PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विश्व राजनीतिमा चलायमान चीन : सन् २०१८ भर केन्द्रमा रहेका चिनियाँ राष्ट्रपति २०१९ मा आउलान् त नेपाल?



विधुर ढकाल

विश्व राजनीतिमा चलायमान चीन : सन् २०१८ भर केन्द्रमा रहेका चिनियाँ राष्ट्रपति २०१९ मा आउलान् त नेपाल?

काठमाडौं : वर्ष २०१८ चिनियाँ राष्ट्रपति सी जिङपिङका लागि उच्चस्तरीय भ्रमण वर्षको रुपमा रह्यो। विश्वको आर्थिक शक्तिका रुपमा उदाउँदो चीनलाई बाहिरी विश्वसामु परिचित गराउनका लागि सी वर्षभर सक्रिय रहे। यसबीच उनले दर्जनौं विदेशी राष्ट्र तथा सरकार प्रमुखलाई बेइजिङमा स्वागत गरे। 

विश्व मञ्चमा उदाउँदो चीनको अर्थतन्त्रलाई अगाडि बढाउन राष्ट्रपति सीले उच्चस्तरीय प्रतिनिधिमण्डल टोलीको नेतृत्व गर्दै पूरै विश्वको भ्रमण गर्दै खर्बौँ डलरको लगानी र सहायताको प्रतिवद्धता गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा घोषणा गरेको ‘वान वेल्ट वान रोड’ (ओविओआर) हाल जसलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को नामले जानिन्छ, को प्रभावलाई अगाडि बढाउँदै चीनले विश्वका विभिन्न देशमा लगानी बिस्तार गरिरहेको छ। 

वर्षभर भारतीय प्रधानमन्त्रीसँगको संवाद
यस वर्ष उनले आफ्ना छिमेकी देशहरुलाई ‘इंगेज’ गराउँदै विश्व समक्ष कुटनीतिक सक्रियतालाई अगाडि बढाए। वर्ष २०१८ मा उनले एसियाको अर्को ठूलो अर्थतन्त्र तथा ठूलो आर्थिक प्रतिद्वन्द्वी भारतलाई पनि ‘इंगेज’ गराइराखे। 

वर्षको सुरुवातमै सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा स्वागत गरे। 

अप्रिलमा भएको अनौपचारिक सम्मेलनका क्रममा उनले मोदीलाई बुहानमा बोलाएका थिए। 

अघिल्लो वर्ष दोक्लम विवादले गर्दा चिसिएको दुई देशबीचको सम्बन्धलाई यो भेटले सुधार गर्ने काम गर्यो। 

राष्ट्रपति सीले मोदीलाई पुनः जुनमा सांघाई कोअपरेशन अर्गनाइजेसनको १८ औँ सम्मेलनका क्रममा स्वागत गरे। यस पटकको भेटवार्ता दुई नेताबीच द्वीपक्षीय थियो। यस भेटका क्रममा दुई नेताबीच दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुराउने सहमति भएको थियो। 

यसै वर्ष सी र मोदीबीच अर्को भेटवार्ता अर्जेन्टिनामा भयो। इमर्जिङ इकोनमिक ब्लकको अनौपचारिक छलफलका क्रममा उनीहरुबीच पुन: नोभेम्बरमा भेटवार्ता भयो। यो सम्मेलनका दौरान चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति माइकल टेमर, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। 

यसअघि राष्ट्रपति सीले मोदीलाई अघिल्लो वर्ष सेप्टेम्बरमा नै चीनमा स्वागत गरेका थिए। मोदी एक पटक ब्रिक्स सम्मेलनका क्रममा र अर्को पटक राजकीय भ्रमणका क्रममा चीन पुगेका थिए। 

सन् २०१८ को सुरुवातमै वुहान पुगेका मोदीले सन् २०१९ को सुरुवातमै राष्ट्रपति सीलाई वुहानमा जस्तै अनौपचारिक समिटका लागि समेत भारत भ्रमणको निम्तो दिएका छन्। 

यसैबीच राष्ट्रपति सीले भारतीय विदेशमन्त्रीसँग पनि बेइजिङ मै भेट गरेका छन्। सीले अप्रिलमा सांघाई कोअप्रेसनको बैठकमा सहभागी हुन पुगेका रुस, भारत, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजकिस्तान, उज्वेकस्तानका विदेशमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका थिए।
चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच अफ्रिकामा समेत भेटवार्ता भयो। ब्रिक्स आउटरिच सम्मेलनका क्रममा अफ्रिका पुगेका सी र मोदीबीच अफ्रिकामा भेटवार्ता भएको थियो। 

अधिकांश अफ्रिकी मुलुकका प्रमुखलाई बेइजिङमा रेड कार्पेट
आफ्नो महत्त्वकांक्षी योजना बीआरआई अन्तर्गत चीनले अफ्रिकामा लगानी बढाउँदै लगेको छ। यस क्रममा अधिकांश अफ्रिकी मुलुकका राष्ट्र/सरकार प्रमुखहरुलाई सीले बेइजिङको ग्रेट हल अफ पिपलमा स्वागत गरे। वर्ष २०१८ मा सीको प्रमुख चासो अफ्रिकी मुलुकहरु रहे। 

राष्ट्रपति सीले मार्चमा क्यामरुनका राष्ट्रपति पाउल वियालाई ग्रेट हल अफ पिपलमा स्वागत गरे। त्यस क्रममा दुई देशबीच लामो द्वीपक्षीय सम्बन्धलाई लगानी र विकासमा समेत जोड्दै लैजाने सहमति भयो। 

यसबीच चीनले बेइजिङमा फोरम अन चाइना–अफ्रिका कोअप्रेसनको सम्मेलन आयोजना गर्यो। सम्मेलनमा अधिकांश अफ्रिकी मुलुकका राष्ट्र प्रमुखहरु सहभागी भए। 

बुर्किना फासोका राष्ट्रपति मार्क क्रिस्टियन काबोरे, आइभरी कोस्टका राष्ट्रपति अल्साने ओउटारा, मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइटा, इजिप्टका राष्ट्रपति अब्देल फतेहा अल सिसी, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, माउरिटानियाका राष्ट्रपति मोहम्मद ओउल्ड अब्देल अजिज, डिजिबुटीका राष्ट्रपति इस्माइल उमार गुलेललाई बेइजिङमा चीनले ‘रेड कार्पेट’ बिच्छायो। 

त्यस्तै इथियोपियाका प्रधानमन्त्री अविय अहमद अली, अंगोलाका राष्ट्रपति जोआओ लोउरेन्को, बुरुण्डीका उपरराष्ट्रपति जोसेफ बुटोरे, केप भर्डेका प्रधानमन्त्री उलिसेस कोरिया, युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी, मोरोक्कोका प्रधानमन्त्री साद इडिने अल ओटमानी, ट्युनिसियाका प्रधानमन्त्री युसुफ छाहेड, तान्जेनियाका प्रधामन्त्री कसिम माजालिवा, टोगोका राष्ट्रपति फाउरो ग्नासिंबेलाई पनि सीले बेइजिङमा स्वागत गरे। 
त्यस्तै यसै वर्ष बेइजिङ पुग्नेमा अफ्रिकी मुलुक कंगोका प्रधानमन्त्री ब्रुनो सिवाला, लेसोथोका प्रधानमन्त्री मोत्सोआहे थोमस थाब्नेसमेत रहेका छन्। यस क्रममा सीले साना ठूला अफ्रिकी मुलुकहरुलाई बेइजिङमा स्वागत गर्दै विकास र लगानीमा साझेदारीको प्रतिवद्धता जनाएको छ। 
चाइना अफ्रिका कोअपरेसनको सम्मेलनमा सीले संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुर्टेरेसलाई पनि बेइजिङमा स्वागत गरे। 

यस वर्ष चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणमा अफ्रिकी मुलुकहरु पनि रहे। जुलाई २१ मा सेनेगलको भ्रमणमा पुगे। ९ वर्षपछि चीनबाट सेनेगल पुग्ने उच्चस्तरीय टोली थियो। उनले त्यहाँ सेनेगलका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरे। 

जुलाईमा चिनियाँ राष्ट्रपति अफ्रिकी मुलुकहरुको भ्रमणमा निस्किएका थिए। उनले दक्षिण अफ्रिका, रावडानको भ्रमण गरे। अफ्रिका भ्रमणकै क्रममा उनले टिर्कीका राष्ट्रपति रिसेप तैयपसँगसमेत भेट गरे। त्यस्तै उनी यस वर्ष युगाण्डा, मोरिससको भ्रमण गरे। 

यही यात्राको क्रममा राष्ट्रपति सीले युएईको भ्रमणसमेत गरे। उनले आबुधावीमा पुगेर त्यहाँका शेख मोहम्मद विन जैयद अल नह्यानसँग भेटवार्ता गरेका थिए। 

राष्ट्रपति सीले यसै वर्ष अप्रिलमा जिम्वावेका राष्ट्रपतिलाई बेइजिङमा स्वागत गरे।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता
यस वर्ष उनको अर्को उच्चस्तरीय कुटनीतिक भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको हो। गत वर्ष फ्लोरिडामा भएको भेटवार्तापछि दुई नेताहरु अर्जेटिनामा फेरि भेटिए। 

जी २० सम्मेलनका क्रममा उनीहरुबीच वर्षको अन्त्य, डिसेम्बर १ मा डिनर भेटवार्ता भयो। यी दुई नेताबीच कर विवादको समाधान गर्न ९० दिने कार्ययोजनाको विषयमा छलफल भयो। तर, भेटवार्ताको केही दिन पछि नै यो वार्ता विवादमा तानियो। 

अमेरिकाको निर्देशनमा क्यानडाले हुवावेका प्रमुख वित्त अधिकृतलाई प्रक्राउ गरेसँगै दुई देशबीच वार्ताको क्रमसमेत रोकिएको छ। 

उत्तर कोरियाली नेता किमको आकास्मिक चीन भ्रमण
यस वर्ष उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आकास्मिक रुपमा चीन झुल्किए। सन् २०११ मा उत्तर कोरियाको सत्तामा आएका उनको यो पहिलो विदेश भ्रमण समेत थियो। 

मार्चमा आकस्मिक रुपमा किम बेइजिङमा देखिए। उनी बेइजिङ आएको समाचार उनी फर्केपछि मात्र सार्वजनिक भयो। 

त्यस्तै उनी दोस्रो पटक पुनः मेमा चीन आए। यति बेला किम उत्तरी चीनको दलिनमा आइपुगेका थिए। उनीसँग भेटवार्ता गर्न चिनियाँ राष्ट्रपति सी त्यही पुगे।

किम तेस्रोपटक पुन जुनमा बेइजिङ आइपुगे। किमको यी चीन भ्रमण आफूमाथि लागेको नाकाबन्दी फुकाउन चिनियाँ सहयोगको खोजी थियो। किम अन्तर्राष्ट्रिय वातावरण आफ्नो पक्षमा पार्न चाहन्थे। यसैको प्रयास स्वरुप उनी एकै वर्ष तीन महिनाको अन्तरालमा तीन पटक चीन पुगे। 


जापानसँगको सम्बन्ध सुधारको प्रयास
यसैबीच राष्ट्रपति सीले जापानसँगको सम्बन्ध सुधारको प्रयास पनि गरे। यसै वर्ष सात वर्षपछि जापानबाट पहिलो पटक उच्चस्तरीय चीन भ्रमण भयो। जापानका प्रधानमन्त्री सिन्जो आवेलाई सीले बेइजिङमा स्वागत गरे। 

त्यस्तै राष्ट्रपति सी र जापानी प्रधानमन्त्री आवेबीच अर्जेन्टिनामा जी २० सम्मेलनका क्रममा नोभेम्बरमा साइडलाइन वार्ता भयो। 

रुससँग उच्चस्तरीय भ्रमणको आदान प्रदान
यसै वर्ष जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङको भ्रमण गरे। यो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले चीनको पहिलो फ्रेण्डसिप मेडलबाट सम्मान गरे। ग्रेटहलमा आयोजना भएको सम्मेलनमा उनलाई सीले सम्मान गरे। 

त्यस्तै चियिनाँ राष्ट्रपति सी सेप्टेम्बरमा रुसको भ्रमण गरे। उनी ३० घण्टे व्यस्त सेड्युल लिएर रुस पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे। राष्ट्रपति सी र पुटिनबीच यसैवर्ष दक्षिण अफ्रिकामा समेत भेटवर्ता भयो। 

वर्ष २०१८ मा बेइजिङले स्वागत गरेका विश्वका नेताहरु
यस वर्ष फेब्रुअरीमा चीनियाँ राष्ट्रपति सीले वेलायती प्रधानमन्त्री थेरेसा मेलाई स्वागत गरे। यी दुई बीच द्वपीक्षय भेटवार्ता भयो। सन् २०१५ मा सीको बेलायत भ्रमणपछि दुई देशबीच भएको यो उच्चस्तरीय भ्रमण थियो। 

फेब्रुअरीमै चीनले डेनमार्कका राजा विलियम अलेक्जेण्डरलाई बेइजिङमा स्वागत गर्यो। डेनमार्कका राजा राजनीलाई चिनियाँ नयाँ वर्षको पूर्व सन्ध्यामा सीले बेइजिङमा स्वागत गरे। यस क्रममा दुई देशबीच बीआरआईमा साझेदारी गर्ने विषयमा सहमति भयो। सीले यस अघि २०१४ मा नेदरल्याण्डको भ्रमण गरेका थिए। 

त्यस्तै यसै वर्ष मार्चमा सीले टोंगाका राजा टुपोउ पाँचौँलाई बेइजिङमा स्वागत गरे। उनी मार्च १ मा बेइजिङ पुगेका थिए। यसै वर्ष दुई देशले कुटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षगाँठ मनाए। 

अप्रिलमै राष्ट्र संघका महासचिव बेइजिङमा पुगेका थिए। त्यस्तै अष्ट्रियाका राष्ट्रपति अलेकजेण्डर भान पनि अप्रिलमै बेइजिङ पुगे। 
चीनले यस वर्ष बोआओ फोरमका क्रममा विदेशी राजनेताहरुलाई पनि स्वागत गर्यो। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथसँग बोआओमा राष्ट्रपति सीले भेटवार्ता गरे। त्यस्तै मे मा राष्ट्रपति सीले ट्रिनीडाड एण्ड टोबागोका प्रधानमन्त्रीलाई स्वागत गरे। 

मे मै जर्मन चान्सलर एञ्जेला मर्केल बेइजिङ पुगिन्। यो मर्केलको ११ औँ चीन भ्रमण थियो। मे महिना मै राष्ट्रपति सीले बेलायतका राजकुमारलाई पनि स्वागत गरे। मे मै चिनियाँ राष्ट्रपति र लओसका राष्ट्रपतिबीच भेटवार्ता भयो। 

जुनमा किर्गिस्तानका राष्ट्रपति बेइजिङ पुगे। त्यस्तै ताजाकिस्तानका राष्ट्रपति इमोमाली रहमान, बेलारुसका राष्ट्रपति अलेक्जेण्डर कुकाशेन्को, अफगानस्तानका राष्ट्रपति अर्सफ घानी, पपुआ न्यूगीनीका प्रधानमन्त्री पिटर ओ’निलसँग राष्ट्रपति सीको बेइजिङमै भेटवार्ता भयो।

जुनमै चिनियाँ राष्ट्रपति सीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरेका थिए।

यसैवर्ष जुन २५ मा फ्रान्सका प्रधानमन्त्री फिलिपे बेइजिङ पुगे। अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यसै वर्ष जुन २७ मा बेइजिङमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए। 

जुलाईमा कुवेतका आमिर शेख सहबाह अल अहमद अल जाबेर अल सबाह बेइजिङ पुगे। उनलाई राष्ट्रपति सीले ग्रेट हल अफ पिपलमा स्वागत गरे। त्यस्तै कम्बोडियाका राजा राजनीले पनि यही वर्ष चीनको भ्रमण गरे। 

यसै वर्ष सेप्टेम्बरमा भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले बेइजिङको भ्रमण गरे। 

त्यस्तै अल साल्भाडोरका राष्ट्रपति सान्चेज सेरेन र चिनियाँ राष्ट्रपति सीबीच बेइजिङमै नोभेम्बरको सुरुवातमै भेटवार्ता भयो। 
यही महिना इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो बेइजिङ पुगे। 

राष्ट्रपति सीको विदेश भ्रमण
यस वर्ष सीको विदेश दौडाहको पनि लामै फेरिस्त छ। उनी यसै वर्ष जुलाईमा युएई पुगे। उनले त्यहाँ त्यहाँका राजकुमार शेख मोहम्मद विनसँग भेटवार्ता गरे। 

त्यस्तै उनी पपुआ न्यूगिनीको पनि यसै वर्ष भ्रमण गरे। यस वर्ष सी स्पेन पनि पुगे। उनले स्पेनको त्रिदिवसीय भ्रमणका क्रममा त्यहाँका राजा, स्पेनका प्रधानमन्त्रीसँग भेटवार्तासमेत गरे। यसै वर्ष पानामासमेत पुगे। उनी डिसेम्बरमा पानमा पुगेका थिए। अर्जेटिनाबाट फर्किने क्रममा उनी पानामा पसेका हुन्। 

त्यस्तै सी सोही बाटो भएर पोर्चुगल पनि पुगे। त्यहाँ उनले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेवेलोसँग भेटवार्ता गरेका थिए। 

अपेक्षा नेपाल भ्रमणको 
नेपालले वर्ष २०१८ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो। यही वर्ष नेपालले भारतीय प्रधानमन्त्री मोदीसहितका केही उच्च स्तरीय नेतालाई काठमाडौंमा स्वागत गर्यो। तर, यस वर्ष पनि चिनियाँ राष्ट्रपति सीलाई काठमाडौंमा स्वागत गर्न भने सकेन। 

सन् २०१८ मा नेपाल बाहेक १३ देशको भ्रमण गर्दा चीनको छिमेकी तथा दक्षिण एसियामा रणनीतिक महत्त्व राख्ने देश नेपालको भ्रमण भने गरेनन्। एशिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका र ओसेनिया, गल्फ राष्ट्रहरुको भ्रमण गरे पनि सीको भ्रमण सूचीमा नेपाल अटाएन। 

उनको यस वर्षको अहिलेसम्मको अन्तिम भ्रमण पोर्चुगल बन्यो। अब अर्को वर्ष मार्च देखि राष्ट्रपति सी विदेश भ्रमणमा निस्किने तयारीमा छन्। २०१८ मा नेपाल भ्रमणको सम्भावना टरेको अवस्थामा नेपाल र चीनले आफ्नो कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन्। यस्तोमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने अपेक्षा राखिएको छ। 

बेइजिङस्थित नेपाली दूतावास र काठमाडौं स्थित चिनियाँ दूतावासले पनि यसको लागि सक्रियता बढाएका छन्। त्यस्तै चीनले नेपालमा नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयकी एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल होउ यान्छीलाई नेपाल पठाउँदैछ। 
उनको नियुक्ति सीको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell