PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकामा आपत टरेपछि नेपालमा 'लाखबत्ती', असम्भवलाई सम्भव बनाइदिएकोमा शुद्धोदन परिवारको स्वयम्भूलाई 'थ्याङ्क यु'

अमेरिकामा आपत टरेपछि नेपालमा 'लाखबत्ती', असम्भवलाई सम्भव बनाइदिएकोमा शुद्धोदन परिवारको स्वयम्भूलाई 'थ्याङ्क यु'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : मंगलबार बिहानैदेखि रञ्जित परिवारलाई भ्याई नभ्याई थियो। आफन्त र शुभचिन्तकहरुलाई उनीहरुले स्वयम्भू परिसर डाकेका थिए। स्वयम्भू स्तुपको नजिकै रहेको हारती माताको मन्दिरमा यो परिवारले 'लाखबत्ती' बालेर पूजा गर्दै थियो।

आफूले चिताएको कुरा पुगोस् भनी गरिएको भाकल पूरा भएपछि भक्तजनहरु आफ्नो आस्था प्रकट गर्न र भगवानलाई 'थ्याङ्क यु' भन्न यसरी लाखबत्ती बाल्ने गर्छन्। 

शुद्धोदन रञ्जित रातो सर्ट लगाएर स्वयम्भू परिसरमा उपस्थित थिए। उनकी छोरी स्मिता र श्रीमती रीता पनि रातो सारीमा सजिएकी थिइन्। 

एक वर्षअघि उनै रञ्जित सुन्तला रङको पहिरनमा थिए। अमेरिकाको जेलमा बन्दीहरुले यस्तै रङको लुगा लगाउन दिइन्छ। १५ वर्ष मुनिका तीन किशोरीहरुले उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। कानुनी रुपमा उनलाई १५ वटा चार्ज लागेको थियो। पछि अर्का दुई आरोपी थपिएपछि कूल १९ वटा चार्ज थियो जसमध्ये एउटामात्रै दोषी साबित भएको भए ७५ महिना जेलमा बस्नुपर्थ्यो। 

पोर्टल्यान्डमा राम्रै चलेर नामसहित दाम पनि कमाइरहेका युएस वर्ल्ड क्लास तेक्वान्दो स्कूलका सञ्चालक शुद्धोदन रञ्जितलाई लागेको आरोप यो राज्यको 'मेजर ११' अपराध भित्र पर्थ्यो। मतलब, न न्यायाधीशले सजाय तोकिएको भन्दा कम दिन सक्ने, न राम्रो व्यवहार देखायो भन्दै घटाउन नै मिल्ने। 

उनले नाम चलेका टप क्रिमिनल डिफेन्स लयरहरुलाई सम्पर्क गरे। सबैले एउटै जवाफ दिएर निराश पारे, 'नो होप'। बच्चाहरुसित यौन दुर्व्यवहारको संवेदनशील विषय। १९/१९ वटा चार्ज ! अहँ। हामी केही गर्न सक्दैनौँ। 

'नेपाली वकीलहरुले त मलाई नेपाल भागेर जाऊ भन्नेसम्मका सल्लाह दिए' उनी सम्झिन्छन्। हो यस्तै सबै कुरा प्रतिकूल भएको स्थितिमा उनकी श्रीमतीले भाकल गरेकी थिइन्- यो आपत टारिदिए हारती अजिमालाई लाखबत्ती बाल्ने। 

स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो। यिनलाई यक्ष र राक्षसहरूमा सबैभन्दा धेरै ऋद्धि र बल भएकी र देशदेशान्तरमा आफ्नो आधिपत्य जमाएकी यक्षणीको रूपमा मानिन्छ। पहिले राक्षस भए पनि पछि बालबालिकाहरुको रक्षा र दयामाया गर्दै बसेकी देवीको रुपमा पुजिन्छ।

नभन्दै सात समुद्र पारी अमेरिकामा आपतमा परेका काठमाडौँका एक रैथाने 'बालक'को चमत्कारपूर्ण उद्दार भयो। सबैले आशा त्यागिसकेको मुद्दामा उनको जित भयो। गएको अक्टोबर महिनाको अन्तिममा उनले सबै आरोपबाट सफाई पाए। यसबारे समाचार पढ्नुस्- 'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव  

त्यसलगत्तै भगवानलाई थ्याङ्क यु भन्न उनीहरुको परिवार नेपाल आयो। तर भाकलको पूजा गर्न नहुने चर्तुमासको चलनले उनीहरुलाई रोक्यो। त्यो सकिएपछि मंगलबार उनीहरुले यो चलन पूरा गरे। 

'थ्याङ्क यु'को अर्को पक्ष

विश्वभर यौन दुर्व्यवहारविरुद्धको अभियान चलिरहेको बेला १९/१९ वटा आरोप लागेर पनि सफाई पाएका रञ्जितको केसको चर्चा त्यहाँ निकै भइरहेको र यसको महत्व पनि दूरगामी रहेको वकीलहरुले आफूलाई भनेको रञ्जित परिवार बताउँछ। 

यो केसपछि अमेरिकाका वकीलहरुले आफूलाई सम्पर्क गरिरहेको सुनाउँदै शुद्धोदन भन्छन्- 'यो मुद्दामा मेरो जित कसरी भयो भनी मसित कुरा गर्न खोजिरहेका हुन्छन्। मसित टाइम मागिरहेका हुन्छन्। अनि मलाई मेरा साथीहरुले सल्लाह दिएका छन्- पहिला उनीहरुले भेट्नका लागि मिनेटको कति सय डलर चार्ज लगाउने भन्थे। अब तिमीले उनीहरुलाई चार्ज लिनुपर्छ।'

आफ्नो मुद्दाले त्यो राज्यमा 'मेजर ११' अपराधको विषयमा पनि बहस छेडिएको उनी बताउँछन्। 

अमेरिकी अदालतमा नेपालभाषालाई मान्यता 

२०५५ सालमा काठमाडौँ महानगरपालिकाले नेपालभाषालाई कामकाजमा मान्यता दिने निर्णय गर्‍यो। लगत्तै धनुषा जिविस र राजविराज नगरपालिकाले पनि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गर्‍यो। 

यसको विरोधमा सर्वोच्चमा रिट पर्‍यो र २०५६ जेठ १८ मा सर्वोच्च अदालतले ती निकायलाई सरकारी कामकाजमा नेपाली भाषाबाहेक स्थानीय मातृभाषाको प्रयोग नगर्नु नगराउनु भन्ने आदेश जारी गर्‍यो। त्यसयता प्रत्येक वर्षको जेठ १८ गतेलाई नेपालका आदिवासी जनजातिले कालो दिवसको रुपमा मनाउँदै आइरहेका छन्।

उता अमेरिकामा भने उनकै मुद्दाका कारण नेपालभाषालाई मान्यता प्रदान भएको दावी गर्छन् रञ्जित। 'मैले सुरुमा मेरो भाषा अङ्ग्रेजी हैन मलाई आफ्नो भाषामा अभिव्यक्ति दिन पाउने अधिकार हुनुपर्छ भनेर माग गरेँ। उनीहरुले मलाई नेपाली भाषाका दोभाषे ल्याएर दिए' रञ्जित भन्छन्, 'त्यसपछि मैले नेपाली पनि मेरो मातृभाषा हैन। नेवार (नेपालभाषा) मेरो मातृभाषा हो, मलाई त्यही भाषाको दोभाषे चाहिन्छ भनेँ।'

अदालतलाई यो कस्तो भाषा भन्ने पर्‍यो। उनीहरुलाई दोभाषे खोज्न गाह्रो पर्‍यो। यो बीचमा उनले आफ्नो डिफेन्सका लागि रणनीति बनाउन भ्याएको उनी सुनाउँछन्। 

सेप्टेम्बर ११ देखि २३ सम्म भएको ओरेगन राज्यको व्यावसायिक दोभाषेहरुको सम्मेलनले नेपालभाषामा दोभाषे राख्न पाउनु पर्ने माग गर्‍यो। त्यस अनुसार ओरेगन राज्यको अदालतले अदालतमा नेपालभाषा प्रयोग गर्नसक्ने अधिकार दियो। नेपालभाषा प्रयोग गर्न चाहने जो-कोहीलाई  भाषाबाटै अदालतमा बयान दिन पाउने भए र अदालतले दोभाषे प्रयोग गरेर भाषा बुझ्ने भए। 
 
 


ट्रेन्डिङ पोस्ट

Ncell