PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

व्यापारीलाई फसाउँने 'नटवरलाल' वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत



सविन ढकाल

व्यापारीलाई फसाउँने 'नटवरलाल' वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत
प्रतीकात्मक फोटो : phys.org

कति भयो?-शिवराम पौडेल सोध्छन्।

१८ लाख २२ हजार रुपैयाँ-साहुजीको जवाफ।

टोखामा रहेको रामप्रसाद श्रेष्ठको रक्सीको डिलरबाट विभिन्न महँगा ब्रान्डका रक्सी किनेर गाडीमा लोड गरेपछि पौडेलले साहुलाई १८ लाखको चेक थमाउँछन्।

१८ लाखको रक्सी बिक्री भएपछि साहु पनि मक्ख। चेकसँगै शिवराम आफ्नो नागरिकतासमेत देखाउँछन् श्रेष्ठलाई। नागरिकता देखाएर विश्वास जित्नु थियो। नागरिकता काभ्रेपाल्चोकबाट जारी भएको उल्लेख हुन्छ। रक्सी लिएर शिवराम बाटो लाग्छन्। साहु आफ्नै धन्दामा।

केही समयपछि १८ लाख रुपैयाँको चेक लिएर श्रेष्ठ गरिमा विकास बैंक पुग्छन्। बैंकका कर्मचारीको जवाफले श्रेष्ठको होसहवास नै उड्छ।

‘सर बैंक खातामा पैसा छैन।'

श्रेष्ठको मनमा चिसो पस्छ। कतै म ठगिएको त छैन? आफैलाई प्रश्न गर्छन्। झिनो आशा भने मरेको हुँदैन। उनी केही समय बिराएर फेरि बैंक पुग्छन्। बैंक कर्मचारीको उही जवाफ।

आफू ठगिएको भन्दै श्रेष्ठ महानगरीय प्रहरी परिसर काठमाडौं आइपुग्छन्। शिवरामविरुद्ध ठगीको उजुरी दिन्छन्। प्रहरीले शिवराम पौडेलको खोजी गर्छ। नागरिकतामा जानकारी भएकाले प्रहरीले सहजै पौडेललाई पक्राउ गर्नेमा विश्वस्त हुन्छ। तर महिना दिन बितिसक्दा पनि पौडेल पक्राउ पर्दैनन्।

अपराधी प्रहरीको नजरबाट धेरै समय लुक्न सक्दैनन्, यो तथ्य पौडेलको केसमा प्रमाणित हुन्छ। केही महिनापछि सोमवार पौडेल काठमाडौंको नारायणटारबाट पक्राउ पर्छन्। पौडेल पक्राउसँगै प्रहरी झनै चकित खान्छ। शिवराम त ठगीका 'नटवरलाल' नै पो निस्किन्छन्।

श्रीमतीको नागरिकतामा श्रीमानको नाम अर्कै भेटिएपछि

प्रहरीले केही महिनादेखि शिवराम पौडेललाई खोजी रहेको थियो। नागरिकता अनुसार काभ्रेपलान्चोक पुगे पनि प्रहरीले कुनै सुइँको पत्ता लगाएको थिएन। प्रहरीले शिवरामको मोबाइल नम्बर भने पत्ता लगाए। तर एक्टिभ थिएन उक्त नम्बर। मोबाइलमा धेरै पटक एक जनासँग सम्पर्क गरेको देखियो। उनी थिइन् शिवरामकी श्रीमती। टेलिकमबाट उनको कल डिटेल हेर्‍यो प्रहरीले। नेपाल टेलिकममा बुझाएको उनको श्रीमतीको नागरिकता हेरेपछि प्रहरी झस्कियो। श्रीमतीको नागरिकतामा श्रीमानको नाम वासुदेव मैनाली थियो।

त्यसपछि प्रहरी वासुदेवलाई खोज्यो। अन्ततः वासुदेव, शिवराम एउटै व्यक्ति भएको खुल्यो।

नागरिकता फेर्दै, व्यापारी ठग्दै

प्रहरीले शिवराम पौडेल भनेर पक्राउ गरेका व्यक्ति वासुदेव मैनाली निस्किन्छन्। ठगीको लागि मैनालीले आफूलाई शिवराम पौडेल, रामचन्द्र शर्मा भन्दै नाम परिवर्तन गरेर ठगी गर्ने गरेको खुल्छ। मैनालीसँग  कैलाली धनगढी नगरपालिका फुलबारी ३ बाट वासुदेव मैनालीको नाममा जारी भएको नागरिकता, काभ्रेपलाल्चोकबाट शिवराम पौडेलको नाममा जारी भएको नागरिकता, मोरङ विराटनगरबाट रामचन्द्र शर्माको नाममा जारी भएको नागरिकता फेला पर्छ।

मैनालीले राजधानीका ठुला व्यापारी कहाँ गएर आफू ठुलो व्यापारी भएको भन्दै लाखौंको सामान खरिद गरी विभिन्न नामको नागरिकता देखाएर ठगी गर्ने गरेको खुलेको हो। पाटन गाहबालस्थित आर्यन सपिङ मार्टका सञ्चालकले भने, ’मेरो पसलबाट पनि रामचन्द्र शर्माको नागरिकता देखाएर साढे ३ लाख बराबरको सामान लगेका थिए। चेक साट्न जाँदा पैसा नै थिएन।'

मैनालीले अहिलेसम्म ७ जना व्यापारीबाट ४० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामा भन्छन्, ’आफूलाई हाइ प्रोफाइल व्यापारी भन्दै नागरिकता देखाएर नाम परिवर्तन गरी ठगी गर्ने गरेको देखिएको छ।‘ मैनालीको साथबाट प्रहरीले काठमाडौँ जिल्ला प्रशासनबाट जारी भएको नागरिकतासमेत फेला परेको हो। मैनालीको साथबाट फेला परेको नागरिकता सक्कली भएको देखिएको छ। एक प्रहरी अधिकृतले भने, ’नाम परिवर्तन छ तर नागरिकता सक्कली नै हो। कसरी निकाले भन्ने बुझ्दैछौं।‘

ठगीको सामानको गोदाम

मैनालीले ठगी गरेको सामान जम्मा गरेर नारायणटारमा गोदाम घर नै सञ्चालन गरेका छन्। मैनालीको गोदाममा १५ लाख रुपैयाँभन्दा बढीको सामान भएको प्रहरीले जनाएको छ। एसएसपी लामाले भने, ’ठगी गरेर लगेका सामान जम्मा गरेर गोदाम नै बनाएका रहेछन्। मैनालीको गोदाममा टेलिभिजन, विदेशी ब्रान्डका रक्सी, जेनेरेटरदेखि अन्डासमेत थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell