PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


कसले च्यात्न लगायो निर्मलाको पोस्टर? न सिडिओलाई थाहा छ, न प्रहरी, न गृह मन्त्रालयलाई


कसले च्यात्न लगायो निर्मलाको पोस्टर? न सिडिओलाई थाहा छ, न प्रहरी, न गृह मन्त्रालयलाई

काठमाडौः सामाजिक सञ्जालमा शनिबारदेखि एउटा भिडियो भाइरल छ।

भिडियोमा प्रहरीका एक जवान पोखराको नेपाल टेलिकम कार्यालयको अगाडि पर्खाल र बिजुलीका खम्बामा  निर्मला पन्तको फोटोसहितका पोस्टरहरू च्यात्दै हिँडेको देखिन्छ।

त्यसअघि पनि प्रहरीले पोस्टर च्यात्दै गरेको फोटो सार्वजनिक भइसकेको छ।

नयाँ युगको सुरुवात भएको भन्दै सामाजिक सुरक्षा कार्यक्रमको प्रचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहितको पोस्टर काठमाडौँका बिजुलीका खम्बा खम्बामा टाँसेलगत्तै  लगभग उस्तै डिजाइनमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर युवाले टाँसेका थिए।

कञ्चनपुरमा हत्या भएकी १३ वर्षीय  निर्मलाको हत्यारा पत्ता लगाई न्याय दिन सरकारलाई दबाब दिन टाँसिएको पोस्टर प्रहरीले कसको निर्देशनमा च्यात्दै हिँडे?

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा फोटो च्यातेको विषयमा आफूलाई थाहा नभएको र प्रशासनले कुनै पनि निर्देशन नदिएको दाबी गर्छन्।

प्रजिअ बुढा भन्छन्, 'विरोध तथा प्रदर्शन गर्ने नागरिक हक हो। तर यस्ता विरोध गर्दा वातावरण प्रदूषणमा ध्यान दिनुपर्छ भन्दै नागरिक समाज, राजनीतिक दलहरूसँग माइकिङ नगर्ने, पोस्टर नटाँस्ने, आगो नबाल्ने सहमति भएको छ। प्रहरीले फोटो टाँस्न लाग्दा रोकेको पनि छ। तर टाँसिसकेका फोटो च्यातेको भने छैन।‘

जिल्ला प्रशासन कार्यालयलाई नै थाहा नभई किन प्रहरीले पोस्टर च्यात्यो त? प्रहरीकै निर्देशनमा च्यातिएको त होइन? जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ पनि पोस्टर च्याँतिएको बारेमा जानकारी भए पनि किन च्याते भन्ने कुरा थाहा नभएको दाबी गर्छन्।

डिएसपी गुरुङले भने,’ हामी पनि अहिले यही विषयमा छलफल गर्दैछौँ। कसको निर्देशनमा किन फोटो च्याते बुझेको छैन। म बुझ्दैछु।‘

गृह मन्त्रालयले पोस्टर च्यातिएको विषयमा आन्तरिक रूपमा छानबिन गरिरहेको गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव एकदेव अधिकारीले जानकारी दिए। उपसचिव अधिकारीले भने, ’गृह मन्त्रालयले कसैलाई पनि सरकारलाई सांकेतिक रुपमा दबाब दिन रोकेको छैन। मन्त्रालयले पोस्टर च्याँत्न समेत निर्देशन दिएको छैन। अनुसन्धानको विषय भएकाले गृहले घटनाको अनुसन्धानमा चासो देखाएकै छ।‘



कसले च्यात्न लगायो निर्मलाको पोस्टर? न सिडिओलाई थाहा छ, न प्रहरी, न गृह मन्त्रालयलाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट