PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर



रासस

शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर

काठमाडौँ : व्यापार प्रवर्द्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा मिस नेपाल २०१८ लाई नियुक्त गरेको छ। 

बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए। यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनको छ। 

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ। 

सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरेका थिए। 

सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताइन्। 

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ। हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ। 

बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ। यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ। गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ। विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो। बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell