PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कर्णालीमा पनि सुत्केरी भैंसीलाई भत्ता 



पी बी खड्का

कर्णालीमा पनि सुत्केरी भैंसीलाई भत्ता 

सुर्खेत : कर्णालीमा पनि सुत्केरी भैंसीलाई स्याहार भत्ता रकम दिन शुरु गरिएको छ। पहिलो पटक सल्यानको कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा प्रोत्साहन स्वरुप कृषकलाई सुत्केरी भैँसी भत्ता वापत रकम दिइएको छ।
 
कुमाख गाउँपालिकाले कृषकलाई नगद २५ सय दिँदै आएको छ भने, बागचौर नगरपालिकाले तीन हजार दिन शुरु गरेको छ।

कृषकलाई थप प्रोत्साहन स्वरुप र कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम दिन शुरु गरिएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताए। गाउँ तथा नगरको सानो सहयोगले कृषकमा थप उर्जा आउने भन्दै आफुहरुले शुरुवात गरेको बताए।

‘कर्णालीको समृद्धिकै लागि हामीले सुत्केरी भैंसीको स्याहार सुसार वापत रकम दिने गरेका छौँ,’ उनले भने, ‘यो खासै ठूलो रकम पनि होइन। तर, कृषकलाई थप कृषि पेशामा उर्जा मिलोस् भनेर यसो गरिएको हो।’
 
भैँसी पालनका लागि सरकारले प्रोत्साहन गरे कृषिमा थप विकास पुग्ने बताए। स्थानीय स्तरमा दुग्धजन्य पदार्थमा समेत वृद्धि हुने भन्दै स्वस्थ र स्वच्छ खानपिन हुने उनको भनाई छ।
 
नगरपालिकाको वडा नं. ८ र ९ मा नगरप्रमुख सहितको टोली कृषकको घरमै गएर सुत्केरी भैंसीलाई नगद तीन हजारका दरले वितरण गर्दै आएका छन् । 

नगर कार्यपालिकाको निर्णय अनुसार यही महिनाको १ गतेदेखि सुत्केरी भैंसीलाई स्याहार सुसार वापत रकम दिएको हो। कृषकले भैंसीले पाडो/पाडी पाएको एक हप्ता भित्र कार्यालयमा निवेदन पेश गरे नगरका पदाधिकारी गोठमै गएर रकम दिने गरेका छन्।
 
भैँसीको पाडो/पाडी अनिवार्य भए नगरपालिकाको पशुंक्षी विकास शाखामा निवेदन दिनुपर्ने प्रावधान रहेको छ। पाडा पाडीको जन्मदर्ता समेत अब अनिवार्य गरिने भएको छ।
 
लगातार एक वर्षअघिदेखि भैंसी पाल्दै आएको हुनुपर्ने र यदि नगरपालिकाले अन्यत्रबाट किनेर ल्याएको भैंसीलाई यो सुविधा उपलब्ध नगराउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell