PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अर्को साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड र त्यतैबाट फ्रान्स जाँदै



विधुर ढकाल

अर्को साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड र त्यतैबाट फ्रान्स जाँदै
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन्। वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका हुन्। 

प्रधानमन्त्री ओली माघ ६ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। 
फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ गते देखि माघ ११ गते) सम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदै छ। 

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र , मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने परराष्ट्र स्रोतले जानकारी दियो।

नेपालका प्रधानमन्त्रीलाई पहिलो पटक निम्तो
यसैबीच यसपटकको बैठकमा नेपाल सरकारलाई नै निम्तो दिइएको छ। फोरमको निम्तो पहिलो पटक प्रधानमन्त्री स्तरको लागि आएको हो। 
हरेक वर्ष आयोजना हुने बैठकमा नेपालको सहभागिता रहने गरे पनि त्यो राजदूतस्तर वा अन्य कर्मचारीस्तरमा हुँदै आएको थियो। यसअघिका बैठकमा नेपालका तर्फबाट नेपालका लागि जेनेभाका राजदूत बैठकमा सहभागी हुँदै आएका थिए भने सन् २०१३ मा नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बैठकमा सहभागी भएका थिए। 

सम्मेलनमा विश्वभरका विभिन्न देशबाट २५० भन्दा बढी राजनीतिक नेतृत्व सहभागी हुने बताइएको छ। उनीहरु बैठकका विभिन्न सत्रमा आयोजना हुने उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टाटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागिता जनाउने कायक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री ओलीले ‘विओण्ड दी जीडीपी’ सेसनमा समेत सहभागिता जनाउने परराष्ट्र स्रोतले जानकारी दियो। 

डाभोस सम्मेलनमा जि २० सहितका देशका प्रमुखहरु उपस्थित हुने बताइएको छ। यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बैठकमा सहभागी हुने बताइएको थियो। उनले एक महिना अगाडि बैठकमा सहभागी हुने जनाए पनि तीन दिन अगाडि मात्र उनले बैठकमा सहभागी नहुने बताएका थिए। 

देशभित्रको तनावका कारण उनी बैठकमा सहभागी नहुने बताएका हुन्। 

बैठकमा ट्रम्प गए पनि स्वीट्जरल्याण्डमा उनी विरुद्ध प्रदर्शनको तयारीसमेत भएको थियो। त्यहाँका सोसियलिस्ट पार्टीको युवा संगठनले प्रदर्शनको तयारी गरेको थियो। उनीहरुलाई डाभोस शहरका अधिकारीहरुले प्रदर्शनको अनुमतिसमेत दिएका थिए।

उनीहरुलाई बिहीवार जनवरी २४ का दिन ३ बजे देखि ६ बजेसम्म प्रदर्शनका लागि समय दिइएको थियो। 

साइडलाइन वार्ताको सम्भावना
यसैबीच प्रधानमन्त्री ओलीको स्वीट्जरल्याण्ड भ्रमणका क्रममा केही महत्त्वपूर्ण भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयले डावोस साइडलाइनमा केही मत्त्वपूर्ण भेटवार्ताको तयारी गरिरहेको छ। 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउराबीच भेटवार्ताको तयारी भइरहेकोछ। त्यस्तै अन्य केही देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग पनि भेटवार्ताको लागि पहल भइरहेको स्रोतले जानकारी दियो। 

स्वीट्जरल्याण्डबाटै फ्रान्सको यात्रा
यता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो। 
‘त्यहाँ देखि फ्रान्स जाने कार्यक्रम रहेको छ,’ स्रोतले भन्यो, ‘तयारी भइरहेको छ। यसको जिम्मा परराष्ट्रलाई दिइएको छ। यो भ्रमणलाई विशेष भ्रमणको रुपमा लिइने छ।' परराष्ट्र मन्त्रालयले भने यस विषयमा आधिकारिक जानकारी गराएको छैन। 

नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन्। कुटनीतिक सम्बन्धको वर्षगाठ मनाउने क्रममा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने सहमति भएको छ। पुस २५ गते काठमाडौंमा भएको दुई देशबीचको परराष्ट्र सचिव स्तरीय बैठकले यस्तो सहमति गरेको थियो। बैठकमा सहभागी हुन फ्रान्सका युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका थिए। 

यदि यो भ्रमण भए २४ वर्ष देखि रोकिएको उच्चस्तरीय भ्रमणको सुरुवात हुने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell