PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कमल थापाको चियापानमा राजावादीदेखि गणतन्त्रवादीसम्मको जमघट

कमल थापाको चियापानमा राजावादीदेखि गणतन्त्रवादीसम्मको जमघट


काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘२ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर शुक्रबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भए। 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुसी व्यक्त गरे। सरकारले राष्ट्रिय एकता दिवसको असर पारेर सार्वजनिक विदा नदिएपनि राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर राष्ट्रिय सम्मान गरेको उल्लेख गर्दै आफूलाई खुसी र सन्तोष लागेको बताए। अध्यक्ष थापाले आगामी वर्षबाट सरकारले राष्ट्रिय सम्मानका साथ पृथ्वी जयन्ती मनाउने र यस दिनमा सार्वनिक विदा दिने विश्वास पनि व्यक्त गरे।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली र सरकारका मन्त्रीहरु भने सहभागी भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिक व्यवस्थाको रुपमा नभई मुलुक एकीकरण गर्ने योद्धाको रुपमा स्मरण गर्न आग्रह गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell