PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर कोरियाले निःशस्त्रीकरणमा प्रभावशाली कदम चाल्नुपर्छ: दक्षिण कोरियाली राष्ट्रपति



उत्तर कोरियाले निःशस्त्रीकरणमा प्रभावशाली कदम चाल्नुपर्छ: दक्षिण कोरियाली राष्ट्रपति
फोटो: AL JAZEERA

सियोल  : दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनले उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण प्रक्रिया  टुंग्याउन आग्रह गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए। 

उनले भने, 'मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढंगबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ। उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनेछन्।' 

अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो। 

अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ। यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ। 

राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। 

'मेरो सोचाईमा दुबै पक्ष जानकार छन्। उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अन्त्यका लागि बढी ठोस आणविक निःशस्त्रीकरण कदमहरु चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ। अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ।' 

मूनले आपसी मतभिन्नताका कारण दुबै देशबीच दोस्रो शिखर बैठक हुन नसकेको बताए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरेका थिए। उत्तर कोरियाली नेता किमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई संकेत गरेको उनले बताए। 

चीनले अन्तर कोरियाली संवादमा विगतमाझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास रहेको मूनले बताए। 

उनले उत्तर कोरियाली नेता किमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गरे। यो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुने उनले बताए। 

मूनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्धहरु पुनः स्थापित गर्ने बताए।  रासस/योनहाप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell