PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन, २२ जनाको मृत्यु: विश्वमा आज



सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन, २२ जनाको मृत्यु: विश्वमा आज

मूल्यवृद्धिको विरोधमा...

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही हप्तादेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या २२ पुगेको छ।  सरकारले पाउरोटी र इन्धनको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोशित प्रदर्शनकारीले सुडानमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ। पाउरोटी किन्न पसलहरुमा मानिसहरु लाइनमा बस्नुपर्ने अवस्था छ। मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शनमा उत्रेका नागरिक र प्रहरीबीच धेरै झडपका घटना भइसकेको छ। झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुले राष्ट्रपति ओमार अल बशिरविरुद्ध प्रदर्शन गर्दै आएका छन्। अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ।  

राजिनाको लहर

अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लागेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। राष्ट्रपति निर्वाचनका बेला रसियाको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहेका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लागेका हुन्।

महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको छ।  उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताएका छन्। ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गरेका थिए।

किमको निमन्त्रणा

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकार गरेको कोरियाली समाचार संस्थाले जनाएको छ। मङ्गलबार बेइजिङ पुगेका किमसँग भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण प्रस्ताव स्वीकार गरेको बताइएको छ। यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

राष्ट्रपतिमा फेलिक्स विजयी

कंगोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन्। गृहयुद्धबाट तहसनहस भएको कंगोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो। राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए। निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने बताएका छन्।

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ। त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई शपथ गराइनेछ।

फोटो : रोयटर्स/ न्यू योर्कर/ एएफपी/ सीटीभी न्यूज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell