइन्। यस आर्थिक वर्षमा भने उनले कन्ट्रोल गर्दै पछि परेकी छिन्। चालु आर्थिक वर्षमा पछि परेकी मन्त्री केसीलाई पछि पार्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बढी बुझेका छन्। मन्त्री ज्वालाले एक लाख ६२ हजार ६ सय ६५ रुपैयाँ बुझेका छन्। 


त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पनि एक लाख भन्दा बढी रकम बुझेका छन्। उनले एक लाख १५ हजार २ सय दश रुपैयाँ बुझेका छन्। यता, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले एक लाख ७ हजार २ सय २५ रुपैयाँ बुझेकी छन्। 

कम बुझ्ने मन्त्री


अन्य मन्त्रीको तुलनामा आधा भन्दा थोरै तीन मन्त्रीले बुझेका छन्। सबै भन्दा कम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ४४ हजार तिन सय रुपैयाँ भ्रमण खर्च बुझेका छन्। त्यस्तै, सामाजिक विकास मन्त्री दल रावलले ५० हजार ८० रुपैयाँ बुझेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ५० हजार ५ सय ४० रुपैयाँ बुझेका छन्। 

भ्रमण खर्च बढाइयो  


भ्रमण खर्चसमेत प्रदेश सरकारले बढाएको छ। गत मङ्सिर महिना अघि दैनिक २ हजार ५ सय बुझेका मुख्यमन्त्रीले त्यस यता ३ तिन हजारका दरले बुझ्ने भएका छन्। त्यस्तै अन्य मन्त्रीहरूको समेत दैनिक भ्रमण खर्च बढाइएको छ। मङ्सिर अघि मन्त्रीहरूले २ हजार बुझे पनि अव भने २ हजार ५ सय बुझ्ने भएका छन्। 

तोकिए भन्दा बढी बुझे भैपरी खर्च


त्यस्तै, मन्त्रीहरूले सीमा भन्दा बढीको भैपरी खर्च बुझेका छन्। पाँच महिनाको अवधिमा सबै भन्दा बढी भैपरी खर्च मुख्यमन्त्री शाहीले नै बुझेको पाइएको छ। मुख्यमन्त्री शाहीले ७५ हजार रुपैयाँ बुझेका छन्। तर, मुख्यमन्त्रीलाई १५ हजार मात्रै तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अन्य मन्त्रीहरूले समेत तोकिएको रकम भन्दा बढी बुझेका छन्। मन्त्रीहरूका लागि १० हजार तोकिए पनि उनीहरूले ५०/५० हजार रुपैयाँ बुझेका छन्। कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारले ऐनमा तोकिए बमोजिम एक मुस्ट दिने गरिएको बताए। ‘मुख्यमन्त्रीलाई १५ हजार तोकिएको छ भने अन्य मन्त्रीहरूलाई १० हजार तोकिएको छ।’ उनले भने, ‘ऐनमा तोकिए बमोजिम नै हामीले एकमुष्ट दिने गरेका छौँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell