PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रोकिएन स्वास्थ्य मन्त्रालय भित्रको किचलो, विवादले बदनाम हुनेक्रम जारी



सागर बुढाथोकी

रोकिएन स्वास्थ्य मन्त्रालय भित्रको किचलो, विवादले बदनाम हुनेक्रम जारी

काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय सरुवा गरेकै आधारमा सुरु भएको स्वास्थ्य मन्त्रालयको सचिव विवाद अझै टुंगिएको छैन। पछिल्ला केही दिन विवाद साम्य भएको देखिए पनि अहिले विवादले नयाँ रुप लिएको छ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको कार्यकक्षमा गएर नियमित काममा अवरोध सृजना गर्न थालेको स्वास्थ्य मन्त्रीको सचिवालयले आरोप लगाएको छ। सचिवालयको अनुसार बिहान मन्त्रीको कोठामा प्रवेश गरेपछि चौधरी बाहिर निस्किन्नन्। स्वास्थ्य मन्त्री यादवले पनि उनलाई बाहिर पठाउने आँट गरेका छैनन्। 

सचिवालयका स्रोतले भन्यो, 'हाजिर गरेपछि चौधरी सिधै मन्त्रीको कार्यकक्षमा जाने गर्छिन्। जसले नियमित भेटघाटदेखि दैनिक काम गर्न मन्त्रीलाई समस्या भएको छ।'

सचिवालयका अनुसार डाक्टर चौधरी केके काम भएका छन्, कस्ता फाइल अगाडि बढिरहेका छन् भन्ने बुझ्न नियमित मन्त्रीको कक्षमा बस्छिन्। कर्मचारी र मन्त्रीबीच हुने छलफलमा पनि उनी बसेकै हुन्छिन्। 

स्वास्थ्य मन्त्री उपेन्द्र यादव उनलाई बाहिर निकाल्न सक्दैनन्। तर, कामले गति लिएको बेला पुष्पाले अवरोध गरिन भन्दै गुनासो गर्न थालेको उनको सचिवालयका कर्मचारीहरु बताउँछन्। मन्त्री र सचिवबीच तालमेल नभएको उनीहरुको कुराले प्रस्ट हुन्छ। सचिवालयका सदस्यहरुका अनुसार चौधरीले स्वास्थ्यमा अस्थिर बनाउन खोजेकी छिन्। 

तर, स्वास्थ्य सचिव चौधरी भने सचिवालयले आफूलाई बदनाम गर्न लागेको बताउँछिन्। आफ्नो स्वार्थ पूरा गर्न नसकेपछि सबै कर्मचारी मिलेर बदनाम गर्न लागेको उनको आरोप छ। 'एउटा सचिवले कहीँ मन्त्रीको काममा अवरोध गर्न सक्छ? दिनभर म उहाँको कार्यकक्षमा बसेकै छैन,' चौधरीले भनिन्, 'मलाई बदनाम गराउने यो अर्को ग्राण्ड डिजाइन हो।'

काम परेको बेला र मन्त्रीले बोलाएको बेला मात्रै मन्त्रीको कार्यकक्षमा गएको चौधरीको दावी छ। 'म काम गर्न सचिव भएको हो। मन्त्रीको काम अवरोध गरेर मलाई के फाइदा?,' उनले  सोधिन्।

सचिव भर्सेज मन्त्रीको विवाद शृङ्खला नयाँ भने होइन। यसअघिका अन्य विवादका शृङ्खलाहरुले पनि स्वास्थ्य मन्त्रालयको काम सुस्त हुँदै आएको छ। 

सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो। त्यसको एक साता नबित्दै चौधरीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो। सोही आदेशअनुसार उनी कार्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगेकी थिइन्।

तर, गत १७ गते बसेको मन्त्रीपरिषद बैठकले केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाएपछि डाक्टर चौधरीले पनि ऐन मिचेर अधिकारीलाई सचिव बनाइएको भन्दै उनलाई फिर्ता गर्नुपर्ने माग राखेकी थिइन्।
 
तर, अधिकारीलाई सरकारले मन्त्रालयबाट फिर्ता गरेन। एउटै कार्यकक्षामा दुइ सचिव भए। त्यसपछि कार्यकक्ष विवाद सुरु भयो। एउटै कार्यकक्षमा कहिले चौधरी बस्थिन् त कहिले अधिकारी। लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा यसरी नै म्युजिकल चियर प्रतियोगिता चलिरहेको थियो।
 
कार्यकक्ष विवाद भएको केही दिनपछि मन्त्रालयले सचिव चौधरीलाई पहिलाकै कार्यकक्षमा र अधिकारीलाई भने मन्त्रीका प्रमुख सल्लाहकार डा केके राई बस्ने कोठामा व्यवस्थापन गर्‍यो। कोठासँगै मन्त्रालयले सचिव डाक्टर चौधरीलाई स्वास्थ्यकै प्राविधिक र अधिकारीलाई जनसंख्या र प्रशासनको जिम्मा दिने भयो।

यससँगै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहने भए। मन्त्री उपेन्द्र यादवले मन्त्रालयमा दुई जना नै सचिव रहने र उनीहरुको जिम्मेवारी बाँडफाँट गरिने जानकारी दिएपछि सचिवको कुर्सीमा जारी 'म्युजिकल चियर' बन्द भयो। केही दिनको लागि विवाद पनि साम्य भएको देखियो।
 
तर, अहिले फेरि सचिव भर्सेज मन्त्रीको विवाद सुरु भएको छ। सचिवालयको कर्मचारी स्वास्थ्य सचिव चौधरीको विरुद्धमा बोलिरहेका छन् भने चौधरी आफ्नो बचाउ गर्दै आएकी छिन्। यी पछिल्ला विवादका शृङ्खलाले स्वास्थ्य मन्त्रालय बदनाम हुँदै गएको छ। बदनामीको शृङ्खला बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय नै अस्वस्थ बनेर थला पर्ने स्थितिमा छ। अब फेरि यो विवादले कुन रुप लिने हो त्यो हेर्न बाँकी छ।

 

यो पनि पढ्नुहोस् : स्वास्थ्य मन्त्रालयमा दुई सचिवको सकियो 'म्युजिकल चियर', नेशनल मेडिकल कलेज काण्डले फेर्‍यो मन्त्रालयको संरचना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell