PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी!


किशोर नेपाल

ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी!

  • किशोर नेपाल -
कहिले काहींँ मानिस आफ्नै कारणले पछि पर्छ। जनकपुरधाममा हुने विवाह पञ्चमी मेलाका लागि भएका तयारीको पर्दा उठाउन तयार रहेकी कनिकाको कलम अचानक वीपी राजमार्गमा भएको ट्राफिक जाम देखेर द्रवित भयो। उसले जामबाट उम्किन अनेक उपायको खोजी गरी। कुनै उपाय कामायाव भएन। नमोबुध्द प्रवेश द्वारमा अपरान्ह ४ः१५ बजे आइपुगेको थियो कनिकाको सवारी। उ भक्तपुर–कान्तिपुर करिडरमा प्रवेश गर्दा साँझको ८ः१५ बजेको थियो। ट्राफिक जामको यो चार घण्टा कनिका र उसको फोटोग्राफर मित्र बिस्तारै बिस्तारै सडकमा घिस्री रहेका थिए। जनकपुर शहरबाट गाडी हाँकेर आइरहेको चालक सन्दीपको कन्चटमा चिटचिट पसिना आइरहेको थियो। उसको आँखामा गाडी साहूका राता आँखाहरु टल्किइरहेका थिए। साहूले उसलाई हिदायत दिँदै भनेको थियो, ‘यताउता नअल्मलिनु। सरासर फर्किनु। नत्र राम्रो हुनेछैन।’ 

कान्तिपुरबाट फर्किँदाका लागि सन्दीपले साथी ल्याएको आफनोे साडुभाइ नोकिया मोबाइलको एन्ड्रोइड भर्सनसँग जिस्किँदै थियो ।

उनीहरुलाई नमोबुद्धबाट धुलिखेल बजारको मोडमा आइपुग्न पूरै एक घण्टा लागेको थियो। बाँकी एकघण्टा बनेपा बजार छिचल्न लाग्यो। त्यसपछिको दुइघण्टा कोटेश्वर छिचल्न लाग्यो। यसैबीच कनिकालाई सूसू आयो। उसले सकेसम्म रोकी। तर, कुनै पनि कुरा एकहद सम्ममात्र लागू हुन्छ। कनिकाको सूसूले हद नाध्न थालेपछि उसले चालक संदीपलाई भनी, ‘ए भाइ, म यहाँ ओर्लिएर ट्वाइलेटको खोजीमा जाँदैछु। तिमी मलाई अलिपर वेट गर्नु है। म फोन गर्छु।’

त्यसपछि उ गाडीबाट ओेर्लिइ र खुला ठाउँतिर कुदी। जसोतसो सूसू कर्म सकेर बल्लतल्ल सडकमा उक्लिइ। उसको मनमा झलक्क फुर्यो, ‘उता विदेशमा भएको भए यसरी नियम मिच्न पाइन्थ्यो र?’ 

उसले फोनगरी। गाडी बिस्तारै घिस्रिएर जडिबुटी पूर्वको पुलसँगै जेब्रा क्रसमा थियो। धेरै टाढा थिएन उबाट। उ लम्केर गइ। गाडीमा चढ्न खोजेकी मात्रै के थियो एउटा बाइकले झण्डै ठक्कर दियो। कनिकाले बैरागी काईंलाको त्यो कविता सम्झिने कोसिस गरी जसमा दार्जिलिङको चौरस्तामा आएको मोटरले सडककी युवतीलाई झण्डै ठक्कर दिएन। कति नजिकबाट आयो मृत्यु। कनिका त्यसबाट उम्किइ।

बनेपा आइपुग्दा नपुग्दा कनिकालाई भोकले सताएको थियो। तर, त्यहाँ खाने ठाउँ राम्रो थिएन। उसले पनौती लाग्ने बाटोमा एउटा रेष्टुराँ देखेकी थिइ। त्यो रेष्टुराँको नाम ताजमहल वा मोतिमहल केही यस्तै थियो। एकमन त उसलाई स्थानीय मिठाइ पसलहरुमा पाइने दूधबाट बनेको मिठाइ खाइदिउँ कि जस्तो लागेको थियो। तर, खाइन्। पेट थिचेरै बसी। त्यसपछि कतिबेला आयो साँगा भन्ज्याङ उसले थाहै पाइन। उ साँगा भञ्ज्याङ पर्खिँदै थिइ। त्यो छुटी सकेको थियो। भञ्ज्याङमा रहेको गुजमुज्ज बजारमा बुल्डोजर लागेको थियो। नेपाल देशमा स्थापित सबभन्दा अग्ला महादेवको मन्दिरमा पुग्ने बाटो पनि ‘भिजिबुल’ थिएन।

कनिकालाई खसखस लाग्यो। उसले सुनेकी थिइ, महादेवको यो मूर्तिको स्थापना देशमा प्लाष्टिक पानी टेंकी हिलटपका निर्माताले गरेका हुन्। महादेवको यो मूर्ति आम्दानीको राम्रै स्रोत बनेको छ। भक्तजनहरु आइ रहन्छन। यहाँ होटल पनि छ। प्राकृतिक अस्पताल पनि छ। ‘एकदिन आउनु पर्ला सुदिप्तीलाई लिएर’ कनिकाले मनमनै सोची, ‘दालमा केही न केही कालो पक्कै छ।’

एकातिर भोकको झोंक। अर्कोतिर बिचारको गतिशील प्रवाह ।

कनिका ट्राफिकका बारेमा सोच्न थाली। विकास र समृद्धिको यो नवयुगमा कान्तिपुर शहरका सडकमा ट्राफिक लाइट छैनन्। केही वर्ष अघिसम्म देशमा पर्याप्त बिजुली थिएन। त्यसैले ट्राफिक लाइटको कुरै थिएन। कुलमानजीले बिजुली अड्डाको अख्तियारी पाएपछि ट्राफिकले थाहा पायो, शहरमा जडान भएका लगभग सबै बत्तीको डेट एक्सपायर्ड भइसकेको छ। ट्राफिक बत्ती चलाउने काम पुलिसको भए पनि त्यसको व्यवस्थापनको काम सडक प्रशासनले गर्ने हो। बजेट उसैसँग छ। बिचरो पुलिससँग के पैसो होस्।

कस्तो लाजै नभएको सरकार। एकातिर सडकमा गुडाउन दुई करोडदेखि अठार करोडसम्म खर्च गर्न तयार छ। तर, ट्राफिक लाइट बनाउन पैसा छैन। यस्तो दरिद्र पाराले कसरी आउला प्रधानमन्त्री केपी ओलीले घोक्रो फुल्ने गरी चिच्याएर बोलाएको समृद्धि? यता कर पनि उठेकै छ। पुलिसले मापसे लगायतका परीक्षणबाट करोडौं करोड कमाइ दिएकै छ। तै पनि, देशको विकासका लागि पैसा खर्च गर्न अन्कनाउँछन् बजियाहरु। यस्तो पनि हुन्छ त?

कोटेश्वर कटेपछि कनिका ढुक्क भइ। अब त घर पुगिइ हालियो। उसको मनमा चलेको विचारको तरंग भने टुंगिएको थिएन। बीपी मार्गमा यो जामको जिम्मेवार सरकार नै हो। अहिलेका भौतिक योजनामन्त्री रघुवीर महासेठले मन्त्रिपरिषदले यातायात सिण्डिकेट तोडने निर्णय गरेकै दिन यातायात सिण्डिकेट स्थापित गरी दिए। अब बीपी मार्गको भविष्य धरापमा छ। महतोको ज्वाइँ भएकाले महासेठमा धनको अहंकार त हुने नै भयो। अब आगे समृद्धि  ल्याउने सरकारले जे गर्ला त्यही होला। रोएर, कराएर, अनशन बसेर केही हुनेवाला छैन। जे गर्दछन ‘प्रभु’ गरुन्, छ लीला उनैको।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट