PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ने क पासँगै एकतामा जोडिनुस् भन्ने चीनको सुझाव थियो- सीपी गजुरेल



पहिलोपोस्ट

ने क पासँगै एकतामा जोडिनुस् भन्ने चीनको सुझाव थियो- सीपी गजुरेल

देशमा दुई तिहाइको कम्युनिस्ट सरकार छ। अर्कोतिर साना छरिएर रहेका कम्युनिस्ट घटकहरु भने सरकारको विरोधमा उत्रिएका छन्। भर्खरै मात्र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले संघर्षलाई जोड दिएको छ। सोही पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले पनि आन्दोलनको घोषणा गरेको छ। यही सन्दर्भमा सरकारको समीक्षा, आन्दोलनको औचित्यका विषयमा क्रान्तिकारी माओवादीका नेता तथा देजमोका अध्यक्ष सिपी गजुरेलसँग विधुर ढकालले गरेको कुराकानी:

 

एउटा राजनीतिज्ञको नजरबाट तपाईँले अहिलेको राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गर्नुभएको छ?

राजनीतिक घटनाक्रम एकदम गलत दिशातिर अगाडि बढिरहेको छ। विभिन्न कोणबाट हेर्दा हाम्रो देश खतरनाक स्थितितिर अग्रसर भइरहेको छ। खासगरी दुई तिहाइ बहुमतको सरकारले लिएका नीतिहरूले देशलाई बर्बाद गराउँदै छ। बाह्य हस्तक्षेप बढेको छ। हाम्रो ठूलो भूभाग भारतको नक्सामा मिलाउँदा पनि सरकारले केही बोल्दैन। महंगी थेग्न गारो हुने गरी वृद्धि भएको छ। कर बढाइएको छ। यति धेरै कर वृद्धि भएको छ कि जनताले थेग्न सक्ने अवस्था छैन।

असुरक्षा बढेको छ। खासगरी किशोरीहरुको,अब हरेक आमाबाबुहरुले आफ्नी हुर्केकी छोरी स्कुल कलेज पठाउने बेला पठाउँ कि नपठाउँ भनेर एकपटक सोच्नुपर्ने भएको छ। तस्करीका लागि नेपाल स्वर्ग भयो। सुरुमा साढे ३३ केजी सुन भन्थे अब उनीहरूले साढे ३८ क्विन्टल आइपुगेछ। त्यो सुन कता गयो? कलकत्ता पुगिसकेछ। कलकत्ता कसले पुर्‍यायो? कलकत्ता पुराउनलाई कसले सहयोग गर्‍यो?

शिक्षा र स्वास्थ्यमा माफियाकरण पनि तीव्र रूपमा बढिरहेको छ। यी सबैलाई केलाउँदा खेरी नेपाल भयावह स्थितिमा छ।

क्रान्तिकारी माओवादीले पहिलेदेखि नै यो सरकारलाई प्रतिक्रियावादी सरकार भन्दै आएको हो। यो व्यवस्था पश्चगामी भएकोले यसले देशमा समृद्धि ल्याउन सक्दैन भनेर हामीले भनेकै हौँ। अब त्यही कुरा व्यवहारबाट पुष्टि भएको छ। विगत ९ महिनामा यसले ठूलो राष्ट्रघात गरेको छ। बेरोजगारी उत्तिकै छ। भ्रष्टाचारले सीमा नाघेको छ। यो जनविरोधी सरकार हो भन्ने हाम्रो मूल्याङ्कन हो।

 

एकातिर कम्युनिस्टको दुई तिहाईको सरकार छ। अर्कोतिर तपाईँहरु कम्युनिस्ट नै सरकारकै विरोधमा हुनुहुन्छ। के अन्य विरोधी शक्ति फेला नपरेर कम्युनिस्टकै विरोध गर्नुपर्ने अवस्था आएको हो?

यो कम्युनिस्टको नाममा कम्युनिस्ट आन्दोलन सिद्धाउने अभियान हो। यो कम्युनिस्ट आन्दोलनमा नयाँ कुरा पनि होइन। धेरै पहिलेदेखि नै यस्तो हुँदै आएको हो। यो मार्क्सको पालादेखि नै हुँदै आएको हो। बर्नस्टिनदेखि कावस्किसम्मले यही परम्परा कायम राखे। पछि लेनिनले यसलाई स‌ंशोधनवाद भन्नु भयो। संशोधनवाद भनेको के हो भने, कम्युनिस्टको नाम राखेको कम्युनिस्टको खास्टो ओढेको पूँजीवाद हो। अहिले माओवादी केन्द्र र एमाले मिलेर जुन पार्टी बनेको छ। त्यसलाई हामीले कम्युनिस्ट पार्टी नै भनेका छैनौँ। कम्युनिस्ट पार्टीको कुनै पनि आदर्श त्योसँग छैन।

उनीहरूले आफ्नो लक्ष्य नै बदलिसकेका छन्। कम्युनिस्टहरूको लक्ष्य साम्यवाद हुन्छ। उनीहरूले कहिल्यै साम्यवाद भनेका छन्? उनीहरूले त लक्ष्य संसदीय व्यवस्थालाई आदर्श मानेका छन्। साम्यवादलाई आदर्श मान्दैनन्। उनीहरूले यही बुर्जुवा गणतन्त्रलाई सबैभन्दा ठूलो उपलब्धि ठान्छन्। हाम्रो लागि जनगणतन्त्र हो। जनगणतन्त्र हुँदै साम्यवाद तर्फ हो। त्यसैले उनीहरूसँग हाम्रो लक्ष्य पनि मिल्दैन। तत्कालको कार्यदिशा पनि मिल्दैन। उनीहरू कम्युनिस्टको खोल ओढेर कम्युनिस्टलाई सिद्धयाउने पार्टी हुन्। उनीहरूसँगको हाम्रो सङ्घर्ष स्वाभाविक सङ्घर्ष हो। नाम कम्युनिस्ट राख्दैमा हुँदैन। व्यवहारले पनि हुनुपर्छ। उनीहरू व्यवहारले प्रतिक्रियावादी नै हुन्। प्रतिक्रियावादीसँग लड्दा कहीँ कम्युनिस्टको नामको होला कहीँ कांग्रेसको नामको होला।

 

एकतातिर तपाईँले भनेका प्रतिक्रियादी कम्युनिस्टहरू एउटा ठूलो ढिक्कामा छन्। साना कम्युनिस्टहरू जसलाई तपाईँले क्रान्तिकारी भन्नुहुन्छ, उनीहरू विभक्त रूपमा छन्। यो द्वन्द्वमा साना कम्युनिस्टहरू विलय हुने देखिन्छ। कसरी उभिनुहुन्छ?

हो सत्य यही हो अहिले क्रान्तिकारी कम्युनिस्टहरू साना र कमजोर छन्। तर बलियो र कमजोर सापेक्ष हुँदैन। हाम्रो पार्टी तुलनात्मक रूपले कमजोर नै छ। ने क पा ठूलो छ। तर राजनीतिमा उनीहरू रक्षात्मक छन्। हामी आक्रमक छौँ। हामीले यो सरकारले राष्ट्रघाती र जनघाती काम गर्‍यो भनिरहँदा पहिला-पहिला मान्छेहरुलाई पचिराखेको थिएन्। हामीले पूर्वाग्रह राखेर भनेको भन्थे। तर,आज उनीहरुकै पार्टीमा हेर्नुस् न। उनीहरूको स्थायी कमिटीको बैठकमा हामीले भन्दा चर्को विरोध त्यहीबाट भइरहेको छ। अब भन्नुस् त्यो पार्टी कहाँनिर बलियो छ। नेतृत्वको ठूलो बहुमत हिस्सा त्यसैको सरकारको विरोधमा छ। अनि कहाँबाट त्यो बलियो भयो? हो विधिवत रूपमा फुटेको छैन। त्यो बेग्लै कुरा हो। तर त्यो बलियो होइन। देख्दा खेरी त्यो बलियो देखिए पनि त्यो सुन्निएर मोटाएको जस्तो मात्रै भएको हो। सुन्निएको मान्छे पनि मोटाए जस्तो देखिन्छ नि हो त्यस्तै हो। वास्तविक रूपमा बलियो छैन। न विचार छ। न राजनीति छ। न जनताप्रति विश्वास छ। त्यसैले त्यो शक्ति बलियो छैन कमजोर हुँदै गएको छ।

यो विगतको ९ महिनामा कति कमजोर हुँदै गयो हेर्नुस्। ओली प्रधानमन्त्री बन्ने वेलामा कस्तो तमासा थियो? के के न भयो भने जस्तो थियो। अहिले ओलीको राजीनामा त्यही पार्टीबाट मागिरहेका छन्। किन दुईवटा पद ओगटेर बस्छौ भनेर त्यही पार्टीभित्रै भनिरहेका छन्। त्यसैले पनि उनीहरू बलियो होइन कमजोर हुँदै गएका छन्। जहाँसम्म क्रान्तिकारी कम्युनिस्टहरूको एकजुट हुने कुरामा हामी प्रयासरत छौँ। तर कम्युनिस्ट पार्टीबीच एकता हुने कुरो सजिलो छैन। विचार मिल्नु पर्‍यो। सिद्धान्त मिल्नु पर्‍यो। त्यो मिलेको छैन। नमिलिकन हतार गरेर पार्टी एकता गर्ने कुरा पनि हुँदैन।

 

तपाईँहरुबीचको कार्यगत एकता र दीर्घकालीन पार्टी एकताको वार्ता चलिरहेको थियो कहाँ पुग्यो?

पहिला एक चरणमा हामीले कार्यगत एकताबाट केही कामहरू गर्‍यौँ। केही संघर्षका कार्यक्रमहरू अगाडि बढायौँ। तर, पछिल्लो चरणमा जब विप्लव नेतृत्वको नेकपाका साथीहरू माथि सरकारले धरपकड गर्न थाल्यो। पक्राउ गरेर देश घुमाउन थाल्यो त्यसपछि रोकिएको छ। नीतिगत रूपमा वार्ता गर्ने भन्ने छ। उहाँहरू सरकारको विरोधमा रहँदासम्म पार्टी एकता नभए पनि कार्यगत एकता हुन्छ। पार्टी एकताका लागि ठ्याक्कै एकताको एजेण्डामा वार्ता भएको छैन। अहिले उहाँहरूको नीति विचार हेर्दा हामीसँग फरक देखिन्छ। तर वार्ता गरेर उहाँहरूले कतिपय कुरा छाड्ने हुनसक्छ। वार्ताबाट थाहा हुने कुरा हो। वार्ताको कोसिस हामी गरिरहेका छौँ।

 

तपाईँको पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले कस्ता कार्यक्रम अगाडि बढाएको छ?

मूल रुपमा हाम्रो पार्टीको केन्द्रीय कमिटीले संघर्षलाई जोड दिएको छ। पहिला विप्लवजीहरु फुटेर जाँदा र पछि बादलहरु मा के मा जाँदा हाम्रो सङ्गठन कमजोर भएको थियो। हामीले त्यतिवेला सङ्गठन स‌ंगठन र फेरि पनि सङ्गठनको नीति लिएका थियौँ। पछि हामीले स‌ंगठनलाई मजबुत बनाउँदै लग्यौँ। आधार तयार पार्‍यौँ। अनि त्यसमा सङ्घर्ष थप्यौँ। सङ्घर्ष र स‌ंगठनको नीति लियौँ। फेरि पनि स‌ंगठन मुख्य अनि सङ्घर्ष सहायक जस्तै थियो। अहिले परिस्थिति बदलिएको छ। हामीलाई के लागेको छ भने यत्तिको सङ्गठनले अब संघर्षलाई अगाडि बढाउन सक्छ। सांगठनिक रूपमा हामी बलियो हुँदै गएका छौँ। अहिलेको केन्द्रीय कमिटीको बैठकले स‌ंघर्षलाई जोड दिएको छ। अहिलेको निर्णय सङ्घर्ष सङ्गठन र सङ्घर्ष छ। जनसंघर्ष, प्रतिरोध सङ्घर्ष र स्थानीय वर्गसंघर्ष गरेर यी तीन किसिमका संघर्षलाई अगाडि बढाउने निर्णय भएको छ।

 

तपाईँ अध्यक्ष भएको देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)को पनि बैठक बस्यो। बैठकपछि तपाईँले तेस्रो जनआन्दोलनको उद्घोष गर्नु भयो के अब सशस्त्र सङ्घर्षको बाटो सकिएको हो?

तपाईँले भने जस्तो होइन। देजमो एउटा स‌ंयुक्त मोर्चा हो। यो वैधानिक आन्दोलनहरुलाई अगाडि बढाउने सङ्गठन हो। अहिले यसले वैधानिक आन्दोलनलाई अगाडि बढाउने काम गरिरहेको छ। पछि गएर के हुन्छ त्यो भन्न सकिँदैन। अहिले हामीले गर्ने भनेको वैधानिक प्रकारका जनसंघर्ष र जनआन्दोलनहरु हो। यसले अहिले नै सशस्त्र सङ्घर्ष गर्दैन्। सशस्त्र सङ्घर्षको नेतृत्व गर्ने भनेको पार्टीले हो। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले हो। देजमो आफैंले सशस्त्र सङ्घर्षको नेतृत्व गर्दैन्। यसले गर्ने जनसंघर्ष जनआन्दोलन गर्ने हो। पार्टीले सशस्त्र संघर्षलाई अगाडि बढाए यसले साथ दिने कुरा फेरि अर्को हो।

 

एउटा राजनीतिक अवस्थाबाट कोल्टे फेरेर देश विकासको बाटोमा हिँड्ने अवस्थामा जनआन्दोलनको औचित्यमाथि प्रश्न पनि उठ्ला नि?

देशलाई नयाँ जनआन्दोलनको आवश्यकता छ। ऐतिहासिक जनआन्दोनको खाँचो छ। ६२-६३ मा दोस्रो भयो। अब तेस्रो जनआन्दोलनको खाँचो छ।  किन खाँचो छ भने यो सरकारले देशलाई बर्बाद गर्दैछ। देशलाई डुबाउँदैछ। देशको अस्तित्वलाई समाप्त पार्दैछ। यो राष्ट्रलाई कंगाल बनाउँदैछ। जनतालाई गरिबीको रेखामा डुबाउँदैछ। यस्तो सरकारलाई यो अहिलेको संविधान अनुसार पनि हटाउन सकिँदैन। किनभने उ सँग दुईतिहाई छ। विरोध गर्ने एउटा कुरा भयो तर वैधानिक रूपमा हट्दैन। ओलीले राजीनामा पनि दिँदैनन्। उनलाई हटाउन पनि सकिँदैन। अब यसलाई बोकेर हिँडिरहने? यसलाई स्वीकारेर बस्ने? त्यसैले यसलाई हटाउनका लागि एउटै उपाय भनेको जनआन्दोलन नै हो। सडक आन्दोलनले यस्तालाई हटाइदिन्छ। राजतन्त्रलाई त हटाइदियो भने यो त के हो र?

 

भनेपछि अब तपाईँहरूको लक्ष्य दुई तिहाइको सरकार ढाल्ने हो?

दुई तिहाइको सरकार ढाल्ने मात्र होइन, त्यसपछि के गर्ने भन्ने पनि हो। सरकार ढालेर विकल्पमा कसलाई ल्याउने? ओलीको विकल्प को हो त? प्रचण्ड। होइन।

 

अनि को आउँछ त?

अबको जनआन्दोलनले ओलीको सरकार ढाल्ने मात्र होइन कि यो संविधान पनि खारेज गर्छ। यो स‌ंविधान खारेज गरेर नयाँ संविधान ल्याउनु पर्छ। जनगणतन्त्र ल्याउनुपर्छ। जनगणतन्त्रको संविधान ल्याउनुपर्छ। जनगणतन्त्रको संविधान आवश्यक छ। त्यसकारण ओलीलाई ढाल्नका लागि मात्र यो सङ्घर्ष होइन। ओलीलाई ढालेर अर्कोलाई ल्याएर के गर्ने? प्रचण्ड आए पनि के? उनी पनि ओली भन्दा के कम। झन् बढ्ता हुनेवाला छन्। माधव नेपाललाई दियो भने देखेकै हो। फेरि शेरबहादुर देउवा आउने हो भने पनि शेरबहादुरलाई पनि जनताले चिनेकै छन्। त्यसैले यी भइरहेकाहरूबाट अब नेपालमा जनताको र राष्ट्रको उन्नति प्रगति हुनेवाला छैन। त्यसैले यो संविधान नै खारेज गरेर व्यवस्था नै नयाँ ल्याउनुपर्‍यो। लोकतान्त्रिक गणतन्त्रको ठाउँमा जनगणतन्त्र ल्याउनुपर्‍यो। त्यसपछि मात्र देश नयाँ दिशामा जान्छ।

 

संविधान जारी हुँदै गर्दा तपाईँहरु विरोध गर्नुभयो। खारेजीको माग गर्नुभयो। त्यही संविधान अन्तर्गत भएको निर्वाचनमा सहभागी हुनुभयो। अहिले फेरि यही संविधान खारेजीको माग गर्दै हुनुहुन्छ। त्यही निर्वाचनबाट चुनिएको सरकार ढाल्ने भन्दै हुनुहुन्छ?

त्यस्तो देखिन्छ। तर प्रतिक्रियावादी राज्यसत्ताले गराउने चुनावलाई बहिष्कार गर्ने कि भाग लिने भन्ने कार्यनीतिको विषय हो। बहिष्कार गर्दा फाइदा पुग्छ भने बहिष्कार गर्नुपर्छ। उपयोग गर्दा क्रान्तिको लागि सजिलो हुन्छ भने उपयोग गर्नुपर्छ। हामीले गरेको पनि त्यही हो। एकपल्ट यही चुनाव बहिष्कार गर्‍यौँ। अर्कोपल्ट उपयोग गर्‍यौँ। त्यो बहिष्कार पनि ठिक थियो। त्यतिखेर हाम्रो पार्टीको आत्मागत शक्ति बलियो थियो। यो व्यवस्थालाई नङ्ग्याउनका लागि बहिष्कारले राम्रो काम गर्‍यो। पछिल्लो चरणमा पार्टी फुट्यो। हाम्रो आत्मागत शक्ति कमजोर भयो। आत्मागत शक्ति कमजोर भइसकेपछि त्यही अनुसारको कार्यनीति अपनाउनु पर्‍यो। मुठभेडको कार्यनीतिले काम गर्ने अवस्था रहेन। शक्ति सञ्चय गर्नुपर्ने भयो। त्यसै अनुसार हामीले यसलाई उपयोग गरेका हौँ। यसका हामी विरोधी हौँ तर पनि उपयोग गरेका हौँ। हामीले भोट माग्न जाँदा पनि त्यही भनेर माग्यौँ।

जनताले हामीलाई किन भोट दिएँ भने हामीले ढाँटेनौँ। ओलीकै जस्तो कुरा गरेको भए हामीलाई पनि अलिअलि भोट आउँथ्यो नि। तर,हामीले यो व्यवस्थाबाट उन्नति विकास सम्भव छैन भन्यौँ। यो व्यवस्थालाई खारेज गर्नु पर्छ। तपाईँहरूले जिताउनु भयो भने यो संघर्षलाई हामीले सदनमा पनि पुर्‍याउँछौँ भन्यौँ। मतदाताले सरकारमा तपाईँहरु जानुहुन्छ कि हुन्न भनेर सोध्दा हामीले जान्नौँ भन्यौँ। अनि भोटरहरुले 'हामीलाई त सरकारमा जाने पार्टी चाहिएको छ तपाईँहरु त सरकारमा नजाने भन्नुहुन्छ। हामीलाई बाटो चाहिएको छ। धारो चाहिएको छ। स्कुल चाहिएको छ। तपाईँहरु सरकारमै नजाने भने नदिने'भने।

 

तपाईँहरुलाई जनताले चुनावमा व्यालेटबक्स मार्फत अस्वीकार गरिसके। तपाईँले पनि यसलाई स्वीकार गर्नुभयो। अब तपाईँलाई जनताले सडकमा साथ दिन्छन् भन्ने आधार के त?

जनता सडकमा आउँछन्। हामी जनतामा जान छाडेका छैनौँ। त्यतिखेर हामीलाई मत नदिने जनताले अहिले गल्ती गरिएछ भनेका छन्। तपाईँहरुले त भन्नु भएको थियो विकास हुँदैन। महंगी बढ्छ भन्नु भएकै थियो। आखिर त्यही भयो। तपाईँहरूले भनेको ठिक रहेछ। गल्ती गरिएछ भन्छन्। जनताले गल्ती गर्न पनि सक्छन्। भ्रममा पनि पर्न सक्छन्। एकपल्ट ओलीहरुले भ्रममा पारेका हुन्। सबै कुरा पुर्‍याइदिन्छु भने पछि जनता भ्रमित भए। अहिले त्यो भ्रमबाट जनता स्पष्ट भएका छन्। अहिले जनतालाई आन्दोलन बाहेक अर्को विकल्प छैन। भए देखि सजिलो चिज तिर जान्थे। सजिलो चिज छैन। त्यसैले विकल्पै छैन। ओलीलाई अविश्वासको प्रस्ताव ल्याउँ भने हामीले बाहिरबाट ल्याएर हुँदैन। ल्याए पनि उनीहरूसँग दुई तिहाइ बहुमत छ। अस्वीकार भइहाल्छ। अबको विकल्प भनेको आन्दोलन नै हो। त्यसैले जनताहरू सडकमा आउँछन्।

 

यो आन्दोलनमा देजमोको मात्र सहभागिता हुन्छ की अन्य शक्ति पनि सहभागी हुन्छन्?

यो आन्दोलन हाम्रो मात्र होइन। यसमा सहभागिता सबैको हुन्छ। देश सिक्किमिकरण भयो भने हामी मात्र सिद्धिने होइन सबै सिद्धिने हो। त्यसैले यो आन्दोलनमा सबै शक्तिहरु सहभागी हुन्छन्। त्यसको लागि छलफल चलिरहेको छ। यो आन्दोलन सबैको हुनुपर्छ। पहिला पनि सबै मिलेर जनआन्दोलन भएका थिए। त्यतिखेर राजतन्त्रलाई हटाउनलाई भएको थियो भने अहिले कथित लोकतान्त्रिक गणतन्त्रलाई हटाउनका लागि गर्नुपर्ने नारा फरक पर्ने भयो। तर आन्दोलन संयुक्त हुन्छ। हाम्रो भूमिका हामी पूरा गर्छौँ जनताले हामीलाई नेतृत्व गर्न भन्यो भने हामी गर्छौँ। सरकारको विरोध गर्नेहरूसँग कार्यगत एकता गरेर पनि हुन सक्छ। एउटा समझदारी हुन सक्छ।

 

सरकारको विरोध गर्ने शक्तिहरूसँगको कार्यगत एकता र वार्ताको कुरा गर्नुभयो। अहिले का‌ंग्रेसले पनि सरकारको विरोध गरेको छ। अन्य सांसदभित्रका दलले पनि गरेका छन्। उनीहरूसँग पनि कार्यगत एकता हुन सक्छ?

यस विषयमा काङ्ग्रेससँग कार्यगत एकता हुन सक्दैन। उसले संविधान कार्यान्वयन भएन भनिरहेको छ। हामी संविधान खारेजीको माग गरेका छौँ। उ सँग सामान्य रूपमा महंगी, भ्रष्टाचार, निर्मला पन्तको हत्या लगायतका विषयमा कार्यगत एकता हुन सक्ला तर उनीहरू संविधानको विरोधमा त आउँदैनन्। जनआन्दोलनमा कार्यगत एकता हुन सक्दैन। अर्को कुरा मधेसी दलहरूसँग पनि यो सम्भावना छैन। उनीहरू संविधान संशोधन भनेका छन्। सरकारलाई समर्थन दिएका छन्।

 

अन्तर्राष्ट्रिय चासो दुई ठूला कम्युनिस्टहरूको एकतातिर छ। नेपालमा पटकपटक हुने गरेका आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन पनि आवश्यक मानिन्छ। तपाईँको आन्दोलनले अन्तर्राष्ट्रिय समर्थन पाउला त?

अहिले क्रान्तिकारी शक्तिहरू धेरै बलिया छैनन्। जनआधार बलियो छैन। सङ्ख्यामा तिनीहरू बलियो छन्। तर उनीहरूको जनआधार कमजोर छ। तिनीहरूले यसलाई कम्युनिस्टको सरकार मानेका छैनन्। उनीहरूसँग हाम्रो छलफल भइरहेको छ। उनीहरूसँग वार्ता भइरहेको छ। क्रान्तिकारी कम्युनिस्टहरूसँग हाम्रो सम्बन्ध छ। उनीहरूले यीनिहरुलाई (ने क पा) गद्दार भन्छन्। उनीहरूको समर्थन छैन।

हो सत्तामा भएकाहरुको समर्थन भने उनीहरूलाई समर्थन छ। जस्तो थोरै समर्थन चीनको पनि छ। चीनलाई जो सरकारमा छ त्यसैसँग राम्रो सम्बन्ध हुन्छ। काँग्रेस सरकारमा भए कांग्रेसँग पनि राम्रै थियो। अहिलेको चीनको त्यस्तै सम्बन्ध हो। झन् कम्युनिस्ट नै नाम भइसके पछि झन् राम्रै भयो। उनीहरूले कम्युनिस्ट भनेर समर्थन गरेका होइनन् कि जो सत्तामा आउँछ त्यसैको समर्थन गर्छन्।

उनीहरूले हामीलाई गलत छन् भनेका छैनन्। हो उनीहरूको प्रयास चाहिँ थियो। एकतावद्ध हुनुस भन्ने। तपाईँहरू विना एकता पूर्ण हुँदैन। एकतावद्ध भए राम्रो भन्ने चिनियाँ सुझाव थियो। हामीले भन्यौँ तपाईँले सुझाव दिनुभयो राम्रो। तर निर्णय हामीले गर्ने हो। उनीहरू कम्युनिस्टहरू नै होइनन् भन्ने हाम्रो विश्लेषण हो। उनीहरूसँग एकता हुँदैन भन्यौँ। त्यो भइसके पछि तपाईँहरूले हामीले भनेको मान्नु भएन भनेर हामीसँग सम्बन्ध तोडेका पनि छैनन्। उनीहरूले त्यो तपाईँकै कुरा हो भने। बाहिरकाले गर्ने भनेको त्यति नै हो। जहाँसम्म अन्य क्रान्तिकारी कम्युनिस्टहरू छन्। उनीहरूको समर्थन यसमा रहन्छ। 

हामीले चैत २४ गते हामीले प्रदर्शन गर्ने भनेका छौँ। त्यसले पनि देखाउँछ आन्दोलनको समर्थन कति हुन्छ त्यो त्यहीँ देखिन्छ।

 

देजमो भन्नु भएको छ। नेतृत्व तपाईँ गर्दै हुनुहुन्छ यसमा क्रान्तिकारी माओवादी इतरका शक्ति सहभागी छन् की तपाईँहरू मात्रै?

यो संयुक्त मोर्चा हो। वैधानिक मोर्चा हो। यसमा क्रान्तिकारी माओवादी बाहिरका मान्छेहरूको पनि सहभागिता छ। सुरुमा हामीले निर्माण गरे पनि यसमा सबैको सहभागिता हुन्। यस बारेमा क्रान्तिकारी शक्ति, देशभक्त शक्तिसँग छलफल चलिरहेको छ। माओवादी केन्द्र एमालेमा गएर विलय भएपछि त्यहाँ भएका क्रान्तिकारी शक्तिहरू पनि जोडिन आउँदै हुनुहुन्छ।

 

र, अन्त्यमा?

यो सरकारले राष्ट्रपति विश्वासघात गरेको छ। एउटा क्रिस्टियन नीतिको प्रचार गर्ने संस्थाको कार्यक्रमलाई आधिकारिक बनाएर सरकारले १८ करोड खर्च गरेको छ। त्यसको बदला ओलीलाई एक करोड जतिको इनाम दिएको छ। यस्ता संस्थाहरूले सरकारी तवरले निम्ता पठाउने। यो परराष्ट्र नीतिको सामान्य नियमको विपरीत हो। हाम्रा मित्र देशका प्रतिनिधिहरूलाई झुक्क्याएर धोका दिएर बोलाएको छ। सरकारले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाली जनतालाई पनि ठूलो विश्वासघात गरेको छ। त्यो बेला देशको सम्पूर्ण स्रोतसाधनको परिचालन गर्नु त्यो क्रिस्टियन संस्थाको दलाली हो।

त्यसैले पनि यी यावत समस्याको समाधानका लागि जनआन्दोलनको आवश्यकता छ। मिडियाले दोस्रो जनआन्दोलनमा ठुलो भूमिका खेल्यो। तेस्रो जनआन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने आस गरेका छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell