PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसपीलाई लात्ता हानेर प्रहरीमै आतंक मच्चाएका ‘मोस्ट वान्टेड’ साहनी मुठभेडमा मारिए



सविन ढकाल

एसपीलाई लात्ता हानेर प्रहरीमै आतंक मच्चाएका ‘मोस्ट वान्टेड’ साहनी मुठभेडमा मारिए

काठमाडौँ : गएराति करिब १२ बजेतिर रुपन्देहीमा प्रहरीसितको मुठभेडमा मारिएका व्यक्ति सिद्धार्थनगर नगरपालिका - ६ गल्लामण्डीका केदार साहनी भएको पुष्टि भएको छ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका साहनीको सिद्धार्थनगर नगरपालिका १० देशार पोल्ट्री फार्म अगाडिको चोक नजिकै प्रहरीसँगको जम्काभेट हुँदा गोली लागेर मृत्यु भएको हो।

‘ड्युटीमा रहेका प्रहरीसँग जम्काभेट भयो। उनीहरूले फायर खोलेपछि प्रहरीले जवाफी फायर खोलेको हो। प्रहरीको गोली लागि साहनीको मृत्यु भएको हो,' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले भने।

प्रहरीले घटनास्थलबाट युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको छ। मोटरसाइकलको पछाडि बसेका युवकले गोली चलाएका थिए। एक युवक भने फरार छन्। बाक्लो हुस्सु लागेका बेला एक्कासी  जम्काभेट हुँदा गोली चलेको थियो।

को हुन् साहनी?

साहनी दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजाना तथा कर्तव्य ज्यान, शरीर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका व्यक्ति भएको एसपी थापाले जानकारी दिए। 

साहनी तत्कालीन नेकपा माओवादीका कार्यकर्ता समेत थिए। पार्टीको नाममा चन्दा लिएको, पार्टीको नीति विपरीत काम गरेको देखिएपछि उनलाई पार्टीबाट निस्कासन गरिएको थियो।

त्यसपछि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ।  २०६५ सालमा साहनी हातहतियार खरखजना मुद्दामा जेल परेका थिए। जेलभित्रबाट नै उनी सुरुङ खनेर भागेका थिए। 

तर उनलाई पर्सा प्रहरीले तत्काल पक्राउ गर्ने सफल भएको थियो। पर्सा प्रहरी प्रमुखमा त्यतिखेर एसपी राजेन्द्रमान श्रेष्ठ थिए।

जेल सजाय भुक्तान गरेपछि पनि साहनीको अपराध गतिविधि भने रोकिएन। २०७१ भदौ २७ गते साहनीले अर्को अपराध गरे। सिद्धार्थनगर नगरपालिका ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरण र त्यसपछि हत्या गरे।  

गुरुङ परिवारसँग सहानीले १ करोड रुपैयाँ फिरौती मागेका थिए। फिरौती रकम नदिएपछि गुरुङको हत्या गरी सहानी फरार थिए। 

प्रहरी मुठभेडमा मारिएका सहानी हतियारका शोखिन भएको खुलेको छ। साहनीसँग बम बनाउने ज्ञानसमेत छ। एसपी थापाले भने,’ साहनी अपराधी हो। चन्दा आतंकदेखि अन्य गतिविधिमा समेत उसको संलग्नता देखिन्छ। 

पछिल्लो समय भारतमा बसेर नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायत जिल्लामा साहनीले आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीको दावी छ। 

सहानीले प्रहरीलाई नै फोन गरेर धम्काउने तर्साउने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए। उनले प्रहरीका एक एसपीलाई सार्वजनिक स्थानमा नै लात्ती हान्नेसमेतको गतिविधि गरेको खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell