PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नक्कली सुन पनि चीनबाट केरुङ नाका हुँदै भित्रिन्छः क्रेता अधिकांश सुन व्यापारी नै



नक्कली सुन पनि चीनबाट केरुङ नाका हुँदै भित्रिन्छः क्रेता अधिकांश सुन व्यापारी नै

काठमाडौं: नक्कली सुन देखाएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय भएको प्रहरीले जनाएको छ। दिनप्रति दिन ठगीको सङख्या बढ्दै गएकाले सबैलाई सुन खरिद गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

नक्कली सुन किन्नेमा सबैभन्दा बढी सुन व्यापारी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामा ठगीको निशानामा व्यापारी पर्ने गरेको बताउँछन्। एसएसपी लामा भन्छन्, ’ठगी गर्नेहरुले पैसा हुनेलाई नै बढी खोज्छन्। धेरै नाफा खाने लोभमा पर्दा सुन व्यापारी ठगिने गरेका छन्।‘

परिसर काठमाडौंको टोलीले गत शनिवारमात्र सोलुखुम्बुका ३५ वर्षीय तासी लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको थियो। शनिवार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको हो।

केही समय अगाडि हुम्लाकी एक महिलालाई नक्कली सुन बिक्री गरेको उजुरी परेपछि प्रहरीले शेर्पाको खोजी सुरु गरेको थियो। विवाहको सामान किन्न भन्दै काठमाडौँ आएकी ती महिलालाई शेर्पाले सस्तोमा सुन दिने भनेर ठगी गरेको डिएसपी बोगटीले बताए।

शेर्पाले ती महिलासँग ३ लाख रुपैयाँ ७० हजार रुपैयाँ ठगी गरेको खुलेको हो। २७ वर्षीय महिलाले विवाहको लागि सुन किनेकी थिइन्। सुन नक्कली परेपछि उनी प्रहरीकोमा उजुरी दिन पुगेकी हुन्। ‘ सुन अवैध रुपमा खरिद गर्न खोजेकाले ठगीए पनि धेरै व्यापारी उजुरी गर्ने नै आउदैनन्। प्रहरीको सुचनाले नै हामी ठगलाई पक्राउ गर्न सफल भएका छौं,‘ एसएसपी लामाले भने।

प्रहरीले शेर्पाको साथबाट १ केजी नक्कली सुन समेत बरामद गरेको छ। शेर्पाले शुरुमा एक किलो  सुनलाई ३५ लाख रुपैयाँमा मोलमोलाई गरेर ३ लाख ७० हजार रुपैयाँ बैनास्वरुप लिएका थिए। शेर्पा यसअघि पनि ठगी तथा   कर्तव्य ज्यान मुद्दामा ११ वर्ष जेल सजाय भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। २०५५ सालमा शेर्पाले परिवारका सदस्यको नै हत्या गरेको खुलेको छ। शेर्पा प्रहरीको 'खबरी'समेत भएको खुल्न आएको छ।

शेर्पा पटक पटक सुन देखार ठगी गरेको अभियोगमा पक्राउ पर्दै आएको एसएसपी लामाले जानकारी दिए।

कहाँबाट आउँछ नक्कली सुन

गत आइतवार मात्र प्रहरीले नक्कली सुनको गहना देखाएर सक्कली सुन भन्दै ठगी गर्ने एक ललितपुर महानगपालिका वडा नम्बर १३ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरेको थियो। पछिल्लो समय नक्कली सुन देखाएर ठगी गर्ने समूह सक्रिय भएकाले सबैलाई सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

ठगी गर्नेहरुले एक केजीको सुनको बिस्कुट देखाएर ठगी गर्ने गरेका छन्। यो अवैध तरिका हो सुटुक्क किन्नुहोला लाखौं फाइदा छ भन्दै उनीहरु ठगीको जालमा पार्ने गरेका छन्। बजारमा एक किलो सुनको मूल्य ५० लाखभन्दा बढी पर्छ। तर उनीहरु ३० देखि ३५ लाखमा सुन दिने गर्ने गरेको एसएसपी लामा बताउँछन्।

यसरी ठगले प्रयोग गर्ने गरेको सुन चाइनाबाट आउने गरेको प्रहरीको भनाई छ। एसएसपी लामाले भने, ‘हामीले अनुसन्धान गर्दा चाइनाबाट नै सुन आउने गरेको देखियो। ठगले पित्तलको भाउमा किन्छन् र लाखौं ठग्छन्।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell