PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माननीय बनेर जेलमै फर्किँदाको रेशम अनुभव : जेलभित्र लोगो झुन्ड्याउने ठाउँ पाइन, कोटमै झुन्ड्याएँ



सविन ढकाल

माननीय बनेर जेलमै फर्किँदाको रेशम अनुभव : जेलभित्र लोगो झुन्ड्याउने ठाउँ पाइन, कोटमै झुन्ड्याएँ

काठमाडौं : 'मामा तपाईँलाई भेट्न आउनुभएको छ।'

'मामा' सम्बोधन गर्दै एक युवकले भित्रपट्टि हेर्दै बोलाए। बाहिरबाट ढोका जस्तो देखिने र केही रडले बेरिएको खोपीबाट आवाज आयो- 'को आउनुभएको हो? बस्दै गर्नुहोस् भन्नुहोला, म आइहाल्छु।'
 
'त्यहाँ बस्दै गर्नुहोस्। एकछिनमा मामा आउनुहुन्छ रे।' 

सायद, उनी भित्रपट्टि केहीमा व्यस्त थिए। 

पुसको दिन भए पनि काठमाडौंमा बिहानैदेखि लागेको घाम पारिलो थियो। आगन्तुक बस्नको लागि बनाएको फराकिलो सिमेन्टेड सिढीं जस्तो ठाउँ। बस्नका लागि कार्पेटले मोडिएको कंक्रिटकै संरचाना। त्यसमाथि छरिएका राष्ट्रिय दैनिक पत्रिकाहरु। सबै पत्रिकामा एउटै समानता थियो - कभर भागमा ढाका टोपी र ढाकाकै पोसाकमा सांसद रेसम चौधरीको ठूलो फोटो।

करिब तीन मिनेटपछि हातमा पहेँलो डायरी बोकेर उनी आए। चिटिक्क कोरेको कपाल, रातो स्विटरमाथि खैरो कोट। कालो पाइन्ट र कालै छालाको जुत्ता। हँसिलो चेहरामा बाहिर निस्किए यि तिनै हुन् जो पत्रिकाका कभर फोटो बनिरहेका थिए - पक्ष र विपक्षको बहसले सामाजिक सञ्जालमा छाइरहेका थिए। 

'मामा' अर्थात् माननीय रेसम चौधरी। 

हिजो बेहुला शैलीमा यिनी सिंहदरबार पुगेका थिए। सानका साथ संसद हुँ भन्ने पत्र बुझेका थिए। सांसदको लोगो लगाए र त्यसरी नै यहाँ फर्किएका थिए। 

कैद जीवनबाट एकाएक उनलाई संसदमा लगियो र सांसदको ब्याच दिइयो। माननीय पनि थपियो, औपचारिक रुपमा नै। त्यही माननीय पद पाएको चौबीस घन्टा बितेको थिएन, उनलाई भेट्दा। 

टाढैबाट नमस्कार गर्दै उनी आए। उनी बस्ने ठाउँतिर अरु थिएनन् बाहेक त्यहाँका कर्मचारी। अलिकति पर भने कैदी भेट्नको भिड नै थियो। समूह समूहमा आफन्त, साथी भाइसँग सुखदु:ख साटिरहेका थिए। हातमा फलफूल वा केही सामान लिएर आउनेको सङ्ख्या पनि बढ्दै थियो।

कैदमै सही, माननीयको कोटमाथि चम्किएको थियो संसदको लोगो। त्यही लोगोसँगै नेपालको झन्डा अङ्कित लोगो पनि सिउरेका थिए। 

'जेल भित्र सांसदको लोगो झुन्डाउने ठाउँ नै भएन,' लोगोमा पुगेको नजरको अन्दाज गरिहाले अनि बोले पनि, 'जेलमा राख्न मनले पनि दिएन। कोट लगाएको छु। त्यसैले कोट माथि लगाएको हुँ। जेल भित्र सांसदको लोगो लगाएर रमिता देखाउन त कहाँ मन थियो र?' 

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेसम चौधरीले हिजो (बिहीबार) दिउँसो मात्र शपथ लिए। सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाए। गएको फागुन महिनादेखि जेलमा रहेका चौधरीलाई बिहीवार ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सहित शपथ खुवाएर डिल्लीबजार कारागार नै ल्याइएको थियो। 

सांसदको लोगो लगाएर पुन जेलमा फर्कनुपर्दा दु:ख लागेको सांसद चौधरीले सुनाए। ‘सांसदको शपथ खादा जति खुसी भएको थिएँ त्यो भन्दा दु:खी त जेल फर्कनुपर्दा लाग्यो। मैले सांसदको लोगो लगाएर पुनः जेल फर्कनुपर्ला भनेर सोचेकै थिइन,' उनले भने। 

निर्वाचित भएको एक वर्षपछि शपथ खाएका थिए, चौधरीले। शपथपछि सभामुखले जेल मुक्त हुन रुलिङ गर्लान् कि भन्ने पनि रहेछ। 

'मैले त जेलमा फर्किनु नपर्ला भनेर कुम्लोकुटुरो समेत बोकेर जेलका सबैसँग बिदा मागेर गएको थिएँ। फर्किएर जेलमा नै आउनुपर्दा कस्तो भयो होला? कस्तो लोकतन्त्र हो?,’ उनी प्रश्न गर्ने मुडमा देखिए।

औपचारिक रुपमा सांसद भएको रात र अघिल्ला रातमा चौधरीका लागि खासै फरक भएन । ‘फरक यतिमात्र भयो, अघिल्लो दिन रेसम चौधरीले जेलमा रात कटायो। हिजो सांसद रेसम चौधरीले। सांसद भएर जेलमा हुँदा केही दु:ख लाग्यो,' उनले भने।

उनी कुराकानीको मुडमा थिए। बीचबीचमा कोही न कोही भेट्न पुगिहाल्थ्यो। 

'दाइ बधाई छ है।'
'दाइ नमस्कार।' 
'सर सन्चै हो?' 

उनी कसैलाई हात मिलाएर त कसैलाई नमस्कार फर्काएर जवाफ दिन्थे। 

‘दाइ त टिभी, पत्रिका, अनलाइन, फेसबुकभरि छाउनु भएको छ। टिभी खोल्यो दाइ फेसबुक हेर्योय दाइ,' एक महिलाले छेउमै पुगेर सुनाइन्। उनले जवाफमा मुस्कानमात्र दिए। यसरी शुभकामना दिन आउनेमा धेरैजसो कारागारकै कर्मचारी थिए।

उनीहरुबीच सांसद चौधरीले घरीघरी ठट्टा पनि गरिरहे। भने, 'भाइ हेर्दै जानु केही समयमा हाजिरी जवाफमा पनि एउटा प्रश्न सोधिन्छ। जेलबाट आएर सांसदको शपथ खाने र फेरि जेल नै जाने सांसद को हो?’ 

रेशमका छोरा र श्रीमतीलाई पनि जेलबाट उनी घर नै फर्किने ठूलो आशा रहेछ। त्यही भएर ढुक्कैसँगै शपथमा पुगेका थिए। ‘छोरो आएको थियो। तर, उनीहरूसँगै घर जान सकिन।' 

सामाजिक सञ्जालमा फोटो भाइरल भएको विषयमा पनि उनले सोधे।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। वारेसमार्फत् नै उनले निर्वाचन आयोगबाट विजयी भएको प्रमाणपत्र थापेका थिए। 

भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले भूमिगत रुपमा नै भारतमा भेटेका थिए। उनी भूमिगत भए पनि भेट सार्वजनिक रुपमा नै भयो, फोटो आएपछि दाहाल नै विवादमा तानिए। यसपाला उनको जेल टू सिंहदरबार टू जेल यात्रामा पनि उनैको योगदान छ।

बिहीवार उनले शपथको कुरा  बिहानै थाहा पाए। ‘बिहानै घरमा फोन गरेको थिएँ। केही भनेका थिएनन्। हाम्रो पार्टीको एक सांसदलाई फोन गर्दा उहाँले दिउँसो भेट हुन्छ है हाम्रो मात्र भन्नुभएको थियो। ११ बजेतिरमात्र कारागारका मानिसले पत्र आएको छ। शपथ गर्न जाने भन्ने सुनाए,' उनले भने।

सपथ ग्रहणको कुरा सुन्दा खासै खुसी पनि लागेन भने उनले। 'किनकि मलाई जनताले अगाडि नै लोगो लगाइ सकेका थिए। अब म अदालतबाट न्यायको प्रतीक्षामा मात्र छु। तर, अदालतसँग न्यायको भिख भने मागेको छैन,' निर्धक्क सुनिए उनी।

उनी ढुक्कले गफ गर्न पाउँदैन थिए। छिनाछिनमा कोही न कोही आइपुग्थे। 
'दाइलाई फलानाले फोन गर्नु भन्नुभएको छ।' 

कारागारमासँगै कैद भुक्तान गरेर गएका पूर्व प्रहरीका उच्च तहका कर्मचारीदेखि नेतासम्मको लिस्ट हुन्थ्यो यसरी फोन गर्नेमा। सायद बधाईको फोनहरु थिए ती।

डिल्लीबजारस्थित सदर खोरमा उनलाई भेट्न आउनेहरु पनि बढिरहेका थिए। उनको व्यस्तता बाक्लिँदो थियो। त्यसैले अन्तिम प्रश्न सोधियो : माननीयज्यू जेल जीवन कस्तो हुँदो रहेछ? 

उनले केही लेखे र खुसुक्क दिए। भने, 'कसैले नदेख्नेगरी लैजानु।' बाहिर निस्किएर हेर्दा त कविता पो रहेछ। 

चार दिवारमा थुनिएर आजभोलि मन्द छु।
धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु।।
झ्यालखानाको कित्ता हजुर एक हात एक भित्ता।
कस्तो बदला लियो सरकार निर्दोषसित।
चार दिवारमा थुनिएर आजभोलि मन्द छु।
दाल छ तरकारी छैन, तरकारी छ दाल
झुटो मुद्दा लगाएर सरकार बनायो बेहाल।
चार दिवारमा थुनिएर आजभोलि मन्द छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell