PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ड्रग एडिक्टको यौन सिकार : मानसिक सन्तुलन गुमाएर सडकमै छाडिएकाहरु



पहिलोपोस्ट

ड्रग एडिक्टको यौन सिकार : मानसिक सन्तुलन गुमाएर सडकमै छाडिएकाहरु

काठमाडौँ : राजधानीका सडकमा रात बिताउने मानसिक सन्तुलन गुमेका युवती तथा महिलामाथि दैनिक यौन दुर्व्यवहार हुने गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। मानसिक सन्तुलन गुमेका उनीहरू माथि लागू औषध प्रयोगकर्ताले बलात्कार गर्ने गरेको प्रहरीको दाबी छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले बुधवार मात्र राजधानीका विभिन्न सडकपेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन गुमाएका चार युवतीलाई उद्दार गरेको छ।

उनीहरूको स्वास्थ्य परीक्षण र जानकारीको आधारमा लागू औषध प्रयोगकर्ताले दुर्व्यवहार गर्ने गरेको खुलेको महानगरीय प्रहरी परिसर काठामाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने, 'उनीहरू सडक पेटीमा नै रात बिताइरहेका छन्। लागू औषध प्रयोगकर्ता पनि सडकमा सँगै हुन्छ। मानसिक असन्तुलनको फाइदा उठाउँदै दुर्व्यवहार गर्ने गरेको पाइएको छ।'



प्रहरीले उद्दार गरेका उनीहरूको उमेर २५ देखि २७ वर्षको रहेको प्रहरीले जनाएको छ। उद्दार गरिएका युवती तथा महिलाहरूको नेपाल प्रहरी अस्पतालबाट खटिएका चिकित्सकले उपचार गर्ने र कुनै सुरक्षित स्थानमा राखिने डिएसपी बोगटीले बताए। ‘हामीले सडक पेटीमा बस्दै आएका बृद्धबृद्धा, रोगी तथा महिलाहरूको केही समयदेखि उद्दार गरिरहेका छौं। उनीहरुलाई विभिन्न समाजसेवा गर्ने संस्थामा हामीले हेरचारको लागि पठाएका छौँ,' डिएसपी बोगटीले भने।

सडकमा बस्ने ज्येष्ठ नागरिकको उद्दार

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले दुई साता देखि सडकमा बस्ने ज्येष्ठ नागरिकको समेत उद्दार गरिरहेको छ। अहिलेसम्म प्रहरीले १ सय ३१ जनाको उद्दार गरेको जानकारी दिएको छ। प्रहरीले उद्दार गरेका अधिकांश वृद्धवृद्धा र युवतीहरूलाई मानव सेवा आश्रम लगिएको छ। मानव सेवा आश्रम २०८२ सालभित्र सडकमा यसरी बस्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित स्थापित मानवतावादी संस्था हो। 

प्रहरीले केही सातादेखि राजधानीका सडकबाट १ सय ३५ जनालाई उद्दार गरेको छ। उद्दार गरिएका मध्ये ३० जनालाई हेटौंडामा रहेको मानव सेवा आश्रम लगिएको छ। डिएसपी बोगटीले भने, 'प्रहरीसँग उनीहरूलाई राख्ने कुनै ठाउँ छैन। हामी विभिन्न संघ सस्थासँग समन्वय गरिरहेकाछौँ।'



शान्ति सुरक्षा र अनुसन्धानमा केही समयदेखि प्रहरीले आलोचना खप्दै आएको छ। झन्डैझन्डै प्रहरी भन्ने बित्तिकै शङ्काको दृष्टिले हेर्ने वातावरण बनिसकेको छ। शान्ति सुरक्षामा खटिने प्रहरी किन सामाजिक सेवामा अग्रहसर भइसकेको छ। कतै सस्तो लोकप्रियताको लागि त होइन? 

‘समाजको शान्ति सुरक्षासँगै समाजसेवामा पनि होस् भनेर हामीले यो काम गरिरहेका हौँ। केही समयमा भित्र नै सडकमा बस्ने वृद्धावृद्धाको उद्दार हुन्छ,' काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त लामाले भने।



प्रहरीले सडकमा बस्ने २ सय जनाभन्दा बढी ज्येष्ठ नागरिकको उद्दार गर्ने तयारी गरेको हो। प्रहरीले ज्येष्ठ नागरिकको उद्दार गरेपट्टि सडकपेटीमा भिख माग्नेलाई पनि हटाउने तयारी रहेको छ। ‘ज्येष्ठ नागरिक उद्दारपछि हामी सडकमा भिख माग्नेलाई पनि व्यवस्थापन गर्छौँ,' एसएसपी लामाले भने।

प्रहरीले सडकबाट उद्दार गरेर विभिन्न संघसंस्थामा पुर्यावएका ज्येष्ठ नगरिक पुन सडकमा नै फर्किने गरेको समेत देखिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell