PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकासँगको व्यापार विवाद २०१९ भित्र समाधान हुन्छ : चीन, विश्वमा आज



अमेरिकासँगको व्यापार विवाद २०१९ भित्र समाधान हुन्छ : चीन, विश्वमा आज

व्यापार विवाद

अमेरिकासँगको व्यापार विवाद सन् २०१९ भित्र समाधान हुने चीनका बाणिज्य मन्त्रीले बताएका छन्। अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएका हुन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको उनको भनाई थियो।

पेरिस विस्फोट

पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटपछि भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। शनिबार भएको उक्त घटनामा भत्केको भवनको भग्नावशेष हटाउने क्रममा थप एक जनाको मृत शरीर भेटिएको हो। घटनामा एक स्पेनी नागरिकसहित दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार नै निधन भएको थियो। घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए।

हुवावेको कदम

चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको जनाएको छ। बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले जनाएको छ।

हिउँमा स्केटिङ गर्दा..

अष्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ। अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन्। शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भएको बताइएको छ। अत्यधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ।

फोटो : BBC/AP/AFP/ABS/REUTERS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell