PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रिसमस मनाउन इटाली हिँड्यो मेलम्ची निर्माणको ठेक्का पाएको कम्पनी सिएमसी दी रिभेन्ना



पहिलोपोस्ट

क्रिसमस मनाउन इटाली हिँड्यो मेलम्ची निर्माणको ठेक्का पाएको कम्पनी सिएमसी दी रिभेन्ना

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको मुख्य जिम्मा पाएको इटालियन कम्पनी सिएमसी दी रिभेन्नाको टोली ठेक्का तोड्दै क्रिसमस मनाउन इटाली गएको छ। क्रिसमस सकिएपछि काममा फर्किने प्रतिवद्धता भने कम्पनीले जनाएको छ। 

टाट पल्टिएको भन्दै एकलौटी रुपमा ठेक्का रद्द गरेको कम्पनी पुन: विना शर्त काममा फर्किन तयार भएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार बैंक ग्यारेन्टीबापत राखिएको रकम जफत गर्न लागिएपछि सिएमसी बाँकी काम गर्न तयार भएको हो।

सिएमसीले मेलम्ची खानेपानी विकास समितिलाई गत  आइतबार ठेक्का रद्द गरेको पत्र पठाएर इटाली भाग्न खोजेको थियो। भाग्न खोजेका कर्मचारीलाई समातेर  बैंक ग्यारेण्टी बापतको रकम रोक्नका लागि पत्राचार गरिएको थियो। बैंक ग्यारेण्टी बापतको रकम रोकिएपछि सिएमसीले ठेक्का रद्द गरेको पत्र फिर्ता लिएर काममा फर्किन तयार भएको सचिव ठाकुरले जानकारी दिए।

सिएमसीले भूकम्प र नाकाबन्दीका कारण समय र लागत बढी लागेको भन्दै करिब १ अर्ब रुपैयाँ भेरियसन हालेको थियो। अध्ययन गरेर डिस्प्युट बोर्डले ३५ करोड रुपैयाँ दिनुपर्ने निर्णय गरेको थियो।

तर, नियमानुसार ठेक्का सम्पन्न गरेपछि मात्रै ठेकेदारले भेरियसन पाउने भनेर मेलम्ची खानेपानी विकास समितिले निर्णय गरेपछि ठेकेदारले काम नगर्ने भन्दै ठेक्का रद्द गरेको पत्र पठाएको थियो।  कम्पनीले  यस अघि नै गत शुक्रबारसम्ममा पैसा नपाए ठेक्का रद्द गर्ने बताउँदै आएको थियो।

ठेक्का रद्दको पत्र पठाएपछि खानेपानी आयोजनाले काममा फर्किए भेरियसन रकम  तत्कालै निकासा गरिदिने भएपछि सिएमसी काममा फर्कन लागेको हो।

मेलम्ची खानेपानी विकास समितिका सिडिई अनुसार सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएर क्रिसमस मनाउन  इटाली गएका छन्। 'क्रिसमस मनाएर फर्किएपछि काम सुरु गर्छौ भनेका छन्।' उनले भने, साइटमा अहिले आयोजनाको कुनै काम हुन सकेको छैन।

सिएसमीले पैसाको समस्या देखाउँदै सहायक ठेकेदारहरुलाई समेत भुक्तानी दिएका छैनन्। नेपाली निर्माण सामाग्री आपुर्ती गर्ने कम्पनी समेत सिएमसीले भुक्तानी नदिएपछि अप्ठ्यारोमा परेका छन्।

साइटमा सबै निर्माण सामाग्रीसमेत  सकिएको र पैसाको अभाव भएपछि  कामै रोकेर कम्पनी हिँडेको समितिले जनाएको छ। सिडिई पन्तका अनुसार  कहिलेदेखि काम सुरु हुन्छ भन्ने यकिन भने भएको छैन। 

सिएमसी इटालीको प्रसिद्ध कम्पनी हो, जसले सुरुङमार्ग, हाइड्रोपावर, सडक संजाल ,बन्दरगाह निर्माण लगायतका कामहरु गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell