PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पद्मरत्न तुलाधरको अन्तिम नाटक मञ्चनसँगै नेपाल भाषा सहित्य नख: समापन



सहयोग रञ्जित

पद्मरत्न तुलाधरको अन्तिम नाटक मञ्चनसँगै नेपाल भाषा सहित्य नख: समापन

ललितपुर : दोस्रो नेपाल भाषा साहित्य नख: सम्पन्न भएको छ। 

शनिवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा पाटन दरबारको भन्दा: क्यबमा भएको कार्यक्रम उद्घाटन गरेका थिए। 

कार्यक्रममा नेपाल भाषाका तीनवटा किताब विमोचन गरिएको थियो। राजेन मानन्धरद्वारा लिखित 'हल हल बुंगद्य:', इन्द्र मालीद्वारा लिखित नेपालभाषा यासु धकू (नेपाल भाषाका क्रियापद) र भूषण प्रसाद श्रेष्ठको 'छन्द १०१ व नेवा: गजल' किताब विमोचन गरिएको थियो। विमोचन कार्यक्रममा शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, नेवा: अधिकारकर्मी मल्ल के. सुन्दर लगायत नेपाल भाषामा योगदान पुर्याशएका व्यक्तित्वहरुको उपस्थिति थियो।



बुंगद्य: (रातो मच्छिन्द्रनाथ) मा आधारित 'हल हल बुंगद्य:' तथ्यभन्दा आफ्नो कल्पनामा आधारित आख्यान रहेको लेखक राजेन मानन्धरले बताए। हालसम्म नेपाल भाषामा प्रकाशित भएका उपन्यासहरु ऐतिहासिक कथनमा आधारित रहेको उनले बताए। त्यसैले केही नयाँ प्रयोग स्वरुप आफूले यो किताबमा आख्यान प्रयोग गरेको मान्नधरले बताए। यता, मल्ल के सुन्दरले भने किताब आख्यान भएता पनि मुख्य पात्रलाई स्थापित गर्ने प्रयत्न लेखकले गरेको भए राम्रो हुने तर्क गरेका थिए। पात्रहरुबीच हुने द्वन्द्वले उपन्यासलाई जीवन्त बनाउने भन्दै मल्लले उपन्यासमा द्वन्द सिर्जना गर्न प्रयत्न गर्न सक्ने तर्क गरे। लेखक मानन्धरले भने उपन्यासमा नायकलाई स्थापित गराउने चलन पुरानो भएको भन्दै यो उपन्यासमा आफूले बच्चादेखि सुन्दै आएको कथालाई कल्पनामा बुनेको बताए। 

'नेपाल भाषा यासु धकू'  किताब विमोचन गर्दै सत्य मोहन जोशीले यो किताबले नेपाल भाषाको संरक्षण र उत्थान गर्दै नयाँ उचाई दिने बताए। भाषामा सबैभन्दा महत्वपूर्ण भनेको क्रियापद हुनेभन्दै जोशीले नेपाली भाषाका क्रियापदहरु हिन्दीकरण हुँदै गएको अवस्थामा नेपाल भाषामा प्रयोग हुने क्रियापदलाई अरु भाषाले सजिलोसँग ग्रहण गर्न सक्ने अवस्था नरहेको बताए। नेपाल भाषामा प्रयोग हुने क्रियापदले नेपालमण्डल सभ्यता बाचिरहने बताउँदै जोशीले हाल भाषिक रुपमा नेवार समुदायमा देखिएको विचलनलाई यो किताबमार्फत् कम गर्न सक्ने तर्क गरेका थिए। 


यस्तै 'छन्द १०१ व नेवा: गजल' का लेखक एवंम गजलकार भूषणप्रसाद श्रेष्ठले किताबमा १ देखि २६ अक्षरको गजल समावेश गरिएको बताए। किताबमा छन्दको परिचय छन्दमै, गद्यको व्याख्या गद्यमै र त्यही छन्दमा लेखिएको गजल समावेश छन्। उर्दुबाट गजल सुरु भएको बताउँदै उनले पहिला नेपाल भाषामा गजलहरु धेरै लेख्ने प्रचलन नरहेको तर अहिले भने गजल लेख्ने क्रम बढ्दै गएको दाबी गरे। 

किताब विमोचन क्रार्यक्रमपछि 'नेपालभाषा मञ्चन साहित्य' र 'नेपाल भाषाया सफूया बजा: व्यवस्थापन' (नेपाल भाषामा प्रकाशित किताबको बजार व्यवस्थापन) विषयमा छलफल गरिएको थियो। वक्ताहरुले नेपाल भाषामा ख्याल: (नाटक) प्रदर्शनमा कमी आएकोमा चिन्ता व्यक्त गरेका थिए। घरमै नेपाल भाषा बोल्ने र भाषा सिक्ने क्रम घट्दै गएकोले नाटकका लागि आवश्यक बजेट र जनशक्तिको अभाव भएकाले नाटकप्रति मोह घट्दै गएको उनीहरुको विश्लेषण थियो।

यस्तै, नेपाल भाषामा वार्षिक ८० वटा जति किताब प्रकाशित भएपनि नेवार समुदायमा नेपाल भाषामा प्रकाशित किताबहरुको पठन संस्कृति नभएकाले तिनीहरुको बजार व्यवस्थापनमा समस्या देखिएको विज्ञहरुको तर्क थियो। प्रकाशित किताबहरु लेखक वा प्रकाशकमा मात्रै सीमित रहेकाले पनि बजारमा नेपाल भाषामा प्रकाशित किताबका बारे मानिसहरुलाई ज्ञान नभएको उनीहरुको निष्कर्ष थियो।  

छलफलपछि करिब २० जनाले नेपाल भाषामा लेखिएका आफ्ना कथा, कविता र गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरणद्वारा लिखित 'ओम नम: शिवाय' मञ्चन गरिएको थियो। भगवान समेत काठमाडौंका मानिसहरुबाट हैरान भएको अवस्थालाई उक्त नाटक मार्फत् प्रस्तुत गरिएको थियो।



यस्तै, दिवंगत पद्मरत्न तुलाधरद्वारा लिखित अन्तिम नाटक 'जात: गुरु' मञ्चन गरिएको थियो। नेवारहरु सानोसानो कुरामा धेरै रिसाउने तर एकैछिन्मा गल्ने प्रवृत्तिलाई नाटकमा व्यंगात्मक रुपमा प्रस्तुत गरिएको थियो। 'फेसबुकमा सीमित नेवा: तं (रिस)' ले नेवारहरुको उत्थान नहुने र सिंहदरवारसँग लड्न उनीहरु समक्ष नहुने नाटकमा देखाइएको थियो। नेवार सभ्यताको रक्षा र संवर्द्धनका लागि नेवारहरुमा रहेको 'तं' लाई राज्यले गरेको दमन विरुद्ध प्रयोग गर्नुपर्ने तुलाधरद्वारा लिखित नाटकको निष्कर्ष थियो।

तुलाधर प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले लेखेको अन्तिम नाटक मञ्चनसँगै दोस्रो नेपाल भाषा साहित्य नख: समापन भयो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell