PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मधेश डायरीः समाधानको आशामा थुप्रिएका समस्या



किशोर नेपाल

मधेश डायरीः समाधानको आशामा थुप्रिएका समस्या

मधेशका नाममा परिचित भूखण्डको केन्द्रमा रहेको जनकपुरधाम नेपालको लोकप्रिय गन्तव्य हो। सीताको जन्मभूमि र रामको विजय भूमिका रूपमा परिचित जनकपुरधाम हिन्दुहरूको प्रसिद्ध तीर्थस्थलमध्ये प्रमुख हो। जनकपुरधामको लोकप्रियता सधैँ एकनासको रहेको छ। यसको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। केही समय पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तीर्थयात्राका परिणाम उत्साहजनक रहेको बताउँछन् यहाँका व्यापारीहरू। यसै महिना सम्पन्न हुने विवाह पञ्चमीको मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीका रूपमा आउनेछन्। यसबाट पनि जनकपुरधामको पर्यटन व्यवसायमा वृद्धिको अनुमान गरिएको छ।

पहिले पहिलेका मानिसहरू जयनगर, भारतबाट “छुकछुके” रेल चढेर जनकपुरधाम प्रवेश गर्दथे। त्यो रेलले आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा गुजारेर अवकाश लियो। त्यसको ठाउँमा बडीलाइनको रेल आउँदैछ जयनगरबाट जनकपुरधाम र कुर्थासम्मका लागि। सम्भवतः विवाह पञ्चमीमा आउँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगीले दुई नम्बर प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतलाई यो रेल हस्तान्तरण गर्नेछन्।

पूर्व-पश्चिम राजमार्ग बनेपछि जनकपुरधामको यात्रा धेरै सुगम भयो। जनकपुरधामभित्र पस्नु कठिन थियो। भित्र पसी सकेपछि शहर सहज थियो। मधेशी र पहाडी दुबै जातिका मानिस बस्दथे यहाँ। शहरमा कांग्रेसको जगजगी थियो। जनकपुर चुरोट कारखानाको पूर्वी दिशामा स्व. महेन्द्रनारायण निधिको निवास थियो भने पश्चिमी दिशामा शहीद सरोज कोइरालाको। दुई नेताका बीच विवाद थियो। असहमति र मतान्तर थियो। तर, पार्टी एकतामा छिसिक्क केही हुन लागेको समयमा दुबै नेताको मनपेट मिल्दथ्यो। कांग्रेस साँच्चिकै कांग्रेस थियो त्यति बेला।

यति बेला जनकपुरधाम शहरमा कांग्रेसको उपस्थिति निकै पातलिएको छ। यहाँका कांग्रेसबीच स्थानीय तहमा खासै विवादको अवस्था छैन। स्थानीय तहमा कांग्रेस उप–सभापति विमलेन्द्र निधि र आनन्द ढुंगाना सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइराला पक्षको झगडा बोक्न अभिशप्त छन्। झगडा केन्द्रीय तहको भए पनि स्थानीय तहमा पर्ने त्यसको असर बराबर पर्दछ।

जनकपुरधाममा यतिखेरको मौसम रमाइलो छ। बिहान बेलुका चिसो-चिसो छ। चिसै भइसकेको छैन। शहरको मूल सडक फराकिलो पार्ने काम भइरहेको छ। धामवासीका घरहरू काटिएका छन्। सडक छेउको धेरै घरमा भएको एउटै कोठा पनि भत्काइएको छ। यत्तिले नगरवासीलाई अलिकति पनि हल्लाउन सकेको छैन। उनीहरूले आफ्नो घर भत्केकोमा दुःख मनाउ गरेका छैनन्। क्षतिपूर्ति मागेका छैनन्। सरकार र निर्माण कम्पनीलाई अलिकति पनि दुःख दिएका छैनन्। यसले सबै मानिसको मनमा शहरवासीप्रति आदरको भावना जगाएको छ।

“पहिले त शहरका सडक बमले ध्वस्त सिरियाका सडकजस्ता देखिन्थे। अहिले त धेरै सफा भएको छ” एकजना जानकारले बताए, “आउँदो दुई वर्षभित्र यो शहर चिन्न नसकिने हुनेछ।”

सडक निर्माण जनकपुरधाममा मात्र सीमित छैन। भर्खरै शहर बनेको नगराइनको हाल त्यस्तै छ। जनकपुरबाट भारतीय सीमा जटीसम्मको बाटो फराकिलो र नयाँ बनाउने योजना अनुसार काम भइरहेको छ। नगराइनमा विमलेन्द्र निधिको घर ध्वस्त भएको छ। तर, आक्रोश वा शक्ति प्रदर्शनको अभिव्यक्ति कतैबाट पनि आएको छैन। जनकपुरधामलाई प्रदेश राजधानीका रूपमा हेरिएको छ। जनकपुरधाम शहरका बासिन्दालाई राजधानी शहर कस्तो हुनुपर्दछ? त्यसको पूरा ज्ञान छ। त्यसैले पनि, उनीहरु शहरको विकासमा हस्तक्षेप गर्न चाहँदैनन्।

यता प्रदेश सरकारतर्फ, मुख्यमन्त्री राउतको नेतृत्वका बारेमा कसैको पनि विपरीत टिप्पणी छैन। सातै वटा प्रदेश सरकारहरूका लागि अहिलेको अवस्था त्यति अनुकूल देखिएको छैन। त्यसमा पनि, संघीय संरचनामा जाने प्रस्तावको मूल प्रस्तावकका रूपमा दुई नम्बर प्रदेशको नाम स्पष्ट आउँछ। यो अवस्थामा दुई नम्बर प्रदेशको दायित्व बढेको त स्पष्ट नै छ।

राजनीतिमा रुचिराख्ने सबैले बुझ्नुपर्ने कुरा हो, मधेशको राजनीति पहिलेको जस्तो छैन। यो कुरा कांग्रेस र कम्युनिस्टका नेताहरूले बुझ्नु बढी जरुरी छ। एक समय थियो जब मधेशमा कांग्रेसको पूरै वर्चस्व थियो। समयान्तरमा गुटबन्दी र आपसी झगडाजस्ता कतिपय कारणले मधेशमा कांग्रेसको वर्चस्व घट्दै गयो। पहिलो राष्ट्रिय जनआन्दोलनपछि एमालेले पनि आफ्नो बलियो उपस्थिति देखायो मधेशमा। कांग्रेसको भोट विभाजन भयो। दोस्रो राष्ट्रिय जनआन्दोलनपछि बनेको अन्तरिम संविधानले मधेशको समस्यालाई सम्बोधन नगरेपछि भएको मधेश विद्रोहले अन्तरिम संविधानलाई पुनर्लेखनका लागि पठायो। अहिले बनेर जारी भएको संविधानमा प्रदेश सरकारहरूलाई केही अधिकार पक्कै दिइएको छ। तर, त्यो पर्याप्त छैन ।

राजनीतिक स्वार्थहरूको घर्षण र मिश्रणका कारण प्रदेशहरूको सीमांकनका समयमा कांग्रेस र एमाले मधेशसँग टाढिए। तत्कालीन अवस्थामा कांग्रेसभन्दा पनि एमालेका नेताहरु बढी प्रखर थिए मधेशको विरोधमा। पाँच प्रतिशतको थ्रेसहोल्ड पनि एउटा समस्याको रुपमा नै रहेको छ।

प्रधानमन्त्री ओली संविधान संशोधनबाट अलमलिएलान् भनेर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उप–प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेको चर्चा खुब हुन थालेको छ मधेशमा। यो कतिसम्म साँचो हो? जाँच्ने कुनै कसी छैन अहिले। संविधानमा संशोधन भएन भने फोरममात्रै होइन, राष्ट्रिय जनता पार्टीसमेत मूलधारबाट उछिट्टिने सम्भावना बढेको छ। ती दुबै पार्टी मूलधारबाट उछिट्टिए भने मधेशमा सीके राउतको भावनात्मक आह्वानबाट प्रेरित कलिला उमेरका ‘नवयुवा’ जाग्नेछन्। मधेशवादी दलका कारण सीके राउतको नारा अहिलेसम्म प्रभावकारी थिएन। तर, मधेशवादी दललाई मूलधारका दलहरूले विश्वासमा नलिने हो भने मधेशमा कुनै पनि नारा प्रभावकारी हुन बेर लाग्ने छैन।

कुनै पनि प्रदेश सरकारसँग संरचनात्मक आधार छैनन्। न स्रोतको व्यवस्था छ। न कानुन बनेका छन्। संघीय सरकारले प्रादेशिक सरकारलाई घाँडोको रूपमा लिएको देखिन्छ। सत्तामा रहेका दलका कार्यकर्ता देशको भविष्यसँग भन्दा आफ्नो र आफ्नो परिवारको भविष्यसँग बढी जोडिएका छन्। सत्ताबाट उठेको अनैतिक धुँवाले सबै जनताको अनुहार कालो पार्ने चिन्ताले चिन्तनशील भनिने बुद्धिजीवी वर्गलाई छुनुपर्ने हो। तर, त्यस्तो केही देखिँदैन। समय रहँदै सोचिएन भने देशले अहिलेको भन्दा ठूलो दुर्दशा बेहोर्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell