PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विकास निर्माण ठप्प, फलामे रडको भाउ लगातार ओरालो



अनन्तराज न्यौपाने

विकास निर्माण ठप्प, फलामे रडको भाउ लगातार ओरालो

विराटनगर : सरकारले विकास खर्च गर्न नसकेको असर फलामे डन्डीका उद्योगमा देखिएको छ। विराटनगरका डन्डीका दुई ठूला उद्योगले उत्पादनमा ४० प्रतिशतले कटौती गरेका छन्।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पशुपति आइरन र कमला रोलिङ मिल्सले उत्पादनमा कटौती गरेका हुन्। पशुपति आइरनका अशोक मुरारकाले तीन महिनायता डन्डीको  उत्पादनमा उल्लेखनीय रूपमा कटौती गर्नुपरेको पुष्टि गरे। दैनिक २० घण्टा सञ्चालन गरिने पशुपति आइरन हाल १२ घण्टामा सीमित रहेको उनले बताए। कमला रोलिङले पनि आफ्नो उद्योगको उतपादनमा कटौती गर्नुपरेको जनाएको छ।

‘बिक्री पनि यही अनुपातले घटेको छ, ३० देखि ४० प्रतिशत,’ उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्षसमेत रहेका अशोकले भने, ‘उत्पादन र बिक्री सँगसँगै डन्डीको मूल्यमा पनि ह्रास आएको छ।’ निर्माण क्षेत्रको बजारमा सिमेन्टको पनि मूल्य र बिक्री घटेको उल्लेख गर्दै मुरारकाले डन्डीसमेत सँगसँगै उत्तिकै प्रभावित भएको उल्लेख गरे।

‘जसले जे भने पनि मन्दी आउनुको ७० प्रतिशत कारण सरकारको विकास खर्च हुन नसक्नु नै हो,’ उनले भने, ‘त्यसपछि मात्र अरू कारण आउँछन्। हामीले मुख्य बिक्री वितरण नै सरकारका योजना र निर्माणलाई गर्ने हो, जुन चालु आर्थिक वर्ष सुरु भएपछि ठप्पजस्तै छ।’

‘यस वर्ष जनताले घरको निर्माणमा पनि सुस्तता देखाएका छन्, यसका केही धार्मिक कारण छन्,’ अशोकको भनाइ थियो, ‘सुरुमा अधिक मास थियो र यस्तो बेलामा घर निर्माणको साइत निस्कँदैन। असोजपछि पालैपालो बृहस्पति र शुक्र अस्त भए। यस्तो बेलामा पनि गृह निर्माण सुरु गरिँदैन। पहिलेका वर्षभन्दा यस वर्ष व्यक्तिका घर निर्माणमा सुस्तता छ।’

मुरारकाका अनुसार यति बेला डन्डीको मागभन्दा आपूर्ति धेरै छ। नेपालमा डन्डीको वार्षिक खपत १२ लाख मेट्रिक टन रहेको छ भने अहिलेको मौज्दात २० लाख मेट्रिक टन छ। यही वर्ष मोरङमा फलामे डन्डीका २ ठूला उद्योग खुलेका छन्। शारडा र राठी समूहको प्रिमियर स्टिल र आरती स्ट्रिप्सले टिएमटी रडको उत्पादन सुरु गरेका छन्। मोरङमै राजेन्द्र राउत र रमेश राठीको समूहले अर्को डन्डी उद्योग लगाइरहेको छ। यसबाहेक पश्चिम नेपालमा डन्डीका उद्योगको बाढी नै आएको छ। यसले गर्दा मागभन्दा आपूर्ति धेरै भएको अशोकको तर्क छ।

अन्तर्राष्ट्रिय बजार र डलरको दरभाउमा आएको उतार–चढावले मन्दीलाई केही मद्दत गरेको उनको विचार थियो। मुरारकाको कथन थियो, ‘हामीले डन्डीको कच्चा पदार्थ बिलेट ल्याउने मुख्यतः भारतबाट हो। भारतमा बिलेटको मूल्यमा प्रति किलोग्राम १ देखि २ रुपैयाँ सम्मले ह्रास आयो। यसको असर यहाँ ३ देखि ४ रुपैयाँले पर्छ। त्यस्तै अमेरिकी डलर पनि ११८ सम्म पुगेर ११२ मा झर्‍यो।

नेपालका डन्डी उद्योगले कम्तीमा ४५ दिनका लागि कच्चा पदार्थ मौज्दात राख्नैपर्छ। डलरको मूल्य ११८ हुँदा खरिद गरिएको कच्चा पदार्थको मार अब देखिने छ। अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलरको दरमा एकै पटक देखिएको असरले पनि डन्डीको मूल्यलाई प्रभावित बनाएको हो। प्रति किलोग्राम ५ देखि ६ रुपैयाँ कम्ति मूल्यमा डन्डीको बिक्री गर्नु परिरहेको छ।’

गोयल हार्डवेयरका राजकुमार गोयलले डन्डीको बिक्रीमा ४० प्रतिशतले मन्दी आएको बताए। राजकुमारले भने, ‘सिमेन्टजस्तै डन्डीको बजार पनि चौपट छ। ४० प्रतिशतले बिक्री घटेको छ र मूल्यमा पनि ह्रास आएको छ।’ गोयलका अनुसार ३ महिनापहिले डन्डीको कारखाना मूल्य प्रति किलोग्राम ७५ रुपैयाँ र १३ प्रतिशत भ्याट थियो, अहिले ७० देखि ७१ रुपैयाँमा भ्याट छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell