PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


सभापतिसँग वरिष्ठ नेताले हात मिलाएर एकता हुँदैन


किशोर नेपाल

सभापतिसँग वरिष्ठ नेताले हात मिलाएर एकता हुँदैन

  • किशोर नेपाल -

हिजो शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकका परिणामहरु कति फलदायी होलान्? अहिले केही भन्न सकिन्न। नेता विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग 'हात मिलाएर' एकताको सन्देश दिन आह्वान गर्दा पौडेल अन्कनाए। कांग्रेसमा हात र गला मिलाउने परम्परा २०३८ यताको हो। बीपीको निधनपछि जब गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीच विवाद हुँदा कार्यकर्ताहरुलाई शुभ सन्देश दिन तीनैजना नेताहरुको हात मिल्ने गर्दथ्यो। हिजोको महासमिति सभामा वरिष्ठ नेताले देखाएको बेहोरा राजनीतिक थिएन। उनी चारपटक देशको प्रधानमन्त्री भै सकेका देउवाप्रति इर्ष्यालु देखिए। प्रचण्डसँग १७ पटक चुनाव लड्दा पनि जित्न नसकेका पौडेलको नियति नै प्रधानमन्त्री नबन्नु थियो। यो उनले बुझेनन्।

बैठकमा अर्का धुन्धुकारी देखिए प्रकाशशरण महत। देउवा समूहका खम्बा मध्येका एक भनेर चिनिने महत देउवाले भाषण गर्दा सभाकक्षमा हल्ला गरिरहेका थिए। उनलाई देउवाले नै हल्ला नगर भनेर कड्किनु पर्‍यो। महासमितिका केही सदस्यहरु विरासतको खोजीमा थिए। शशांक कोइराला सभापति नबनेसम्म कांग्रेसको भलो नहुने आंकलन गर्नेहरु शेखर कोइरालाको मुख ताक्दै थिए।

दुर्भाग्य कि, कांग्रेसका संस्थापक नेता तथा अध्यक्ष बीपीले आफना छोराहरु र कान्छा भाइलाई आफनो उत्तराधिकारी भनेर कहिल्यै घोषणा गर्नु भएन। पार्टी चलाउने अभिभारा गणेशमान, कृष्णप्रसाद र गिरिजालाई दिनु भयो। परशुनारायण चौधरी पञ्चायतमा प्रवाहित नभएका भए गिरिजाको नाउँ नेतृत्वमा आउने थिएन भन्ने त जानकार व्यक्तिहरुले उसैबेला बताएका हुन्। गणेशमान, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायले पनि आफ्नो उत्तराधिकारी कसैलाई बनाएनन्। कृष्णप्रसाद भट्टराईले बिहे नै गरेका थिएनन्।

यही क्रममा मधेशमा कांग्रेसका ठूला नेता महेन्द्रनारायण निधिले आफनो राजनीतिक विरासतको प्रारम्भ कहिल्यै गर्न चाहनु भएन। यो तथ्य देशभरी छरिएका कांग्रेसका नेता कार्यकर्ताहरुलाई थाहा नहुन पनि सक्दछ। २०३६ सालमा भएको जनकपुर अधिवेशनमा नेपाल विद्यार्थी संघजस्तो कांग्रेसको कार्यकर्ता निर्माण गर्ने संगठनका अध्यक्षमा महेन्द्रनारायण निधिका कनिष्ठ सुपुत्र विमलेन्द्र निधिलाई मनोनीत गर्नु भएको थियो। बीपीले विमलेन्द्रलाई अध्यक्ष पदमा रोज्दा पक्कै पनि निधिजीको अनुहार हेरेर रोज्नु भएको थिएन। बिमलेन्द्र अहिले कांग्रेसका उप–सभापति छन्। उनी राजनीतिमा आफनो प्रेरणा स्रोत र गुरुका रुपमा बीपी कोइरालालाई मात्रै स्वीकार गर्दछन्।

बिमलेन्द्रका क्रियाकलाप पनि त्यसरी नै अगाडि बढेको अनुभव कांग्रेसका नेताहरुले गरेका छन्। महासमितिको बैठक हुने ठाउँको नजारा हेरेर फर्किएका नेपाली जनताको “पेटको” अवस्थाको जानिफकार तथा देशका उम्दा चिकित्सक मधु घिमिरेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्: यो पटक कांग्रेसले झुण्ड्याएका तुलहरुमा बीपीको बिचार अंकित एउटामात्रै तूल देखियो। यसअघि, बीपी, गणेशमानजी, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको तस्वीर लहरै छापिएको तुल ठाउँठाउँमा झुण्ड्याइएको हुन्थ्यो। यसपालाको दृश्यपनि त्यही हो। कांग्रेस संकटपूर्ण अवस्थामा रहेको समय भएकोले बीपीमात्रैको एउटामात्रै तूल टांगिएको हुनुपर्दछ।

तस्बिर र वाणीकै कुरा गर्ने हो भने अहिलेको अवस्थामा विवादको भवसागरबाट मुक्ति पाइन्छ भनेर कसैले भन्यो भने कांग्रेस तूल र तस्बिरमा उदार हुनेछ। अहिलेको परिदृश्यले त्यसै भन्दछ। खास गरेर, मधेशको राजनीतिमा कांग्रेस नराम्रोसँग चुकेको छ। २०५० साल यता कांग्रेसले मधेशमा जरो बलियो भएका नेताको खोजखबर गरेको छैन। मधेशका धेरै नेताको अवसान भैसकेको छ। कांग्रेस पार्टीको केन्द्रीय कार्यालयसँग २०४६ को परिवर्तनलाई सफल बनाएर सत्तामा गएका महेन्द्रनारायण निधि, शेख इद्रिस, रामहरि जोशी लगायतका थुप्रै नेताहरुकै बारे पनि यथेष्ट जानकारी नहोला। पार्टीको केन्द्रीय कार्यालयमा पुराना नेताहरु रामेश्वरप्रसाद सिंह, इन्द्रदेव सिंह, देवनारायण यादव, भागवत यादव, मेघनाथ, ज्ञानीशंकर गिरी, लगायतका महत्वपूर्ण नेताको ‘ओबिच्यूरी नोट’ पनि छैनन होला। मधेशको राजनीतिमा कांग्रेस धँसिनुको एउटा महत्वपूर्ण कारण यो पनि हो। मधेशप्रति कांग्रेसको उपेक्षा भावकै कारण मधेशका धेरै नेताले कांग्रेसबाट विदा लिए। कांग्रेसले मधेशमा आफ्नो विरासत फर्काउन सक्नेमा धेरैको शंका छ। यति हो कि, मेहनत गरेको खण्डमा उसले आफनो पहिचान स्पष्ट हुने अवस्था सिर्जना गर्न सक्दछ।

यतिबेला कांग्रेस शेरबहादुरदेखि शेखर कोइरालासम्म र कृष्ण सिटौलादेखि गगन थापा र अर्जुन नरसिंहसम्म विवादको भुमरीमा परेको छ। रामचन्द्र पौडेलजस्ता आफूलाई बौध्दिक देखाउने नेताले समेत आफैं आफनो अवमूल्यन गरी सकेका छन्। अरु नेताको के चर्चा गर्नु? सभापतिको चुनावमा आफू हारेपछि जित्ने शेरबहादुर देउवालाई सहयोग गर्नु पौडेलको कर्तव्य हुन्थ्यो। उनले विनयशील स्वभाव प्रदर्शित गरेनन्। उल्टै, देउवालाई कजाउन खोजे। अहिलेको कांग्रेस विवादको मुहानमा यो कुरा अंकित छ। तर, पौडेलले जति चिच्याएपनि उनी देउवाको अवस्थामा पुग्ने अवसर आउन चमत्कार नै हुनुपर्दछ। आगामी महाधिवेशनमा सभापतिहुने लक्ष्य बोकेका महामन्त्री कोइरालाका अगाडि पौडेलको हैसियत के हुनेछ? त्यो भनीराख्नु आवश्यक छैन।

शशांक कोइरालाले बीपीको नाउँमा विरासतको राजनीति चलाउन खोजेभने शेरबहादुर देउवाले पनि आफनी धर्मपत्नी र पुत्रलाई अघि सार्ने खतरा त छँदैछ। शशांकले बीपीको नाम प्रयोग गरेपनि त्यो नामसंग जोडिएको आदर्शको भारी बोक्ने ताकत उनमा देखिएको छैन। उनी हिन्दूत्वको पुच्छर समातेर लोकतान्त्रिक पार्टीको नेतृत्वगर्न चाहन्छन्। यसले उनको छवि धमिलो पार्नेछ। कांग्रेसले आजका मितिसम्म धर्मनिरपेक्ष शब्दको उच्चारण नै नगरी त्यसको पालना गर्‍यो। अहिले आएर हिन्दूत्वको राजनीति गर्‍यो भने जनताले के भन्ला?

विश्व राजनीतिको रंगमञ्चमा स्थापित नेताका पुत्रहरुको कतैपनि राजनीतिक उत्थान भएको छैन। भारतका इन्दिरा गान्धीका छोरा राजीव गान्धी सफल हुन खोज्दै थिए, उनको हत्या भयो। विमान दुर्घटनामा मरेका संजय गान्धीका छोरा बरुण गान्धी भारतको राजनीतिमा चलेनन्। अहिले राजीवका छोरा राहुल चल्छन् कि भन्नेसम्म देखिएको हो। उनी एक सिनेमाका हिरो सावित भए भने आश्चर्य मान्नु पर्दैन।

बीपीलाई बिरासतको राजनीतिका बारे कुनै भ्रम थिएन। त्यसैले २०३६ सालमा बिमलेन्द्र बीपीका निमित्त बनेका थिए। त्यतिबेला उहाँले चाहनु भएको भए शहीद सरोज कोइरालाकी छोरी पनि निमित्त बन्न सक्ने थिइन्। आधुनिक समयमा उत्तराधिकारीको राजनीति चल्दैन भन्ने राम्ररी बुझेको हुनुपर्दछ कांग्रेस कार्यकर्ताले। कांग्रेस वैचारिक आधारमा कहिल्यै यति कमजोर थिएन। भत्किदै गएको बाटो हिंडी रहेको कांग्रेसलाई मान्यता र मूल्य पध्दति अपडेट गर्नुपर्ने चिन्ता भएन।

माओवादी हिंसात्मक आन्दोलनको उत्कर्षपछि त सबै कुरा बद्लियो। स्वर्गवासी सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी समस्याको शान्तिपूर्ण समाधानको क्रममा धर्म निरपेक्ष समाज, संघीय शासन र गणतन्त्रलाई विवेकसम्मत ढंगले स्वीकार गरेपछि कांग्रेसका केही नेता अन्तरमनदेखि नै हल्लिए। पार्टीमा सभापति कोइरालाका सामु आफ्नो विचार कहिल्यै खुलस्त राख्न नसक्ने नेताहरु रन्थनिनुको कुनै अर्थ थिएन। अहिलेको अवस्था पनि त्यही हो। कोइराला परिवारको सदस्य भएकै कारण शशांक वा शेखरका अगाडि मुण्टो लुकाएर हिंडने कांग्रेसी धेरै छन्। धेरैका लागि कोइराला निवास भक्तिमार्गको बाटो बनेको छ। धेरैले निर्भयताका साथ कोइरालाहरुको साथ छोडेका पनि छन्। यो अवस्थामा नयाँ ढंगले संगठित नभएसम्म कांग्रेसको विकास प्रतिस्पर्धात्मक हिसाबले हुनेवाला छैन।

सुनिएको र देखिएकै कुरामा विश्वास गर्ने हो भने नेपाली कांग्रेस आगामी महाधिवेशनसम्म पनि एक रहनसक्ने सम्भावना छैन। तर, यो त्यस्ता मानिसहरुको हल्ला हो जो प्रमुख प्रतिपक्षी पार्टीलाई धूलो चटाएर कम्युनिष्ट सत्तालाई निरन्तरता दिन चाहन्छन्। कांग्रेस जे जस्तो देखिएपनि लोकतान्त्रिक पार्टीका रुपमा यसको साख खस्किएको छैन। माओवादी पार्टीसँग सहकार्य गर्दा कांग्रेस फाइदामा रहने थियो। तर, कांग्रेसीहरुकै कारण त्यसो हुन सकेन। सबै दोष सभापति देउवाको थाप्लोमा थोपरेर आफू पानी माथिको ओभानो बन्ने पौडेल पक्षको रणनीतिका बारे सबै जानकार छन्।

महासमिति बैठकको सन्दर्भमा बसेको कांग्रेस कार्य समितिको बैठकका समाचारहरु सबै प्रायोजित देखिए। देशका निष्पक्ष भनिने समाचार पत्रहरुमा देउवा बिरोधी समाचारले निकै ठूलो चलखेल र खेलकूद गरे। त्यसको पूरै असर कार्य समितिको बैठकमा देखियो। सभापति देउवाका सहयोगीहरुले एक्काइशौं शताब्दीको पत्रकारिता बुझेका थिएनन्। यसो नहुँदो हो त सभापति देउवाले वरिष्ठ नेताको पराजित हैसियतमा नून–चूक छर्किनु पर्ने थिएन। यही क्रममा पञ्चायत कालमा झण्डा हालेको मोटर चढेर प्रतिगामी राजनीति गर्ने ससुराले समेत राम्रै दनक पाए। देउवाको भनाइ थियो, मैले नै मनोनीत गरेर सदस्य भएकाले मेरै बिरोध गर्ने? सभापतिको यो कथनको प्रतिक्रियामा कृष्ण सिटौला र गगन थापा एक शब्द बोलेको सुनिएन।  

कांग्रेस यस्तै स–साना खुद्रे वहस र विवादमा अल्झिने हो भने यो पार्टीप्रति जनताको रुचि घट्दै जानेछ। अहिले कम्युनिष्ट सरकारले अनेकन बेथितिहरु जन्माइ रहेको छ। संघीयता असफल बनाउने खेलकूद त्यतिकै चलेको छ। माओवादीलाई “क्रूर ज्यानमारा” सावित गरेर हिन्दूराष्ट्र पुनर्जीवित गराउने र राजा ज्ञानेन्द्रलाई गद्दीमा राख्ने खेलमा एकथरि लागेको लागेकै छन्। यी सबै कुरामा कुनै ध्यान नदिएर झगडामात्रै गरी रहने हो भने देशको सबभन्दा पुरानो राजनीतिक दल हुनु र नहुनुको के अर्थ हुन्छ? कुनैबेला प्रजा परिषद् पनि लोकप्रिय राजनीतिक दल थियो। अहिले कहाँ छ त्यो पार्टी? प्रजापरिषद्कै बाटोमा कांग्रेस पनि हिंडने हो भने बेग्लै कुरा हो। होइन भने, महासमितिले पार्टी एकताको बलियो सूत्र फेला पार्नै पर्दछ। कांग्रेसीहरुको बाध्यता हो त्यो।



सभापतिसँग वरिष्ठ नेताले हात मिलाएर एकता हुँदैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट