PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


महिनावारी: महिला हिंसाको प्रमुख कारण!


महिनावारी: महिला हिंसाको प्रमुख कारण!
फोटो : officialnajnepal.com

  • सञ्जिला तामाङ-

महिनावारी महिलाको नियमित प्रक्रिया हो। अनि यो प्राकृतिक कुरा पनि। तर महिनावारीको नाममा महिलाहरुमाथि भइरहेको विभेद, असमानता तथा छुवाछुत हरेक समाज र समूदायमा छ। समाजमा महिनावारीको बेला महिलामाथि विभेद गर्ने एकखालको संस्कार नै बन्दै आएको छ।

विषय हेर्दा सानो र सामान्य जस्तो लाग्छ। तर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने यो विषय   संवेदनशिल र  महिलामाथि हुने विभेदको प्रमुख विषय बन्ने गरेको छ। यो थोरै बोलिने र कम चर्चामा आउने विषय हो। तर यही विषयले महिला माथि हिँसा हुने गरेको छ, विभेद भएको छ र कतिपय अवस्थामा महिलाको मृत्युको कारण बन्न पुगेको छ।

लेखकनियमित मासिक श्राव भएकै कारण महिला अपवित्र र बिटुलो भएकी छिन्। कसैलाई छुन नहुने भएकी छिन्। पाठपूजा नचल्ने अपवित्र बेनकी छिन्। अनि परै बस्नु पर्ने, कहीँ कतै नचल्ने, कतिपय समाजमा त घरभित्र पस्न र बस्न समेत नहुने कथित अछुत भएकी छिन्।

महिनावारी महिलाको प्रजनननसँग जोडिने विषय हो। तर रुढीवादी परम्परा र अन्धविश्वासका कारण महिला हिँसाको प्रमुख कारण बनेको छ। त्यसैले पूरानो मूल्य मान्यत, अन्धविश्वास र रुढीवादी सोचलाई भत्काउन यस बारेमा खुल्ला छलफल, बहस र अनुसन्धान हुन आवश्यक छ। 

यस अघि मैले महिनावारीलाई खासै ठुलो मुद्दाको रुपमा लिएकी थिइनँ। यसबारेमा त्यति अध्ययन पनि गरेको थिइन। तर जब म महिनावारी सम्बन्धि एउटा छलफलमा सहभागी भए, मेरो पहिलाको अवधारणा नै पुरै परिवर्तन भयो। छलफलमा सहभागीहरुले आआफ्नो अनुभव सुनाउँदा यो सामाजिक समस्या र महिला विकासको वाधक तत्वको रुपममा आएको अनुभुत भयो।

पहिलो पटक महिनावारी हुँदा एक किसिमको अनुभव त मेरो पनि थियो। तर मेरो भन्दा ज्यादा मलाई अरुको अनुभवले तानिरहेको थियो। यो निश्चित उमेर पुगेपछि निश्चित उमेरसम्म महिलामा हुने नियमित प्रक्रिया हो तर यो समस्या हाम्रो सामाजिक संरचनासँग जोडिने विषय रहेछ।

महिनावारीलाई विभिन्न क्षेत्र र समुदायले विभिन्न शब्दवालीमा अभिव्यक्त गर्ने गरिन्छ। जस्तो महिनावारी, रजस्वला, पर सर्ने, नछुने, महारानी, क्यावी लिने आदि। अझ विभिन्न जातिको आफ्नै मातृभाषा अनुसार यसलाई नामाकरण गरिन्छ। जस्तो तामाङ समुदायमा यसलाई 'गुन्ज्युर' भनिन्छ भने नेवारी समुदायमा 'मजुजो' भनिने रहेछ। यसरी विभिन्न जातजाति अनुसार महिनावारीलाई फरकफरक किसिमले बुझ्ने गरिन्छ।

जुन शब्दवाली छ त्यसले आफै एक प्रकारको परिभाषा पनि दिइरहेको छ। सबै नामाकरणले महिनावारी भनेको एउटा अशुद्ध, अपवित्र विषय हो भन्ने संकेत दिन्छ, जस्तै: पर सर्ने, नछुने। महारानी भन्ने शब्द राम्रो हो। महारानी भनेको सबै भन्दा ठुलो तर काम चाही नगर्ने पद भएकोले एक किसिमले व्यङ्ग्यात्मक शब्द प्रयोग गरिएको छ। महिनावारीको भएको ४/५ दिनसम्म बार्नु पर्ने अथवा केही पनि गर्न नहुने भएकाले महारानी उपनाम दिइएको रहेछ।

म तामाङ समुदायको भएकोले हाम्रो समुदायमा महिनावारी हुँदा बार्ने चलन त छैन। तथापि महिनावारी हुँदा पूजाआजमा सहभागी हुनु हुँदैन, चोखो कुरा छुन हुँदैन भन्ने मान्यता कायमै छ। महिनावारी हुँदा प्रयोग गरेका कपडाहरु लुकाएर सुकाउने, अरुले विगार गर्ला भन्ने, बोटविरुवा छुन नहुने, छोए फल विग्रन्छ भन्ने मान्यता कायमै छ। महिनाबारी वार्ने चलन छैन भन्दाभन्दै पनि चोखो कुरा छुन नहुने पूजा आजा गर्न नहुने भनेपछि यो पनि एउटा विभेद नै हो। महिनावारीको नाममा महिलामाथि हुने हिँसा हो। अनि महिलालाई दिएको मानसिक यातना हो।

वास्तवमा महिनावारी के हो? महिनावारी हुनु अघि र भएको बेलामा कस्तो समस्या देखिन्छ? यस्तो बेलामा कस्ता कुरामा ध्यान दिनु पर्छ? भन्ने कुरा परिवार तथा आफू भन्दा ठुलाले हामीलाई कहिल्यै बताएनन्। आमाबाबु र ठूलाबडाहरुले अहिले पनि आफ्ना किशोरी छोरीहरुलाई यसबारेमा नत खुलेर बताउँछन्, न खुलेर कुरा हुन्छ। अझ पहिलो पटकको महिनावारी आम नेपाली महिलाहरुलाई मानसिक र सामाजिक अनि पारिवारीक रुपमासमेत अत्ति डरको विषय बनेको छ। यो अधिकांश नेपाली किशोरी तथा महिलाहरुले भोगेको समस्या हो।

महिनावारी भएको कुरा आफ्नै जन्म दिने आमालाई समेत खुलेर बनाउन नसक्ने हाम्रो सामाजिक मुल्य मान्यता र मर्यादा छ। महिनावारी भएको कुरा रुँदै बताउने यो नेपाली किशोरीको समस्या हो जो मैले पनि भोगे। हामीले यदि हाम्रा किशोरीलाई यो कुरा महिनावारी हुनु अघि नै बताउने, उनका आमा वा अभिभावकहरुलाईसमेत राखेर यस्तो बेलामा ध्यान दिनु पर्ने खानपान र स्वास्थ्य र सफाइका कुरामा छलफल गराउन सके सबै किशोरीले यस्तो बेलाको मानसिक र शारीरिक पीडालाई सहजरुपले सामना गर्न सक्न थिए।

महिनावारीको हाम्रो सामाजिक संरचनासँग प्रत्यक्ष सम्बन्ध छ। विभिन्न जातजाति, धर्म, वर्ग, क्षेत्र, लिंगअनुसार महिनावारीको आआफ्नै मान्यता रहेको छ। जनजाति समुदायमा ब्राम्ह्ण क्षेत्रीको तुलनामा महिनावारीलाई सामान्य ढंगले लिइन्छ भनिन्छ। तर त्यहाँ पनि यस्तो बेलामा महिला माथि विभेद नहुने हैन। जनजाति भित्र पनि कुनै जनजातिले यसलाई कठोर रुपले हेर्छन भने कसैले नरम रुपले हेर्छन्।

अझ ब्राम्ह्ण क्षेत्री समुदायमा महिनावारीको समयमा धेरै नै कठिनाईहरु भोग्नु पर्छ। मलाई अझै याद छ: स्कुलमा पढ्दा मेरी एकजना साथीको कक्षाकोठामा नै महिनावारी भएको थियो। पहिलो पल्ट भएको हुनाले उनी आफै त्यसबारे अनविज्ञ थिइन्। उनको रगत  फ्रक भरी लागेको थियो भने बेन्च भरी पनि। उनी त्यसै गरी स्कुल विदा नहुन्जेलसम्म बसिरहिन्। उनलाई जिस्काउने नराम्रो नजरले हेर्ने धेरै थिए। यो कुरा पुरै स्कुलभर फैलियो। यो कुराले उनलाई धेरै लज्जित बनाएको थियो। स्कुल विदा भएपछि हामी केटी साथीहरु मिलेर बेन्चमा लागेको र उनको फ्रकमा लागेको रगत पानीले पखालीदियौँ। भोलिपल्टबाट सातदिनसम्म उनी स्कुल आइनन्। उनी पहिलो पालो भएकोले आफ्नो घरमासमेत बस्न पाइनछिन्। उनलाई कतै टढा अकै जातिको घरमा लगेर राखियो। किनकि सो समुदायमा पहिलोपटक मैहिनावारी भएको बेला दाजुभाई मुख र आफ्नो घरको धुरी हेर्न हुँदैन भन्ने मान्यता थियो।

नेवारी समुदायमा महिनावारी हुनु अघि नै गुफामा बस्नु पर्छ। यदि महिनावारी भएपछि गुफा बसेमा घाम हेर्न नहुने, बाहिर निस्कन नहुने जस्ता  बन्धनहरु छन्। अझ सुदुरपश्चिमका केही जिल्लाहरुमा त छाउपडी प्रथा छ। उनीहरुको लागि महिनावारी हुँदा बस्ने ठाउँनै अलग छ। घरदेखि टाढा खेतमा बनाइएका पराले छाप्रामा उनीहरुले रात काट्नु पर्छ। त्यस्तो बेला सर्पले डस्ने, जंगली जनावरले आक्रमण गर्ने तथा बलात्कारका शिकार हुने घटना महिलाहरुले व्यहोरी रहेका छन्।

यसले के देखाउछ भने महिनावारी हुनु भनेको अपवित्र हुनु हो। जुन बेला शुद्ध चोखो भनिएका चिजहरु छुन मनाही हुन्छ। महिनावारी सम्बन्धी सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताहरु छन्। जसमध्ये धार्मिक मान्यतालाई सबै भन्दा महत्वपूर्ण मानिन्छ। जुन मूल्य मान्यताले हाम्रो समाजमा अझै जरो गाडेर बसेको छ। शिक्षा, चेतनाले गर्दा केही सुधार भएपनि पूर्ण रुपमा भने परिवर्तन भएको छैन। पढेलेखेका महिलाहरु पनि यस्तो बेलामा पूजाआजा गर्ने, मठमन्दिर प्रवेश गर्ने लगायतका काम गर्न आँट गर्दैनन्। मन्दिर, पूजापाठ, चाडपर्व जस्ता धार्मिक कार्यहरुमा बार्ने चलन हरेक समुदायको महिलाहरुमा छ।

महिनावारी हुँदा सामाजिक, धार्मिक र सांस्कृतिक मूल्य मान्यताअनुसार के के गर्न हुने र गर्न नहुने कुरा भनि छुट्याएको छ। यी मूल्य मान्यताले नै सामाजिक संरचनालाई चलाइरहेको छ। हाम्रा यी मूल्य मान्यताहरु पुराना धर्मग्रन्थहरुले स्थापीत गरी दिएका छन्। यी सबै कुरा बनाइएका हुन्। यदि बनाइएका हुन् भने पक्कै भत्काउन पनि सकिन्छ। तर भत्काउन आँट र हिम्मत गर्नु पर्छ।

महिनाबारीको बेलामा महिलाले भोग्ने मानसिक समस्या त छँदैछ, यस बेला शारिरिक समस्या पनि भोग्नु पर्छ। महिनावारीको बेला पेट दुख्ने, रगत बग्ने लगायतका समस्या हुन्छन्। कतिपय महिलामा यो समस्या बढी नै हुन्छ। यस्तो बेलामा उनीहरुले स्वास्थ्यमा एकदमै ख्याल गर्नु पर्छ। साथै यस्तो वेलमा यौनाङ्को सफाई र सफा कपडाको प्रयोग अर्को महत्पूर्ण विषय हो। यस्तो बेलामा सरसफाइमा ध्यान नदिने हो भने महिलाहरु यौनरोगको शिकार हुने खतरा पनि त्यतिकै हुन्छ।

महिनावारीको बेलमा सफा कपडाको प्रयोग नै उत्तम हो। तर पछिल्लो समय सेनेटरी प्याडको प्रयोग बढ्दै गएको छ। यो वातावरणमैत्री छैन। सेनेटरी प्याड पूर्णरुपमा कुहिन कयौँ वर्ष लाग्ने बताइन्छ। जसले गर्दा हाम्रो वातावरण प्रदुषित भइरहेको छ।  यो बारेमा पनि सोच्न आवश्यक छ। जुन हाम्रो समाजको लागि हानिकारक सावित हुँदै गएको छ।

हाम्रो वरिपरी पाइने स्रोतसाधनबाट बनेको, वातावरण मैत्री, सजिलै कुहिने तथा धुन मिल्ने खालको प्याडको प्रयोग बढाउन आवश्यक छ। जसले वातावरणमा केही खराबी गर्दैन। यस्ता सामाग्री विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ र गर्नु पर्छ।

वास्तवमा महिनावारीको बेला महिलामाथि हुने विभेद नेपालको मात्र हैन विश्वव्यापी समस्या हो।  यस्तो बेलमा महिला माथि गरिने विभेद देश, स्थान, समय, चेतना अनुसार फरक होला तर समस्या  सबै ठाउँमा छ। पहिलाको समाजभन्दा अहिलेको समाजमा महिनावारीलाई बुझ्ने तरिकामा परिवर्तन भने पाउन सकिन्छ। हजुरआमाबाट आमा र आमाबाट छोरीको पुस्तामा आउँदा केही परिवर्तन त आएको छ तर अन्त हुन सकेको छैन। पहिलेका मूल्य मान्यतालाई पूर्ण रुपमा भने त्याग्न सकिएको छैन। त्यसैले यसलाई अब सार्वजनिक छलफलको विषय बनाउनु पर्छ र त्यस्ता छलफल र अध्ययन अनुसन्धानमा युवा पुस्तालाई सहभागी गर्नु आवश्यक छ। जसबाट सो समस्या समाधानमा सहयोग पुग्ने छ। 

– लेखक त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत छिन्।



महिनावारी: महिला हिंसाको प्रमुख कारण! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट