PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यःमरी - नेवार समुदायको एउटा परिकार जुन सबैलाई मनपर्छ तर परिवर्तन हुँदैछ समयसँगै



सहयोग रञ्जित

यःमरी - नेवार समुदायको एउटा परिकार जुन सबैलाई मनपर्छ तर परिवर्तन हुँदैछ समयसँगै

'वा पासा वा वा सकलें वा
छेँखापतिं य:मरी फ्वं वनेवा
त्यःछिं त्यः बक छिं त्यः
लातापाता कुलिंचा जुस्सें त्यः ' 


नेवार समुदायमा य:मरी पुन्हीका दिन यस्तै गीतहरु गाउँदै य:मरी माग्न जाने प्रचलन रहेको छ। 

'यःमरी च्वामु, उकी दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति' (मनपर्ने रोटी चुच्चो छ, त्यसभित्र कालो छ, दिने जवान, नदिने बूढी)  भन्दै य:मरि माग्न जाने बेला युवायुवती एकअर्कालाई जिस्क्याउने समेत गर्छन्। 

तर सामूहिक रुपमा जम्मा हुँदै य:मरी माग्न जाने प्रचलन आजकल हराउँदै गएको छ। विशेष अवसर र समयमा मात्रै बनाइने य:मरी अहिले बाह्रै महिना पाउन सकिन्छ। नेवार समुदायको परिचय बनेको य:मरी  व्यवसायिक हुँदै गएकाले पनि य:मरी माग्न जाने चलन विस्तारै कम हुँदै गएको हो।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश (पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र उनकी श्रीमती बस्थे। वैश्य सम्प्रादयका उनीहरू निकै दयालु थिए। उनीहरुले गरेको दान देखेर कुबेरसम्म आश्चर्यमा परे। एकदिन कुबेरलाई सुचन्द्र दम्पत्तिको दयालुपन जाँच्न मन लागेछ। कुबेरले गरिबको रूप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछ। महाजन दम्पत्तिले कुबेरलाई अन्न, धान लगायत जति सक्दो त्यति दान गरेछन्। यो देखेर कुबेरको मन पग्लेछ।  

गरिबको रुपबाट कुबेर आफ्नो वास्तविक रुपमा आउँदै उनीहरुलाई य:मरी बनाएर बिमिरोसँगै ढुकुटीमा राखी चार दिनपछि निकाल्नु भनेछ। चार दिन पछि हेर्दा य:मरी र बिमिरोहरु सुन भइरहेका रहेछन्। त्यसपछि ती महाजन दम्पत्तिले झन् धेरै दान दिन सुरु गरेछन्। 
कुबेर महाजन कहाँ माग्न आएको दिन अर्थात मंसिर शुक्ल पूर्णिमाको सम्झनामा य:मरी माग्ने प्रचलन सुरु भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

हाल य:मरी माग्ने चलन हराउँदै गएकोमा भने उनले चिन्ता व्यक्त गरे। भने, 'देउसी भैलो सबैलाई थाहा छ। नेवारहरुले समेत देउसी भैलो मनाउन थाले तर आफ्नै संस्कृति बिर्से। य:मरी माग्न टाढा जाने पनि होइन। आफ्नै दाजुभाइ, छिमेकी कहाँ जाने हो। यो भाइचारा बढाउने पर्व हो। माग्नुभन्दा पनि यो एक अर्कासँग य:मरी साटासाट गर्ने पर्व हो।'

यता, नेवारहरुमा माग्ने संस्कार नै नरहेको भन्दै य:मरी माग्ने प्रचलन विकृति रहेको बताउँछन् संस्कृतिविद् विनोदराज शर्मा राजोपाध्याय। उनका अनुकार य:मरी माग्ने गीतहरु बालबच्चाहरुलाई य:मरी बारे बुझाउन र उनीहरुलाई भुलाउन सिर्जना भएको हो। पछि युवायुवतीहरुले ती गीत गाउँदै य:मरी माग्दै हिँडे। 

उनी भन्छन्, 'माग्ने संस्कार नेवार सभ्यतामा छैन। सबै कामका लागि आफन्त, छिमेकी चाहिन्छ भन्ने मान्यता रहेकाले सबैजना एकै स्थानमा भेला भएर य:मरी बाड्ने गरिन्थ्यो। सुखदुःखका कुरा हुन्थ्यो।'

य:मरी एउटा सभ्यता भएको भन्दै उनले य:मरी माग्ने नाममा कसैलाई गाली गर्ने होच्याउने समेत भएकाले त्यसले संस्कृतिमा विकृति ल्याउने बताए। 

विनोदराजका अनुसार पहिला रोटीका नाममा सुख्खा रोटी मात्रै बन्थ्यो। अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएन। पछि आफैसँग भएका खाद्यान्नको उपयोग गरी नेवारहरुले य:मरीको विकास गरे। त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर लतू आकारको चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास भएको शर्माको कथन छ। यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएको यसको नाम 'यगु मरी' हुँदै हाल 'य:मरी' रहन गएको उनले बताए। 

उनले भने, ' कृषि प्रधान समाजको सूचक हो य:मरी। त्यसबेला हामी कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो गर्थ्यौं । अरुसँग माग्नुपर्ने अवस्थान नै थिएन। य:मरी त्यही आत्मनिर्भताको आविस्कार हो। य:मरी माग्ने भन्नेकुरा नै गलत हो। यो नेवारहरुले बुझ्नुपर्छ।' 

व्यवसायिक बन्दै य:मरी  

नक्साल भगवती बहाल नजिकै रहेको 'न्यू भगवती मरी ढुकु' मा १२ महिना य:मरी बन्न थालेको करिब १२ वर्ष भयो। पहिला मिठाइ र अन्य रोटीहरु बेच्ने सो पसलमा शान्ति राजकर्णिकार र मुकुन्द राजकर्णिकारले केही नयाँ सुरुवात गर्ने भन्दै य:मरीलाई व्यवसायिक बनाउने निधो गरे। 

पहिला पहिला य:मरीको व्यापारमा अलि कम भएपनि विस्तारै य:मरीले ग्राहकहरुको मन जित्न सुरु गरेको उनीहरु बताउँछन्। शान्ति र मुकुन्दका छोरा मायुष राजकर्णिकारले भने, 'यो एउटा नयाँ प्रयोग थियो। हामी सफल भयौं। हाल अरुले पनि य:मरी बेच्न थालेका छन्। खुसी लाग्छ।' 

य:मरी ले नेवार संस्कृतिलाई विस्तार गरिरहेको उनको बुझाइ छ।'

हाल भटभटेनी सुपरमार्केटमा पनि दुई वटा यःमरीको प्याक सय रुपैयाँमा किन्न पाइन्छ। 

तर, ओम धौभडेल भन्छन् 'य:मरी किनबेच गर्ने वस्तु नै होइन। यो त दान गर्ने खानेकुरा हो। य:मरीलाई व्यवसायिक बनाएपनि त्यसको मौलिकता कायम हुनुपर्छ।' 

हाल १२ महिना य:मरी बनाउन थालिए पनि य:मरिले शरीरलाई तातो बनाउने हुँदा यसको उपयोगिता चिसो महिनामा बढी हुने धौभडेल बताउँछन्। गर्मी महिनामा तातोतातो य:मरी खाए त्यसले स्वास्थ्यमा असर पार्न सक्ने उनको भनाई छ। 

तर समय र समाज दुवै परिवर्तन भइसकेको छ। रेष्टुराँदेखि क्याफेसम्म 'रेडिमेड य:मरी' बन्न थालेका छन्। प्राय चाकु, तिल र खुवाको य:मरी बनाइने भएता पनि हाल भने मासु, मास लगायत अन्य पदार्थ राखेर य:मरी बनाउने गरिएको छ।

विनोदराज भने य:मरी व्यवसायिक हुन नराम्रो नभएको बताउँछन्। त्यसले य:मरी लाई जीवन्त बनाउने काम गरेको उनको तर्क छ। तर य:मरी बनाउने नाममा य:मरी को स्वरुप, रंग वा त्यसभित्र राखिने पदार्थमा परिवर्तन गर्न नहुने उनको मत छ। 

उनले भने,' य:मरी बनाउनु भनको लक्ष्मी भित्राउनु हो। खेती गरेर आएको चामलको पहिलो पिठोबाट य:मरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो। आधुनिकीकरणसँगै य:मरीमा आउने परिवर्तनले य:मरी को माग त बढाउला तर मौलिकता भने हराउँछ।।'

य:मरी बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ 

य:मरी चामलको पिठोबाट बनाइन्छ। तर, भक्तपुरमा दशैंको महाअष्टमीका दिन कालरात्रीमा तलेजु मन्दिरमा विशेष प्रकारको य:मरी तयार हुन्छ। १०८ वटा गहुँको पिठोले बनाइएको य:मरी त्यस दिन तलेजु भवानीलाई चढाइन्छ। चामलको पिठोबाट बन्ने य:मरी तिल, चाकु, खुवाको प्रयोग गरी बफाउने गरिन्छ। 

तर तलेजुमा सो दिन गहुँको पिठोबाट बन्ने य:मरीभित्र घ्यु राखिन्छ। स्वरुपमा य:मरी जस्तै भए पनि त्यसलाई बफाउने गरिदैन। घ्यु राखेर तयार पारिएको य:मरी लाई बांकी रोटीहरु जस्तै घ्युमै तारेर बनाइन्छ। य:मरी बाहिर चिनी वा शखर ढलिन्छ। 

तलेजु भवानी मन्दिर राजाहरुको आगम घर हुने भएकाले देवीलाई केही विशेष चढाउने राजाले सर्वसाधारणको घरमा पाक्ने य:मरी भन्दा पृथक र विशेष य:मरी तलेजुलाई चढाउने गरेको कथन छ।  

भक्तपुरका धौभडेलहरुको घरमा य:मरी पुन्हीका दिन य:मरी पकाइँदैन। यसको कारण पनि रोचक छ। पहिला धौभडेलहरुको परिवार वृहत थियो। धेरै परिवार एकै घरमा बस्थे। एउटै भान्छाबाट काम चलाउँथे। 

य:मरी पुन्हीका दिन बिहानैदेखि बुहारीहरुको काम य:मरी बनाइरहनु मात्रै हुन्थ्यो। घरका मान्छेहरु भान्छामा आउने र पकाएको य:मरी खाने गर्थे। जति य:मरी बनाए पनि नपुग्ने। बुहारीहरु य:मरी बनाउनमै व्यस्त। 

सबै य:मरी सकेपछि भने घरको थकाली आफ्नो नित्यकर्म सकाएर भान्छामा आएछन्। बुहारीहरुसँग य:मरी मागेछन्। बुहारीहरुले य:मरी सकेको बताए। य:मरी पुन्हीकै दिन एउटा य:मरी खान नपाएको थकाली र बिहानदेखि काम गर्दै आएका बुहारीहरुबीच त्यस विषयलाई लिएर भनाभन भएछ। 

पछि थकालीले अबदेखि य:मरी पकाए आफ्नो टाउको पकाएको सरह हुनेछ भनेर श्राप दिएछन्। 

त्यसबेलादेखि य:मरी पुन्हीका दिन धौभडेलहरु कहाँ य:मरी नपकाएको कथन छ। त्यसदिन आफन्त, छिमेकीहरुले य:मरि धौभडेलहरुलाई य:मरी दिन ल्याउने चलन छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell