PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी



पहिलोपोस्ट

पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी

काठमाडौँ पाइपलाइनमार्फत नेपाल भित्रिने पेट्रोलियम पदार्थको भन्सार जाँचपास र मिटर जडान गर्ने विषय टुङग्याउन नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ।

आगामी बुधबारको लागि तय गरिएको बैठकमा नेपाल आयल निगम, भारतीय आयल निगम र नेपाल–भारत भन्सार प्रतिनिधि सहभागी हुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

बैठकले पेट्रोलियम पदार्थ आउने पाइपमा मिटर कहाँ–कहाँ जडान गर्ने र भन्सार नियमन कसरी गर्ने भन्ने विषय टुङ्ग्याउने गोइतले बताए। भारतीय पक्षले रक्सौलमा र नेपाली पक्षले अमलेखगञ्जमा मिटर राख्ने तयारी गरेका छन्।

बिगतमा ट्याङ्कर नम्बर हेर्दै फाइल पल्टाउँदै भन्सार जाँचपास गर्नुपर्थ्यो। पाइपबाट तेल आउँदा एउटै कागजबाट २५० वटा ट्याङ्कर बराबर तेलको भन्सार जाँचपास हुने निगमको दाबी छ।

तीब्र गतिमा निर्माण भइरहेको पाइपलाइनको काम अन्तिम चरणमा छ। पहिलो चरणमा ७२ किलोमिटर पाइपलाइनको निर्माण भइरहेको छ। भारततर्फको पाइप बिच्छ्याउने काम वीरगञ्ज भन्सारस्थित सिमानामा पुगिसकेको छ। नेपालतर्फ पनि पर्सा बन्यजन्तु आरक्षमा रुख कटानको काम भइरहेको छ। आरक्षमा पर्ने ८ किलोमिटर क्षेत्रमा पाइपलाइन निर्माणको काम भइरहेको छ। आगामी चैतभित्र पाइपलाइनबाट अमलेखगञ्जमा तेल ल्याउने योजना छ।

पाइपलाइन आयोजना सम्पन्न भएपछि नेपालले ढुवानीमा गर्दै आएको ठूलो खर्चको कटौती हुनेछ। अहिले वार्षिक करिब एक अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ ढुवानीमा खर्च भइरहेको छ। यो खर्च कटाएसँगै पेट्रोलियम पदार्थको मूल्य पनि समायोजन हुने निगमको दाबी छ।

दैनिक २५० ट्याङ्कर तेल अमलेखगञ्ज आउने र नेपाली ट्याङ्करले नेपालभित्रैबाट तेल बोकेर अन्यत्र लैजानेछन्। भारतीय भूमिमा ट्याङ्कर चालकलाई अनावश्यक दुख दिने र कुटपिट गर्ने तथा अनाहकमा जेल सजाय पनि दिएका थिए। ढुवानी भाडा जोगिनुका साथै मानवीय समस्याको पनि अन्त्य हुने निगमको भनाई छ।

अमलेखगञ्ज रक्सौला पाइपलाइनको निर्माण सम्पन्न भएपछि झापा सिलिगुढी पाइपलाइनको काम पनि अघि बढाउने आयल निगमको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell