PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभर्ट अपरेसनको १४ दिन : कमलादीको होटलमा बस्ने 'डिएसपी'को खुल्यो राज



सविन ढकाल

कोभर्ट अपरेसनको १४ दिन : कमलादीको होटलमा बस्ने 'डिएसपी'को खुल्यो राज

काठमाडौं : ‘हाम्रो एउटा गोप्य अनुसन्धान छ। प्रहरीलाई सहयोग गर्नुहोला,' चौध दिनअघि कमलादीको तिरुपति होटेलमा पुगेका एक व्यक्तिले भने।

करिब ५ फिट ७ इन्च उचाई र खाइलाग्दो शरीर। 

'हाम्रो अपरेसनमा मान्छेको बाक्लो आवत जावत हुनसक्छ। यो सबै कुरा गोप्य राख्नु होला। अनुसन्धानमा कुनै बाधा नहोस्,' उनले बेलाबखत होटेल व्यवस्थापकलाई भनिरहेका थिए। 

उनको कोभर्ट अपरेसन के होला? कुनै ठूलै गिरोहलाई समात्न प्रहरी लागेको होला भनेर होटेल सञ्चालक थप चासो दिएनन्।

उनले तिरुपतिको २०३ नम्बर कोठा बुक गरेका थिए। होटेल बुकिङको क्रममा उनको परिचय खुल्यो - डिएसपी भीम किरण बोगटी। आफूसँग भएको भिजिटिङ कार्ड देखाएपछि सञ्चालकले उनको परिचय थाहा पाएका थिए। डिएसपी बोगटी होटेलमा बसेसँगै मानिसको चहलपहल पनि बढेको थियो।

डिएसपी बोगटीलाई भेट्न मानिसहरू आइरहन्थे। उनलाई भेट्न आउनेहरूमा अधिकांश युवतीहरू नै हुन्थे। समय बित्दै गयो। प्रहरीको कोभर्ट अपरेसन सकिएको थिएन। होटेलको बिल ८० हजार रुपैयाँभन्दा बढी उठिसकेको थियो।

हिजो (बिहीवार) करिब १२ बजेतिर ५\६ जनाको समूह होटेलमा पस्यो। 

'डिएसपी बोगटी कति नम्बर कोठामा बस्नु हुन्छ?' समहुको एक युवकले सोध्यो। 

होटेलका कर्मचारीले जवाफ दिए, '२०३।'  

सिंगो समूह नै कोठाभित्र छिर्‍यो। एक छिनमा एउटा युवकलाई हथकडी लगाएर उनीहरुले निकाले। होटेलका कर्मचारी र सञ्चालक आश्चर्यचकित भए। हतकडी लगाएका युवक कोही थिएनन् - उनीहरुले चिनिरहेकै व्यक्ति थिए। कोभर्ट अपरेसन भन्दै १४ दिनदेखि होटेलमा बसेका डिएसपी भीम किरणकै हातमा हथकडी देख्दा उनीहरु अचम्ममा नपरुन किन?

किन डिएसपी लाई नै प्रहरीले पक्राउ गर्‍यो? 

घटनाको पर्दाफास भएपछि होटेल सञ्चालक नै चकित भए। आफूलाई डिएसपी भीम किरण बोगटी भन्दै बस्ने युवक त 'नक्कली डिएसपी' पो रहेछन्। 

उनको सक्कली पहिचान खुल्यो - भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा।

थापाले आफू डिएसपी भन्दै ठगी गर्ने गरेको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
 
'प्रहरी हुँ भन्दै होटेलमा बसेर थर्काएर ठगी गर्ने गरेको पाइएको छ,' बोगटीले भने।

 

थापाले यस्ता होटेलमा मात्र होइन दरबारमार्ग, ठमेल, क्षेत्रपाटी लगायतका क्षेत्रमा डिएसपी भन्दै व्यापारीलाई धम्काएर पैसा असुल्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ।

रोचक के हो भने नेपाल प्रहरीमा  भीम किरण बोगटी नामकै डिएसपी पनि छन्। उनी अहिले प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा कार्यरत छन्। थापाले सक्कली बोगटीको नक्कली रुप धारण गरेर ठगी धन्दा चलाउँदै आएका थिए।

कसरी खुल्यो नक्कली डिएसपी को कर्तुत?
बिहीवार करिब ११ बजेतिर प्रहरीमा एक युवतीको फोन आयो। फोनमा उनले भनिन्, 'कमलादीको तिरुपति होटेलमा प्रहरी भन्दै ठगी गरेर एक जना मानिस बसिरहेको छ।' तिनै युवतीको जानकारीको आधारमा प्रहरी होटेल पुगेर थापालाई समात्न सफल भएको हो।

प्रहरी नियन्त्रणमा रहेका थापाले युवतीहरूलाई होटेलमा बोलाएर यौन क्रियाकलाप गर्ने गरेको खुलेको छ। थापाको युवतीहरूसँग सम्बन्ध बिग्रिँदै गएपछि र पैसा नदिएपछि उनीहरूले नै प्रहरीमा सूचना दिएको अनुसन्धानमा देखिएको हो। थापाले आफूलाई प्रहरी देखाउन नै कपाल पनि प्रहरी कै जस्तो काटेको बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell