PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हुन्डी कारोबारमा सहकारीकै संलग्नता, विराटनगरमा तीन जना समातिए



पहिलोपोस्ट

हुन्डी कारोबारमा सहकारीकै संलग्नता, विराटनगरमा तीन जना समातिए

काठमाडौँ: सहकारी संस्था स्थापना गरी हुन्डीको कारोबार हुने गरेको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले कारोबार गर्ने तीन जनालाई पक्राउ समेत गरेको छ।

प्रहरीले आइतबार दिउँसो विराटनगर महानगरपालिका ७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई नियन्त्रणमा लिएको डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

विराटनगर महानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय राजेश हेडासहित तीन जना पक्राउ परेका हुन्। हेडा सहकारीका अध्यक्ष हुन्। यस्तै पक्राउ पर्नेमा महानगरकै वडा नम्बर १२ का संस्थाका व्यवस्थापक दीपक कुमार कर्ण र सोही वडाका सुमित साह रहेका छन्। साह सहकारीका म्यानेजर रहेको डिएसपी श्रेष्ठले बताए।

श्रेष्ठले भने, 'सहकारीको आवरणमा हुन्डी कारोबार भएको पाइएको छ। सहकारीमा आर्थिक कारोबार हुने सहकारीमा कसैले पनि सहजै शंका नगर्ने भएकाले उनीहरू यसरी कारोबार गर्ने गरेको देखियो।‘

अध्यक्ष हेडाको कार्यकक्षबाट ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकम पनि प्रहरीले बरामद गरेको छ। अध्यक्ष हेडाले विगत दुई वर्षदेखि हुन्डी कारोबार गरेको डिएसपी श्रेष्ठले बताए। हेडाले सहकारीमा तीन वर्षदेखि अध्यक्षको कार्यकाल सम्हाल्दै आएका छन्। 

उनीहरूले भारत, दुबई, चीन लगायतका देशहरूमा हुन्डीको कारोबार गर्ने गरेको खुलेको छ।

 

कसरी हुन्छ हुन्डीको कारोबार

नेपालबाट भारत, चीन, अस्ट्रेलिया, दुबईलगायत देशहरूमा हुण्डीको कारोबार हुने गरेको छ।

उनीहरूले १ लाख रुपैयाँको हुन्डी गरेबापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुन्डी कारोबारीहरूको दुबै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्।

उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्। उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell