PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी सरकारी कार्यालयहरु २२ दिन देखि बन्द, ८ लाख कर्मचारीले तलब पाएनन्



अमेरिकी सरकारी कार्यालयहरु २२ दिन देखि बन्द, ८ लाख कर्मचारीले तलब पाएनन्
फोटो: रोयटर्स

वासिङ्टन:  अमेरिकाका सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएको २२ दिन पुगेको छ। योसँगै अमेरिकी कार्यालयहरु बन्द रहेको नयाँ रेकर्ड बनेको छ। बिल क्लिन्टन राष्ट्रपति भएको बेलामा सन् १९९५-९६ मा कार्यालयहरु सबैभन्दा धेरै २१ दिन बन्द रहेको थियो। 

अमेरिकाको तल्लो सदनमा रहेका डेमोक्रेटहरुले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउनका लागि बजेट स्वीकृत नगर्ने अडान लिएपछि अमेरिकी कार्यालयहरु बन्द रहँदै आएको छ। 

बजेट पारित नगरे वर्षौंसम्म कार्यालयहरु बन्द गर्न आफू तयार रहेको  र यसको जिम्मेवारी डेमोक्रेटहरुले लिनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्। 

ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन ५.७ बिलियन अमेरिकी डलर बजेट माग गरेको थिए। 

तर डेमोक्रेटहरुले त्यसमा सहमति जनाएका छैनन्। 

'सटडाउन' का कारण ८ लाख कर्मचारीले यो वर्षको पहिलो तलब नपाएको बताइएको छ। तलब नपाउनेहरुमा कारागारका सुरक्षागार्ड, विमानस्थलका कर्मचारी र एफबीआइ एजेन्टहरु रहेको बताइएको छ। 

कार्यालयहरु २२ दिनसम्म बन्द रहँदा समेत ट्रम्प र डेमोक्रेटहरुबीच कुनै सम्झौता हुने देखिदैन। केही दिन अघि दुई पक्षबीच भएको वार्तामा डेमोक्रेटका नेताहरुले बजेट पास नगर्ने बताएपछि ट्रम्प 'बाइ बाइ' भन्दै बाहिरिएका थिए। 

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। एक हप्ताअघि अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी थियो। ट्रम्पले शुक्रवार फेरी संकटकाल लगाउने चेतावनी दिएका थिए। 

यता डेमोक्रेटहरुले भने ट्रम्पले अमेरिकी जनताहरुलाई बन्धक बनाएको आरोप लगाएका छन्। 

अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell