PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'एक्स्ट्रा म्यारिटल अफेयर्स'बाट राजनीति र समाजको दृश्य : सेम टाइम नेक्स्ट इयर



स्वेच्छा राउत

'एक्स्ट्रा म्यारिटल अफेयर्स'बाट राजनीति र समाजको दृश्य : सेम टाइम नेक्स्ट इयर

बत्तीको मधुरो प्रकाशसँगै देखिने कोठाको खाटमा छन् एक जोडी। कोठामा टेबल, कुर्सी, ड्रेसिङ टेबल, पियानो, टेलिफोन देखिन्छ। त्यही असरल्ल जुत्ता र लुगा छरिएका छन्। पुरुष खाटबाट निस्किएर लुगा लगाउन थाल्छ। लगत्तै महिला पनि उठ्छिन्। दुवै संकोच मान्दै मान्दै गफिन थाल्छन्। उनीहरुको संवादसँगै सुरु हुन्छ नाटक- ‘सेम टाइम नेक्स्ट इयर।' 

मञ्चमा देखिएका यी दुई पात्र न त श्रीमान् श्रीमती हुन् न प्रेमी प्रेमिका नै। पुरुष पात्र (जर्ज) दिव्य देव न्यू जर्सीका हुन्। पेशाले अकाउन्टेन्ट। र, महिला पात्र (डोरिस) आकांक्षा कार्की अकल्यान्डकी हुन् जो गृहिणी मात्र। यी दुवैको आआफ्नै श्रीमती, श्रीमान् छन्। छोराछोरी पनि। 

एक साँझ क्यालिफोर्नियामा भेटिएका यी दुई नजिकिन्छन्। सँगै रात बिताउँछन्। सम्बन्ध राखेपछि र छुट्टिनुअघिमात्र यी दुईको विस्तृत परिचय हुन्छ। एकअर्काको सामिप्यतामा रमाएका जर्ज र डोरिस हरेक वर्ष सोही मितिमा भेट्ने सहमतिमा भेटेको भोलिपल्टै छुट्टिन्छन्। 

अनि, उनीहरू हरेक वर्ष भेट्न थाल्छन् - उही कोठामा। 

नाटकले उनीहरुको जीवनको विभिन्न आयामलाई त्यही कोठाभित्र देखाएको छ। कोठा नै सेटिङ हो। २४ वर्षसम्म उनीहरु भेट्ने कोठा, कोठाभित्रको सजावट उस्तै रहन्छ। यो संकेत हो, उनीहरुको सम्बन्धको स्थिरता र सुन्दरताको। जुन स्थिरता जर्जको पारिवारिक जीवनमा छैन। उ पटकपटक आफ्नो परिवार लिएर बसाइ सरिरहन्छ। 

जर्ज अकाउन्टेन्ट र डोरिस गृहिणी हुँदा सम्बन्ध सुरु हुन्छ। जर्ज रिटायर्ड भएर रेस्टुरेन्टमा पियानो बजाउन थाल्दा डोरिस सफल व्यवसायी बन्छिन्। तर, पनि उनीहरुको सामिप्यता उस्तै रहन्छ। आवरणको आकर्षणले निकट बनेका उनीहरु भावनात्मक रुपमा नजिकिँदै जान्छन्।
 
हरेक पटकको भेटमा उनीहरुको व्यक्तित्व, जीवन, पारिवारिक अवस्था, सोच र सम्बन्धमा परिवर्तन आउँछ। त्यही उतार चडावलाई ६ वटा फरक दृश्यमा देखाइएको छ। जुन परिवर्तनको अनुभूति पात्र स्वंय र संवादमार्फत् गराइन्छ। हरेक दृश्यमा पाँच वर्ष अन्तराल छ जसलाई यी दुईबीचको कुराकानीबाट प्रस्ट्याइएको छ। 

जस्तै : १९५१ मा पहिलोपटक भेटेका यो विवाहइतरको जोडीले दोस्रो सिनमा पाँचौं एनिभर्सरी मनाउँछ, त्यस्तै तेस्रो सिनमा १० वर्षदेखि होटलको त्यही कोठामा यसै रहेको पियानोको कुरा गर्छन्। यसरी नै ‘टाइम ल्याप्स’ देखाउन हरेक सिन पर्याप्त छन्। 

एउटै सेटिङमा रहेर पात्रहरुको व्यक्तिगत परिवर्तन चित्रण गर्न, पारिवारिक अवस्थाको जानकारी दिन, पात्रहरुमा राजनीतिक आन्दोलन र घटनाक्रमको प्रभाव बुझाउन संवादको भूमिका महत्वपूर्ण छ। संवादसँगै जिवन्त अभिनयले यी दुईले फरक फरक ठाँउमा बाँचेको फरक फरक जीवनलाई एउटा कोठामा ल्याएर जोड्छ। उनीहरुको जीवनको कथासँग दर्शकको संवेदना जोड्छ।
 
संवाद दर्शक र नाटकबीचको मात्र सेतु बनेको छैन। नाटकभित्र नै पनि संवादले पात्रहरुको दुरी कायम राख्छ। पात्रहरु चर्को बोल्दा टाढिन्छन्, सुस्त बोल्दा नजिकिन्छन्। 

नाटकमा सामाजिक, राजनीतिक घटनाको विकास र पात्रहरुको विकास एकसाथ हुन्छ। एक अर्काको बारेमा बुझ्दै नबुझी नजिकिन्छन्, उनीहरुको आकर्षण र शारीरिक आवश्यकताबाट सुरु हुने सम्बन्ध चित्रण गरिएको छ। समयसँगै त्यो सम्बन्ध भावनात्मक बन्छ। विचार, राजनीतिक मतले त्यसमा असर गर्न थाल्छ। 

जस्तै: नाटकमा २४ वर्षको अन्तरालमा १९५०-१९८० बीचको अमेरिकी समाजको परिवेश देखाइएको छ। त्यहाँ भएका विभिन्न सामाजिक, राजनीतिक आन्दोलनहरुको प्रभाव पात्रहरुमा पनि पर्छ। विशेषगरी भियतनाम युद्धको। युद्धमा जर्जको छोरा माइकल मारिन्छ। जसले पारेको भावनात्मक असरका कारण उसले राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारलाई भोट दिन्छ। 

डोरिस भने डेमोक्रेटिक पार्टीको समर्थक हुन्छिन्। फरक मतका कारण नै उनीहरुबीच वादविवाद हुन्छ।
 
त्यस्तै त्यो कालखण्डमा चर्किएको फेमिनिस्ट आन्दोलन र हिप्पी आन्दोलनको पनि प्रभाव छ। हाइ स्कूल ड्रप गरेकी डोरिसले पढाइको आवश्यकता महसुस गर्छिन्। गर्भावस्थामा खाली समय बिताउनुको सट्टा पुन: स्कूल गएर पढाई पूरा गर्छिन्।
 
उनीमा हिप्पी आन्दोलनको प्रभाव पनि देखिन्छ। निर्वाद स्वतन्त्र रहने होडले उनको लगाउने, बोल्ने शैलीमा नै परिवर्तन ल्याउँछ।
 
चञ्चल अनि अस्थिर लाग्ने उनी फेमिनिस्ट आन्दोलन चर्कँदा जिम्मेवार व्यवसायिक महिला भइसकेकी हुन्छिन्। 
देशको तत्कालीन अवस्थाले त्यहाँका नागरिकमा कस्तो असर पार्छ भन्ने उदाहरण यहाँ प्रस्टिन्छ। 

भियतनाम युद्ध १९७५ मा सकिन्छ। नाटक पनि १९७५ मा भएको भेटको दृश्यसँगै सकिन्छ। नाटककारले सुन्दर ढङ्गमा देश र नाटकको घटनाक्रमलाई जोडेका छन्।
 
क्यानेडियन लेखन बर्नाड स्लेडको ‘सेम टाइम नेक्स्ट इयर’ले दुई फरक पृष्ठभूमि, विचार, परिस्थितिमा रहेकाहरु विभिन्न अप्ठ्याराको वावजुद कसरी भावनात्मक रुपमा नजिकिन सक्छन् भन्ने कुरा देखाउँछ। अमेरिकन समाजको त्यो परिवेशको कथा किन आजको नेपाली समाजमा मञ्चन गरियो त? यसको नेपालीमा रुपान्तरण किन गरिएन? 

‘हामीले यो नाटकको सौन्दर्यलाई मर्न नदिनका लागि एडप्ट नगरेका हौं,’ डोरिस बनेकी आकांक्षा कार्की सुनाउँछिन्। अमेरिकाको सामाजिक, राजनीतिक परिवर्तनसँग जोडिएको नाटकलाई नेपालको परिवेश मिल्दो बनाउँदा नाटक नै फरक बन्न सक्ने डर निर्माण टिमलाई थियो। तर, त्यति हुँदाहुँदै पनि नाटकले दर्शकलाई नेपाली परिवेशसँग कनेक्ट गर्न खोज्छ। 

नाटकका प्लटहरुले अहिलेको नेपाली समाजको झल्को पनि देखाउँछ। विवाहपछि वा छोरीछोरी हुर्काइसकेपछि स्कूल/कलेज पढ्न जाने डोरिसहरु, जसमा उर्जा हुन्छ, इच्छाशक्ति हुन्छ। उनीजस्तै व्यवसायिक महिलाहरु बल्ल त बढ्दै छन्। पुरुष सत्तात्मक सामाजिक संरचनाबीच आफ्नो विचार अघि सार्न, स्वतन्त्रता र अधिकारका लागि महिलाहरुले लड्न थालेको पनि धेरै भएको छैन। यसकारण सान्दर्भिक छ त्यो समयको नाटक हाम्रो यो समयमा पनि।
 
नेपालमा पनि भियतनामा जस्तै युद्ध भयो। कतिले जर्जले जस्तै छोरा वा आफन्त गुमाए। भावनात्मक चोटका कारण राजनीतिक मत फेरे, समर्थन उल्टाए। जर्ज जस्तै लाग्छ जनयुद्धमा छोरा गुमाउने बुबा, बेपत्ता दिवशको दिन ‘मेरो छोरा खोई?’ लेखेको प्लेकार्ड बोकेर उभिने आमा। 
त्यो बेलाको अमेरिकामा जस्तै यो बेलाको नेपालमा युद्धले गहिरो असर पारेको छ। 

नेपाली परिवेशमा डोरिस र जर्जको जस्तो सम्बन्ध भने स्वीकार्य नहुन सक्छ। किनकि हामीकहाँ विवाहलाई ‘बन्धन’ भन्न सिकाइएको छ। सामाजिक प्रतिष्ठा र नैतिकताको नाममा खुशी भए पनि दु:खी भएपनि। 
 
आकांक्षा निर्माण गर्न चाहेजस्तै यथार्थवादी नाटक मञ्चन गर्न पाएकोमा खुशी छिन्। भनिन्, 'भाषामात्र नेपाली बनाउन सकिन्थ्यो। तर, सबै दर्शकको लागि संवाद र दृश्य पाच्य नहुन सक्थ्यो।’ 

जर्ज बनेका दिव्य देवका लागि भने यो नाटक थिएटर कम ब्याक हो। उनलाई भने पात्रहरुको नि:स्वार्थ प्रेम र मित्रताले आकर्षित गरेको छ। भन्छन्, 'सायद, दर्शकलाई पनि त्यस्तै हुन्छ। किनकि नाटकले हसाउँदै हसाउँदै गम्भिर कथालाई सरल रुपमा भनेको छ।’ 

उनले भनेजस्तै जर्ज र डोरिसले एकअर्कासँग सम्बन्धको नाम माग्दैनन्। न त वर्षभर कतै सम्पर्क गर्न खोज्छन्। वर्षमा दर्शकले उनीहरुलाई साथी, विवाहइतर सम्बन्ध, धोका, एकअर्काको बानी, आवश्यकता जसरी पनि हेर्न सक्छन्। 
पात्रहरु स्वतन्त्र छन्। यी दुवैको संवादहरु व्यङ्ग्यात्मक लाग्छ सँगै तिनले उनीहरुको मनस्थिति वा मनोविज्ञानको संकेत समेत गर्छ। 

जस्तै: जर्ज बोल्दै गर्दा घरिघरी होटलको कोठाको झ्यालबाट बाहिर नियाल्छ, सायद उसको मन कोठामा मात्र छैन। डोरिसको व्यवहारलाई उसको धर्मसँग जोडेर हेर्छ। जब डोरिसलाई धर्मको कुराले आफूले चाहेको मान्छेसँग समय बिताउन रोकेको छैन। पेशाले अकाउन्टेन्ट जर्ज शारीरिक सम्बन्धको हिसाब राख्छ। भन्छ - हामीले ११३ पटक माया गर्‍यौं। 

डोरिस भने अस्थिर लाग्छिन्। हरेक दृश्यमा उनी फरक शैलीमा बोल्छिन्, हाउभाउ देखाउँछिन्, फरक देखिन्छिन्।
 
घटनाहरुलाई यथार्थ ढङ्गमा प्रस्तुत गर्न सफल छन् दिव्य देव र आकांक्षा कार्की। जसमा छुटाउन नहुने धन्यवादका पात्र हुन् निर्देशक चे शंकर। नाटकको बारेमा उनले भनेका छन्- यो नाटकले समाज र व्यक्ति बारे तितो यथार्थ चित्रण गर्छ। 

नेपाली रङ्गमञ्चमा नेपाली नाटक लेखनको अभ्यासबारे छलफल भइरहँदा होस् या विदेशी नाटक रुपान्तरणको प्रयोगबारे प्रश्न उठिरहँदा ‘सेम टाइम नेक्स्ट इयर’ मञ्चन भयो, अङ्ग्रेजी भाषामा। 

यहाँ पुन: प्रश्न उठ्न सक्छ। तर, यथार्थवादी नाटक प्रस्तुतिको शैली, विदेशी नाटकमै खोज्न सकिने सान्दर्भिकताको लागि भने यो उदारण हो। अभिनय, निर्देशन र पृष्ठभूमिले दिन खोजेको संदेशलाई कसरी प्रष्ट पार्छ नाटकले बुझाउँछ। 

फोटो: नविनबाबु गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell