PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरोजराजको धम्बोझी : किताव विमोचनमा हुने खर्च बराबरको पुस्तक विद्यालयलाई



पहिलोपोस्ट

सरोजराजको धम्बोझी : किताव विमोचनमा हुने खर्च बराबरको पुस्तक विद्यालयलाई

काठमाडौं : पत्रकार तथा लेखक सरोजराज अधिकारीको उपन्यास धम्बोझीलाई प्रकाशक सांग्रीलाले फरक शैलीले बजारमा ल्याएको छ। अधिकारीको उपन्यास धम्बोझी आजबाट बजारमा उपलब्ध गराएको सांग्रीलाले विमोचनमा हुने खर्च बराबरको विभिन्न पुस्तकहरु एक पुस्तकालयलाई हस्तान्तरण गरेको छ।

'लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भनेपछि हामीले विमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौँ,' सांग्रीला बुक्सका मणि शर्माले भने। सिन्धुलीको झाँगाझोली, रातामाटास्थित श्री प्रगतिशील माविका सहायक प्रधान अध्यापक श्री केशव भट्टराईलाई उपलब्ध गराएको छ।

मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह-अवरोहमाथि लेखिएको धम्बोझी उपन्यासमा आन्चालिक परिवेश र अवधी भाषिकाको प्रयोग सहितको संवादले देहातको मिठासपूर्ण भाव सन्चार गरेको छ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो। यसअघि उनको गैर आख्यान तर्फ ''जासुसीको जालो: बिदेशी गुप्तचरको नेपाल चलखेल" र ''चक्रब्यूहमा चन्द्रसूर्य : रास्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती" नामक खोजमूलक पुस्तक प्रकाशन भइसकेको छ। आख्यानतर्फ ''रुपबजारकी नोरा'' कथा संग्रह प्रकाशित छ। 

नेपालगन्ज, बाँकेको सेरोफेरोको प्लटमा लेखिएको धम्बोझीले मधेशमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ। 

सांग्रीलाले धम्बोजी प्रकाशनको अवसर पारेर आफ्नो प्रकाशन र अन्य गरी करिब तीन सय पुस्तक लेखकका चार वटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डट कम र इ-सेवा पसलमार्फत् मात्र नौ सय उनान्सय रुपियामा समेत उपलब्ध गराएको छ।  

धम्बोझी उपन्यासलाई चाँडै सांग्रीला बुक्स-इन्डिया मार्फत् हिन्दी र अंग्रेजी भाषामा ल्याइँदैछ| अंग्रेजी र हिन्दीमा यसलाई सोमेश बर्माले अनुवाद गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell