PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रिसमस मनाउन इटाली गएको मेलम्चीको ठेकेदार अझै फर्किएन, विकल्प खोज्दै आयोजना



पहिलोपोस्ट

क्रिसमस मनाउन इटाली गएको मेलम्चीको ठेकेदार अझै फर्किएन, विकल्प खोज्दै आयोजना

काठमाडौँः मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्ना फर्कन्छ कि फर्कँदैन भन्ने अन्योल नै छ।

क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै इटाली गएको भए पनि अहिलेसम्म फर्किने/नफर्किने जानकारी नेपाली अधिकारीहरूलाई छैन। परामर्शदाता कम्पनीको सम्पर्कमा समेत आएको छैन।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अहिलेसम्मको अवस्थाले नफर्कने देखिएकाले विकल्पको तयारी थालिएको बताए। उनले आयोजनाको बाँकी काम र त्यसको लागत कति लाग्छ भनेर मूल्याङ्कन पार्न लागिएको जानकारी दिए। सिएमसी नफर्किए अरू कम्पनीबाट काम गर्ने गरी विकल्पसहितको योजना बनाउन लागिएको छ।

खानेपानी मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदीले केही दिनभित्रै मेलम्ची कसरी अघि बढ्छ भन्ने यकिन हुने जानकारी दिए। उनले मेलम्ची खानेपानी आयोजनालाई रोकेर राख्न नहुने भन्दै मन्त्रालयले केही दिनभित्रै निर्णय गर्ने बताए।

मन्त्रालयका अनुसार ठेकेदार फर्किनका लागि दिइएको डेटलाइन सकिए पनि अझै केही दिन पर्खिन लागिएको हो। दुई/तीन दिन भित्रमा नफर्किए बैंकमा धरौटी राखिएको रकम जफत गरेर बाँकी काम गर्ने सरकारको तयारी छ।

आयोजनाका अनुसार परामर्शदाता स्पेनको इप्टिसा कम्पनीले समेत सिएमसीसँग ठेक्का तोडेर बाँकी काम नयाँ कम्पनीबाट गराउन सुझाएको छ।

सिएमसीले मेलम्ची खानेपानी विकास समितिलाई एकलौटी रूपमा ठेक्का रद्द गरेको पत्र थमाउँदै बैंक ग्यारेन्टी राखिएको पैसा निकालेर इटाली भाग्न खोजेको थियो। पैसा लैजान पाउँ भन्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो। सरकारले भाग्न खोजेको कर्मचारीलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

अदालतले बैंक ग्यारेन्टी बापतको पैसा रोक्न आदेश गरेपछि सिएमसीका प्रतिनिधिहरू क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै बाहिरिएका थिए। सरकारले भेरिएसनको पैसा समेत तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका थिए।

भूकम्प, नाकाबन्दी तथा आन्तरिक राजनीति जस्ता कारण देखाउँदै १ अर्ब ५७ करोड रुपैयाँ भेरिएसन हालेको थियो। बोर्डले ३५ करोड दिन निर्देशन दिएको थियो। काममा फर्किए उक्त रकम तत्काल उपलब्ध गराउने आयोजनाले जनाएको छ।

 

बाँकी काम

आयोजनाले ९० प्रतिशतभन्दा बढी काम सकेको दाबी गरेको भए पनि करिब ८३ प्रतिशतको हाराहारीमा काम सकिएको आयोजनाका इन्जिनियरहरू बताउँछन्।

खानेपानी समिति र मन्त्रालयका हाकिमहरूले अधिकांश काम सकेको भनेर दाबी गरिरहे पनि अझै महत्त्वपूर्ण प्राविधिक कामहरू बाँकी रहेका छन्। उनीहरूले निरन्तर काम गरे वर्ष दिन लाग्ने अनुमान गरिएको छ।

सुरुङमार्गको सबैभन्दा माथिल्लो भागमा सहायक र मुख्य गरी दुई वटा हेडवर्क्स निर्माण गर्नुपर्ने छ। मुख्य हेडवर्क्सको आधा काम सकिएको भए पनि सहायक हेडवर्क्स निर्माण थालिएकै छैन। कुनै समस्या नआए ४/५ महिना लाग्ने सिडिई पन्तको भनाई छ।

तीन वटा भेन्टिलेसन साफ्ट राख्नुपर्ने भए पनि बल्ल एउटाको प्रारम्भिक काम सुरु गरिएको छ। सुरुङमार्ग समथर छैन। खोलामा जस्तै गरी अग्लो होचो गरेर पानी बग्छ। यस्तो टनेलमा सुरुङमार्गमा जम्मा भएको हावालाई बाहिर पास गराउनुपर्छ। त्यसका लागि तीन वटा भेन्टिलेसन साफ्ट निर्माण गर्न लागिएको हो। सुरुङमार्गको ५ सय मिटर जति भाग फिनिसिङ गर्न बाँकी नै छ भने ९ सय मिटर इन्भर्ट लाइनिङ गर्न बाँकी छ।

पानीको निरीक्षण गर्नका लागि स्कार्डा सिस्टम जडान गर्नुपर्नेछ। जसले एउटा कोठामै बसेर सुरुङभित्रको पानीको अवस्थालाई निरीक्षण गर्न सकिन्छ। पानी ल्याउनका लागि गर्नुपर्ने अरू धेरै प्राविधिक कामहरू बाँकी छन्।

मेलम्ची खानेपानी आयोजना अघि बढाउनका लागि सरकारसँग दुई विकल्प रहेको जानकारहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell