PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यमनमा शान्तिको प्रयास, हुथी विद्रोहीद्वारा युद्धविरामको घोषणा : विश्वमा आज



यमनमा शान्तिको प्रयास, हुथी विद्रोहीद्वारा युद्धविरामको घोषणा : विश्वमा आज

यमनमा शान्ति

यमनमा संघर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका छन्। शान्ति प्रक्रियाको तयारीका सन्दर्भमा राष्ट्रसंघका एकजना कूटनीतिज्ञले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा हुथी विद्रोहीले पछिल्लो कदम चालेको हो। 

सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्वीट गरी सबै आधिकारिक यमेनी राजनीतिक दलहरुलाई युद्धविराम गर्न आग्रह गरेका छन्। सेप्टेम्बरमा पनि स्वीडेनमा शान्ति वार्ता गर्ने तय भएपनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो। रक्तपातयुक्त यमन गृहयुद्धका कारण त्यहाँ हजारौं मानिसको मृत्यु भइसकेको छ। 

साउदी राजा सलमानको सम्बोधन


साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा अदालतको प्रशंसा गरेका छन्। पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन्। अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले पहिलो पटक सार्वजनिक वक्तव्य दिएको जनाइएको छ। सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए।

अफगानिस्तानमा २३ को मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले बताए। उनले भीडन्तमा परी अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए। 


दक्षिणी भियतनाममा पहिरो

दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन्। हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन्। भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ। भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ।

फोटो: AFP/SPA/REUTERS/EPA



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell