PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पहिलो पटक विदेशी 'पिच'मा भिड्दै महिला नेत्रहीन टोली, 'ब्लाइन्डहरुले पनि गर्न सक्छन् भन्ने उदाहरण दिन्छौँ'



गोविन्दराज नेपाल

पहिलो पटक विदेशी 'पिच'मा भिड्दै महिला नेत्रहीन टोली, 'ब्लाइन्डहरुले पनि गर्न सक्छन् भन्ने उदाहरण दिन्छौँ'

काठमाडौँ : 'ब्याट्स वुमन रेडी..रेडी' 

यही कुरा तीन पटक बलरले सोधेपछि 'ब्याट्स वुमन'ले भन्छन्, 'रेडी।'

अनि फालिन्छ बल। बलरले बल फालेपछि 'रेडी' भएर बसेका ब्याट्स वुमन पिचमा ब्याटलाई घुमाउँदै हान्छन् र लिन्छन् रन।

यसैगरी बलर बलिङ गर्नुअघि विकेट किपर र फिल्डरलाई पनि तयारी अवस्थामा रहन 'रेडी हो?' सोध्छन्।

नेत्रहीन महिलाहरु यसरी नै अभ्यासमा जुटेका छन् अहिले। जनवरी अन्तिममा पाकिस्तानमा हुने द्वीदेशीय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टोली यसरी नै तयारीमा जुटिरहेका छन्।
 

सिर्जनशील प्रयास

नेपालमा नेत्रहीन क्रिकेट क्रिकेटको इतिहास बलियो छ। विश्वमै पहिलो नेत्रहीन महिला क्रिकेट बनाउने देश नेपाल नै हो। नेपालले नै पहिलो पटक विदेशी टिमलाई घरेलु मैदानमा बोलाएर नेत्रहीन महिला क्रिकेट सिरिज खेलेको थियो। र, अहिले त्यही नेपाली महिला नेत्रहीन क्रिकेट टोली पहिलो पटक सिरिज खेल्न विदेश जाँदैछ।

यसका लागि नेत्रहीन महिला क्रिकेटरहरु उत्साहित छन्। पुस २३ गतेदेखि भक्तपुरको सैनिक आवासीय विद्यालयमा प्रशिक्षण सुरु गरेका उनीहरुले आइतवारसम्म लगातार प्रशिक्षण लिए। सोमवार एक दिनको आरामपछि उनीहरु मंगलावारदेखि माघ ९ गतेसम्म पुन: प्रशिक्षणमा व्यस्त रहनेछन्। नेपाली टोली सिरिज खेल्न माघ १२ गते पाकिस्तान जाँदैछ।

नेपालले पहिलेदेखि नै नेत्रहीन महिला क्रिकेट खेल्न थालेकाले पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको निमन्त्रणामा नेपाली टोली पाँच खेलको सिरिजका लागि पाकिस्तान जान लागेको हो। नेपालले पाकिस्तानको तीन शहर लाहोर, इस्लामावाद र फैसलावादमा खेल्नेछ।

उत्साहित खेलाडी

एक दशकअघिदेखि नेत्रहीन क्रिकेट खेल्न सुरु गरेका भगवती अमगाईँ पहिलो पटक विदेशमा सिरिज खेल्न पाउने भएपछि दङ्ग छिन्।

'एकदम धेरै खुशी लागेको छ। चार वर्षअघि हामीले नेपालमै युकेसँग तीन खेलको सिरिज खेलेका थियौँ। तीनवटै खेल जितेका थियौँ। अहिले फेरि पाकिस्तान जान लागेका छौँ। सबै खेलाडीले मेहेनत गरेका छन्। हामी जित्छौँ भन्ने लागेको छ,' उनी दृढ सुनिइन्।

यसअघि गत वर्ष नेत्रहीन पुरुष क्रिकेटको विश्वकप हेर्न पाकिस्तान पुगेकी भगवती खेल्न भने पहिलो पटक विदेश जान लागेकी हुन्। 'पाकिस्तानको टिम बनेको पनि ६ महिना जति भयो। हामीले धेरै पहिलेदेखि खेल्दै आएका छौँ। त्यसैले राम्रो खेल्नेछौँ,' उनले भनिन्।

यस्तै अर्का खेलाडी भगवती भट्टराई आँखा नदेख्ने हुँदा पनि देशका लागि क्रिकेट खेल्न पाउँदा निकै प्रफुल्ल छिन्।

'ब्लाइन्डहरुले केही गर्न सक्दैन। केही हुँदैन भन्ने मानसिकता छ। हामी त्यसलाई क्रिकेटबाटै केही गर्न सक्छौँ भन्ने गतिलो उदाहरण दिदैँ छौँ,' उनले भनिन्। भट्टराईले चार वर्षअघि युकेविरुद्धको सिरिज पनि खेलेकी थिइन्।

यस्तै पहिलो पटक विदेशी टिमसँग विदेशमै खेल्न जाने खबरले सरिता घिमिरे दंग छिन्।

'हामी पहिलो पटक बाहिर खेल्न जाँदैछौँ। एकदमै खुशी लागेको छ,' कक्षा १२ मा अध्ययनरत् सरिताले भनिन्, 'हामीले ब्लाइन्ड भएर पनि बाहिर गएर खेल्न सक्छौँ भन्ने देखाएका छौँ।'

विश्वमै नेत्रहीन महिला क्रिकेट टिम बनाउने देशको रुपमा रहेको नेपालले पहिलो पटक बाहिर गएर खेलेपछि अन्य टिमहरुले पनि महिला टिम बनाउने र अझ धेरै गेमहरु खेल्न पाउनेमा खेलाडीहरुको विश्वास छ।

'महिला नेत्रहीन क्रिकेट खेलाडीहरु खेल बाहेकको समयमा पनि आफ्नै कामा व्यस्त छौं। कोही पढ्छौँ। कोही जागिरे गर्छौं,' सरिताले भनिन्।

त्यसबाहेक अतिरिक्त समयमा खेल भयो भने उनीहरु खेलिरहेका हुन्छन्।

'यहाँ टिममा नपरेकाहरु अन्य खेलाडी पनि छन् र उनीहरु सँगै पनि बसै मिलेर खेल्छौँ,' उनले भनिन्।

राष्ट्रिय खेलाडी नै भए पनि देख्ने र नेदेख्ने खेलाडीबीचमा माथिल्लो निकायबाट पनि बराबर सहयोग नभएको भगतवी अमगाईँको गुनासो छ।

'सबै राष्ट्रिय खेलाडी एकै हुन्। तर, हाम्रो खेलका लागि राज्यको लगानी पनि कम छ। ५ लाख माग्यो भने २ लाख मात्र पाउँछौँ,'  उनले भनिन्, 'राज्यले अरु सरह नै हामीलाई सहयोग गर्नुपर्छ। हामीलाई पनि फोकस गरेर सहयोग गर्न हो भने हामी पनि राम्रो गर्न सक्छौँ। हामीलाई त्यस्तो हुने हो भने हामी पनि देशको नाम राख्न सक्छौँ।' 

अहिले नेपालको क्रिकेटले प्रगति गरिरहेको छ र विश्वमा क्रिकेटबाटै चिनिन थालेको छ। युवा स्टार सन्दीप लामिछानेले विश्वका विभिन्न लिग खेलेर उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम राखिरहेका छन्। तर, दृष्टिविहीनहरुको सन्दर्भमा भने राज्य उदार देखिएको छैन।

'अरुले राम्रो गर्दा एकदमै एक्स्साइटेड हुन्छौँ,' सरीताले भनिन्, 'हामी पनि नेपालको खेलाडी हौं र आफ्नो देशको खेलाडीले राम्रो गर्दा गौरव लाग्छ।'

तर, भगवती अमगाईँ भने त्यतिमात्रले सन्तुष्ट हुन सक्दिनन्।

'हामी दु:खी पनि छौँ उनीहरु जस्तो हामीलाई सहयोग छैन,' उनले भनिन्, 'यदि राज्य र सरकारले उनीहरु समान व्यवहार गरे, सहयोग गरे हामी पनि अन्य खेलाडीसरह पुग्न सक्छौँ। हामीसँग पैसा हुने र खेल्न पाउने हो भने हामीले विदेशमा गएर खेल्न सक्छौँ। यहाँ पनि विदेशीहरु बोलाएर खेल्न सक्छौँ,' 

पाकिस्तान भ्रमणले लागि राखेपले दिने भनेको डेढ लाख बाहेक अहिलेसम्म अन्य निकायबाट कुनै सहयोग नआएको नेत्रहीन क्रिकेट संघले जनाएको छ। क्याम्पको लागि स्वीस एम्बेसीले सहयोग गरिरहेको र खेलाडीहरुको लागि किट्स साहास स्पोर्ट्सले प्रदान गर्ने जनाएको छ।

अहिले खेलाडीहरु पाकिस्तान भ्रमणको लागि तयारी गरिरहेका छन्। पहिलो चरणमा ३० खेलाडीलाई बोलाएर सेलेक्सन गरेपछि १४ खेलाडी क्लोज क्याम्पमासँगै अभ्यास गरिरहेका छन्। उनीहरुलाई रिजलन प्रजुले प्रशिक्षण दिइरहेका छन्। यसअघि दुई पटक नेत्रहीन पुरुष टिमको प्रशिक्षक बनेर विदेश गइसकेका प्रजुले पहिलो पटक महिला टिमले लिएर विदेश जाँदैछन्। यसले उनी पनि उत्साहित छन्।

तर, पुरुष र महिलाको फिटनेस उस्तै नहुने र नेपालमा विदेशको जस्तो सुविधाहरु पनि नभएको उनको भनाई छ।

'पुरुष र महिला टिम उस्तै हुन्। तर, नेत्रहीन भएकै कारणले महिलाहरुलाई शारीरिक रुपमा अली कमजोर हुन्छन्। सुरुमा फिजिकल फिटनेसमा हामीले ध्यान दियौँ। अहिले ब्याटिङ र बलिङमा पनि ट्रेनिङ गराइराछौँ,' उनले भने।

विश्वमै नेत्रहीन महिला क्रिकेट बनाउने नेपाल पहिलो भए पनि अहिले धेरै परिवर्तन भइसकेको उनको बुझाई छ। 'हाम्रो महिला टोली क्रिकेट मात्र खेलिरहेको थियो। टेक्निकल कुरा धेरै थाहा थिएन। अब त्यसमा हामीले वर्कआउट गरिरहेका छौँ। अहिले नयाँ आएका खेलाडीले राम्रो गरिरहेका छन्,' उनी पनि आत्मविश्वासी सुनिए।

अब बाँकी क्याम्पमा फिल्डिङ र बलिङमा बढी ध्यान दिने प्रजुले बताए।

प्रशिक्षक प्रजुले पाकिस्तानले भर्खरै नेत्रहीन महिला टिम बनाएपनि क्रिकेट कल्चर भएको देश भएका कारण कमजोर आँक्न नमिल्ने बताए।

'पाकिस्तान, भारत भनेको क्रिकेटमा ठूलो राष्ट्र हो। क्रिकेट भनेको उनीहरुको ब्लडमै हुन्छ। क्रिकेट कल्चर छ। नेत्रहीन क्रिकेटहरहरुले पनि क्रिकेट बुझेर खेलिरहेका छन्। तर हाम्रो केटीहरुले अहिले जसरी खेलिरहेको छ। क्रिकेट खेल्छ तर क्रिकेट बुझिरहेको छैन,' उनले यथार्थ स्वीकारे।

पाकिस्तानले पहिलो पटक टिम बनाए पनि उनीहरुलाई सुविधा धेरै छ। 'केटाहरुको पनि राम्रो थियो। नेपालको पनि राष्ट्रिय टिम र यो टिममा धेरै फरक छ,' उनले भने, 'डाइटदेखि लिएर सबै कुरामा धेरै फरक छ। पाकिस्तान यो कुरामा हामी भन्दा धेरै माथि छ। म पनि दुई पटक बाहिर गएर आइसकेँ। उनीहरुको फिजियो, ट्रेनर, एनालिसिस्ट सबै छुट्टै हुन्छ। यहाँ अब एकैजनाले सबै हेर्नुपर्छ। सबै प्लेअरलाई एक्लै हेर्नुपर्छ। बाहिरतिर नेत्रहीनमा पनि ब्याटिङ, बलिङ कोच फरक हुन्छ।'

 

कसरी खेलिन्छ नेत्रहीन क्रिकेट?

नेत्रहीन क्रिकेट खेल्न टिममा तीन क्याटेगोरीका खेलाडी हुन्छन। जसमध्ये प्लेइङ-११ मा बी वानबाट ४, बी टु बाट ३ र बी थ्री बाट ४ खेलाडी हुनेछन्। त्यसबाहेक प्रत्येक क्याटेगोरीका एक-एक एक्स्ट्रा खेलाडी हुनेछन्।

यसमध्ये पहिलो क्याटेगोरीका खेलाडी पुरै नदेख्ने हुन्छ। बी टु क्याटेगोरीका खेलाडीले ५ मिटरसम्म देख्छन् भने बी थ्री क्याटेगोरीका खेलाडीले ५ देखि १० मिटरसम्म देख्छन्।

बी वान क्याटेगोरीका खेलाडीले ब्याटिङ गर्दा अन्य दुई क्याटेगोरीबाट एक खेलाडी रन लिन  रनरका रुपमा प्रयोग गर्न पाउनेछन्।

यस्तै बी वान क्याटेगोरीका खेलाडीले एक रन प्रहार गर्दा बोनस स्वरुप एक रन थप पाउनेछन् र दुई रन हुनेछ। यसैगरी चौका हान्दा ८ रन र छक्का हान्दा १२ रन पाउनेछ।

बी टु र बी थ्री क्याटेगोरीका खेलाडीले भने रन लिन आफै रनिङ गर्छन्।

 

यसरी गरिन्छ बलिङ?

यस्तै बलिङ गर्दा बलिङ गर्ने खेलाडीले विपक्षी टिमको ब्याट्सवुमन र विकेटकिपरलाई सोधेर मात्र बलिङ गर्नुपर्छ। बलिङ गर्दा विपक्षी ब्याट्सम्यानलाई तीन पटक रेडी भनेर सोध्नुपर्छ र ओके भनेपछि मात्र बल फाल्नुपर्छ। यस्तै विकेटकिपरलाई पनि रेडी भनेर सोधर बल फाल्नुपर्छ।

बलरले बलिङ गर्दा स्टम्पछेउको लाइन कटाएर पहिलो बाउन्स गर्नुपर्छ। त्यसभन्दा अगाडी बल बाउन्स भएमा नो बल हुनेछ। यस्तै पिचको बीच भागमा एउटा लाइन कोरिएको हुन्छ। त्यो लाइनभन्दा पर बाउन्स भएमा पनि नोल बल हुन्छ। यस्तै लाइन भन्दा वर नै बल बाउन्स भएर सिधै ब्याट्सवुमनसम्म पुगेमा पनि नो बल हुनेछ।

२० ओभरको खेलमा एक टिमबाट बी वान क्याटेगोरीका खेलाडीले कम्तीमा पनि ८ ओभर बलिङ गर्नुपर्छ। दुई इनिङ्स गरेर कूल ४० ओभर मध्ये १६ ओभर बी वान क्याटेगोरीका खेलाडीले गर्नेछन्।

 

कस्तो हुन्छ बल?

साधारणतया क्रिकेट खेल्ने बल रबरको हुन्छ र कडा खालको हुन्छ। तर नेत्रहीनहरुले खेल्ने बल भने त्यो भन्दा फरक हुन्छ। उनीहरुले बल राम्रोसँग नदेख्ने हुँदा यस किसिमको बल भित्र बज्ने वस्तु राखिएको हुन्छ।

कडा खालको प्लास्टिकभित्र साइकल चेनको टुक्राहरु राखेर नेत्रहीनले खेल्ने बल बनाइन्छ।

यो बल भारत र पाकिस्तानमा मात्र बन्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell