PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिल्मी शैलीमा वासुदेवको अंकित अवतार : इखै इखले खारिएको अभिनय



स्वेच्छा राउत

फिल्मी शैलीमा वासुदेवको अंकित अवतार : इखै इखले खारिएको अभिनय

सिन्धुपाल्चोक लागर्चेको लप्सेगाउँ। टिभी कसैको घरमा थिएन। प्रचलमा रेडियो थियो। गाउँकै वासुदेव खड्का रेडियो स्टेसनहरुको नामको लिस्ट बनाउँथे। कार्यक्रम सुन्थे। उनलाई लाग्थ्यो-  आरजे जसरी म पनि बोल्न सक्छु। ठूलो भएर रेडियोमै काम गर्ने हो। एक समय रेडियोमा गायक यस कुमारका गीतहरु खुब बज्न थाले। एफएम सुन्ने बानी लागेको अंकित त प्राय गीत कण्ठस्थ पार्थे। गीत गाउँदा तारिफ कमाउँथे। त्यसपछि उनको लक्ष्य मोडियो।

'ठूलो भएर के बन्ने?' प्रश्नमा उनको जवाफहुन्थ्यो- गायक। गाउँबाट हिँडेर करिब ३० मिनेट तल ओडारे गाउँमा टिभी भित्रियो। त्यहाँ फिल्म देखाउन थालियो। पाँच रुपैयाँ तिर्ने भित्र छिर्न पाउँथे। अरु सब बाहिरै। वासुदेव पनि पाँच रुपैयाँ जोहो गरेर नेपाली फिल्म 'अर्जुन' हेर्न गए। यो २०५७ साल तिरको कुरा हो। फिल्ममा 'हिरो'ले गुडिरहेको गाडीको सिसा फोड्छ। भित्र छिर्छ, हातमा हतियार बोकेका सबै गुण्डालाई एकएक गरी ढालिदिन्छ र 'हिरोइन'लाई बचाउँछ।

पटकपटक भिलेनहरुलाई उडी उडी हान्ने हिरो राजेश हमालको लामो कोट र ड्याम जुत्ताले उनको दिमागमा गहिरो छाप छोड्यो।


राजेश हमालको कुनै फिल्म हेर्न छुटाएनन्। केहीपछि त उनले पनि हमालले जस्तै बोली बोल्न थाले। सानैदेखि दिदीले काटिदिने 'भोगटे' कट कपाललाई लामो बनाएर हमाल लुक्स दिए।

उनले त्यहीबेला टिभीमा आफूलाई कल्पिसकेका थिए।
***
फिल्म अर्जुन सार्वजनिक भएको झण्डै ८ वर्षपछि २०६४/६५ सालमा, धापालखेल स्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा फिल्म 'पालेदाइ'को छायाँकन भइरहेको थियो। गीतको भिडियोको लागि दर्पण फिल्म्स कोरस लिएर स्पटमा पुग्यो।

मुख्य कलाकार थिए राजेश हमाल। उनलाई देखेपछि कोरसमध्येको एउटा केटोको होस उड्यो। नाच्नमा मन गएन। राम्रो नाच्न नसकेपछि नृत्य निर्देशक वसन्त श्रेष्ठले उनलाई सबैभन्दा पछाडि लगेर राखिदिए, फ्रेम भर्नमात्र। उनले पनि हल्लिएरै टारिदिए।

उ त्यही फ्यान केटो थियो जो हमालको फिल्म हेरेर हुर्कियो र हमालजस्तै बन्ने सपना बोकेर काठमाडौं हान्नियो।

सुटिङ सकियो। कोरसका सबैले पालैपालो राजेश हमालसँग फोटो खिचाए। उनले पनि। ‘मलाई डर लाग्यो। उहाँको नजिक जान सकिँन। परै उभिएर पोज दिएँ,’ उनले भने।

वासुदेवलाई आफूले कोरस नाँचेको त्यो पहिलो गीतको बोल याद छैन। तर, त्यस समय राजेश हमालसँग खिचाएको फोटो उनको पर्समा अझै भेटिन्छ।

त्यसपछि फिल्मका गीत र दोहरीहरुमा कोरस डान्स नै उनको दैनिकीको आधार बन्यो। एकदिनभरी नाच्दा दुई, तीनसय सम्म कमाउँथे। काठमाडौंमा बस्नखान केही आम्दानी हुन्थ्यो। तर, जिन्दगी पक्कै सहज थिएन।

***

उनको परिवार भारतको सिलोङमा थिए। बुबाआमा, पाँच दाजुभाइ र एक दिदी कोही पढ्थे, कोही काम गर्थे। बुबा कहिले कोइला खानीमा काम गर्थे त कहिले बाटो खन्न जान्थे। आमाको भने घरमै गाई पालन र अदुवा खेती थियो। उनलाई भारत बसाइको धेरै कुरा याद छैन। आतंकवादीको त्रास भने सम्झन्छन्। नेपालीहरुलाई बस्नै गाह्रो। त्यसैले उनका बुबा लालबहादुर खड्का भारत हान्निएको ३२ वर्षपछि २०५३ सालमा परिवार सहित नेपाल फर्किए। त्यतिखेर उनी ८ वर्षका थिए।

त्यसपछि लागर्चेमा उनको दैनिकी बित्न थाल्यो।

कक्षा ८ मा पढ्दा पढ्दै काठमाडौंमा बस्ने साथी सरोज पौडेलले खबर पठाए- दर्पण फिल्म्स प्रालसले सिरियल ‘अब त अति भो’ का लागि कलाकार खोजेको छ। उनीहरुले नै सिकाएर सिरियल खेलाउँछन्।

काठमाडौंमा दाइभाउजु डेरा गरेर बस्थे। दिदी पनि बिहेपछि काठमाडौं नै थिइन्। पैसा थिएन तर भरोसा थियो। दिदीले पनि फोनबाटै काठमाडौं आउन ग्रिन सिग्नल दिइन्। सिरियल खेलेर फर्किने सोच लिएर काठमाडौं आए।

***

दर्पण फिल्म्सको कार्यालय कालिकास्थान पुगे। तीन महिना अभिनय सिक्न पाँच हजार लाग्ने कुरा भयो। उनी थोरै हच्किएका थिए। दिदीले भने सिक्न आएको भाइलाई निराश बनाइनन्। कानको मुन्द्री बेचेर पच्चिस सय रुपैयाँ जोहो गरिदिइन्। त्यही पैसा तिरेर अभिनय सिक्न थाले। दैनिक दिदीको कोठा भक्तपुर कमल विनायकदेखि कालिकास्थान हिँड्दै पुग्थे। अभिनयका विभिन्न रसहरुबारे पढ्दै थिए। पन्ध्र दिन नबित्दै सूचना आयो-  पूरा पैसा तिर्न नसक्नेहरु भोलिदेखि नआउनु। महिना दिन पनि पूरा गर्न पाएनन्। सिरियल खेल्ने सपना इन्टरभलमै नपुगी टुंगियो।

‘अभिनय पूरा सिकेको भए सायद म काम सकेर गाउँ फर्कन्थेँ। सिक्ने होडसँगै इख पनि उकासियो। त्यसपछि म काठमाडौं नै बसेँ’, उनले सम्झिए।

आमाको बोली सम्झिए - ‘चेलीबेटीकोमा धेरै बस्नुहुन्न, उनीहरुको पैसा त्यसै खानुहुन्न।‘

कालिमाटी माइलादाइको कोठामा गए। त्यहीँ बस्न थाले। टेकुमा रहेको ओसियामी इम्पेक्समा काम थाले। हार्डवेयरका सामानहरु ओसार्ने, मिलाउने काम थियो। मासिक ३ हजार ५ सय रुपैयाँ तलब पाउने कुरा थियो। फुच्चे ज्यानको लागि काम सहज थिएन। काम नगरी काठमाडौंमा टिक्नु त्यो भन्दा कठिन।

गाउँबाट आएको फुच्चे केटो त्यसरी काम गरेको देखेर एक दिन म्यानेजरले सोधे- तँ किन काठमाडौं आएको? 

‘हिरो बन्न’, उनले ठाडो जवाफ दिए।

म्यानेजरले झोक्किएर बोले, 'यो अनुहारले तँ हिरो हुँदैनस्। जा अरु काम गर तर जिन्दगीमा कुल्ली नबन्।‘

नामचन्द्र, थर याद छैन। उनको त्यो बचनले वासुदेवको अभिनय गर्ने इख झन् जगाइदियो। पहिलो महिनाको तलब थापे। दिदीको पैसा तिरे।

दर्पणमा भेटिएका साथीहरुमार्फत् कोरस नाच्न पाइनेबारे थाहा पाए। अभिनय सिक्न पैसा लाग्थ्यो, कोरस बन्दा पैसा आउँथ्यो। उनलाई लाग्यो गर्दैजाँदा सिक्दै गइन्छ। साथीहरुको भिडमा मिसिएर नाच्न जान थाले।

यसबीचमा सम्झना एकेडेमीमा समेत भर्ना भए प्राइभेट एसएलसीका लागि। त्यतिन्जेल उनको नाम वासुदेव थियो। म्याथ पढाउने अध्यापकले नाम फेर्न सुझाएपछि उनी अंकित खड्का भएका हुन्। अहिले रङ्गमञ्च र फिल्म क्षेत्रमा उनी अंकित खड्काकै रुपमा परिचित छन्।
बीचमा उनी बिरामी परे। कोरस नाच्न पनि नसक्ने गरी। पैसा आउने बाटो बन्द भयो। खर्च माग्दा कसैले दिएन। ५०० रुपैयाँ फि तिर्न सकेनन्, छोडिदिए पढ्न।

दाइको डेरामै बस्थे,  खान्थे। एकदिन अचानक घरबेटीले उनलाई पानी तान्ने मेसिन चोरेको आरोप लगाए। कि उनले घर छाड्नुपर्ने कि परिवारले नै कोठा सर्नुपर्ने चेतावनी सहित।

‘अभाव र अप्ठ्यारोमा पिल्सिएको थिएँ। त्यस्तो आरोपले त आत्मसम्मानमा चोट पर्‍यो। केही नभनी आफ्नो लुगा पोको पारेर सरासर बाहिरिएँ, ' उनी भन्छन्, 'त्यो पल सम्झँदा आज पनि मन चसक्क हुन्छ।'

*** 
केही समय पाल्पाका साथी किशोर थापाले आफ्नो कोठामा लगेर राखे उनलाई। त्यहाँ बस्न नमिल्दा वीर अस्पताल बाहिरको बेन्चहरुमा पत्रिका ओच्छाएर रात काटे। कतिपटक एक कप चिया र एउटा पफले छाक टारे। कतिपटक आधा बिग्रिएर फालेको फलफूलले उनको भोक मेट्यो।

'यीनै अनुभवले त मलाई जिन्दगी बुझायो। यस्तै परिस्थितिहरुले गर्दा म सानोतिनो समस्यामा नआत्तिने भएको हुँ,' उनी भन्छन्, ’मैले अभाव अनुभूत गरेँ। अभावबीच ध्यान गरेँ।'

एक दुईवटा गीतमा काम गरेपछि कोठा खोज्ने साहस जुट्यो। घट्टेकुलो चोकबाट केहीभित्र माटोको घरमा कोठा पाएँ। एकजना साथीको सहयोगमा सिरक, डस्ना, स्टोभ र भाडाकुँडा किने। खाट थिएन। पत्रिका ओच्छाएर डस्ना राखेँ। 

‘पहिलो रात चाउचाउको झोलसँगै आँशु उमालेर खाएँ। त्यो खुशीको आँशु थियो। मेरो आफ्नो कोठा भन्ने अनुभूतिले मलाई रुवाएको थियो त्यो रात,’ उनले सुनाए। 

बिस्तारै कोरससँगै फिल्महरुमा सानो तिनो भूमिका निभाउन थाले। धर्तीपुत्र, इशारा लगायत फिल्ममा काम गरे। अभिनय सिकाउन खुलेका इन्स्टिच्युटहरुमा उनी आफै अभिनय सिकाउन थाले। 

‘म त नसिकी खत्रा अभिनय गर्छु जस्तो लाग्थ्यो। त्यसमाथि नाटकको नवरसबारे जानकारी भएपछि केही चाहिएन। गुरु भएँ,’ उनले सुनाए।
हिरो बन्न आएका उनको पथ धर्मरायो। पैसा कमाएनन् तर दैनिकी चलाउन अरु उपाय थिएन। 

एकदिन उनीसँग अभिनय सिकिरहेका आयान खड्काले भने - 'हामी थिएटर सिक्न जाऔं।' 

अंकितले त्यसअघि पनि आर्जेश रेग्मीबाट थिएटरबारे सुनेका थिए। योपटक सिक्ने सुझावसँगै साथी पनि भेटे। त्यसैले आँटे। र, पुगे मण्डला थिएटर। सुनिल पोखरेल उनका गुरु।

‘बल्ल थाहा पाएँ आफ्नो धरातल। मैले त केही नै पो जानेको रहेनछु भन्ने कुरा स्पष्ट भयो,’ उनले रङ्गमञ्चमा बटुलेको अनुभव साटे।

***

मण्डला थिएटरमा नाटक 'जार'को पहिलो सो सकियो। सबै बाहिर निस्किए। दर्शकले नाटकको रुद्रमान पात्रलाई खोजे। उनीसँग हात मिलाए, कतिले त अटोग्राफ समेत मागे। कार्तिकको महिना, नाटक सकेर निस्किदा अध्याँरो भइसकेको थियो। त्यस्तोमा पनि धेरैले रुद्रमानसँग फोटो खिचाएका थिए।

प्राय नाटक सकिएपछि दर्शकले कलाकार भेट्न खोज्छन्। नाटकबारे कुराकानी हुन्छ। रुद्रमान बनेका अंकित खड्काको लागि भने यो सब नौलो अनुभव बन्यो।

'दर्शक प्रतिक्रियाले मलाई अत्तायो। मैले त युट्युबमा बलिउड स्टारहरुको सो पछाडि त्यस्तो भएको देखेको थिएँ, ' अंकित सम्झन्छन्।

२०७१ मा मञ्चन भएको 'जार' नै उनको पहिलो नाटक हो। 'जार नाटक बन्दैन थियो भने म आजसम्म कलाकारितामा हुँदैनथेँ,' अंकित भन्छन्, 'नाटकले मेरो खत्रा अभिनय गर्छु भन्ने भ्रम तोडिदियो। अभिनय सजिलो छैन भन्ने बुझाइ दियो।' 

दोस्रो नाटक ‘माथा पञ्चर’ गर्दासम्म उनले नाटकलाई आदर्श बनाइसकेका थिए। उनको दिमागबाट हिरो बन्ने भूत हट्यो। आफू खत्रा छु भन्ने भ्रम बाँकी रहेन। अब उनलाई राम्रो अभिनय गर्नु थियो। सोही नाटक मञ्चनताका उनले जीवन र मरणबीचको दोसाधमा रहेका दाइ र नाटकबीच नाटकलाई रोजे। माइला दाइ कालिमाटी तरकारी बजारको गाडी चलाउँथे। मुग्लिन पुग्दा उनी अचानक बेहोस भएको खबर आयो। अवस्था क्रिटिकल भएकाले कसैले काठमाडौं ल्याउन मानेनन्। उनी यता, फोन आ’को आइ थियो। 

‘मैले नाटक छोड्नु मेरो धर्म विपरीत हुन्थ्यो। टिमको बेहाल र टिकट किनेर बसेका दर्शकमाथि अन्याय हुन्थ्यो। त्यसैले दाइलाई केही भए म जिम्मेवार भनेर गाडी साहुलाई नै ल्याउन लगाएँ, ’ उनी सम्झिन्छन्। 
दाइलाई ठीक भयो। नाटक मञ्चन पनि जारी रह्यो। 

‘दाइको उपचारका लागि पाइने सहुलियतका लागि वडाको सिफारिस लिन बिहान लागर्चे पुगेर बेलुका मण्डला फर्किएँ, ’ अंकित भन्छन्, ’त्यो सब मैले आफ्नो लागि गरेको हुँ।‘

२०७३ मा उनी अभिनित नाटक ‘युमा’ मञ्चन भइरहेको थियो। नाटक सकिनु अगावै उनलाई फिल्म ‘घामपानी’का लागि प्रस्ताव आयो। 
एकदुईवटा गीतको भिडियो र सिरियलमा खेलेर फर्किन्छु भन्ने सपना देखेको केटोको लागि फिल्मको प्रस्ताव! केही नसोची हस् भन्ने पक्षमा भने थिएनन्। स्टोरी लाइन सुने। भूमिका चित्त बुझ्यो। काम गरे। 

पहिलो फिल्मबाटै चर्चामा आए। दर्शकको नजरमा आँखा झिम्क्याउने इन्सपेक्टरको रुपमा चिनिए। फिल्मकर्मीको नजरमा कुशल कलाकार। 
त्यसपछि डमरुको डण्डिबियो, हुर्रे, चङ्गा लगायत फिल्ममा काम गरे। फिल्म गोपी प्रदर्शनको तयारीमा छ। 

‘गोपी’मा उनी विपिन कार्कीको मामाको रुपमा देखिँदै छन्- कंश मामाको रुपमा। गोपीमा गाई पालन गर्ने एक युवकको कथा छ। उठान गरिएको विषयका कारण आफ्नो लागि फिल्म विशेष रहने बताउँछन् उनी। विशेषत: जिन्दगीमा घटेको एक घटनाका कारण। 

कक्षा ५ मा पढ्थे अंकित। घरको आर्थिक अवस्था सबल थिएन। गाउँकै एकजनाले काठमाडौंमा काम गर्नका लागि लिएर आउने भए, स्कूल पठाउने सर्तमा। 

खुशी खुशी आए। लोकन्थलीमा एउटा मेजरको घरमा राखियो उनलाई। 

उनको काम थियो बिहान उठ्ने। गाईलाई कुँडो पकाउने। त्यसको गोठ सफा गर्ने। गाई दुहुने। दिउँसो घाँस काट्ने। गाईलाई हाल्ने। बेलुका फेरि कुँडो पकाउने, खुवाउने। 

अंकित त्यो घरका मान्छेहरुसँगभन्दा बढी आफूले हेर्ने गाईसँग नजिकिए। 

उनले घरकाले अह्राए जति सबै काम पूरा गर्थे। तर, उनीहरुले पढाउने सर्त पूरा गरेनन्। त्यसैले एकदिन उनी भागेर गाउँ फर्किए। धेरै पछिसम्म उनलाई काम गरेको घरको याद आएन, घर मालिकको याद आएन। आफूले स्याहार गरेको गाईको याद आइरह्यो। 

‘यसरी नै त जोडिने अनि टुक्रिने रहेछ मान्छे,’ उनको बोली गम्भिर सुनिन्छ। 

***

अंकित खुशी छन् अभिनय सिक्ने प्रक्रियालाई निरन्तरता दिन पाएकोमा। हिजो रङ्गमञ्चको लागि मात्र अभिनय गर्थे आज डिजिटल पर्दाका लागि पनि एकपछि अर्को अवसरहरु पाइरहेका छन्। उनी खुशी छन् आजको अवस्थासँग। 

'भोलि के होला भन्ने नसोचेर खुशी भएको हुँ,’ उनी आफ्नो बुझाइ यसरी व्यक्त गर्छन्, ’मान्छे असन्तुष्ट हुने अरुको देखेर हो। त्यसको जति किन पाइँन। त्यस्तै किन भएन भन्ने कुराले पोल्छ। त्यसैले म आफू र आफ्नो कामलाई मात्र नियाल्छु।' 

हिजो आफूले ओच्छ्याएर सुतेको पत्रिकाहरुमा आज उनको ठूला ठूला फोटो र अन्तर्वाता छापिएका छन्। उनले ती पत्रिका पनि जम्मा गरेका छन्। 

भन्छन्, 'के थाहा भोलि फेरि त्यही ओच्छ्याएर सुत्न पर्ने अवस्था आउँछ कि। म खुशी छु तर यसैलाई प्राप्ति मान्दिन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell