PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मरिच र केराउको तस्करी अनियन्त्रित, १२० क्विन्टल केराउसहित दुई जना पक्राउ : किन हुन्छ तस्करी?



राधेश्याम पटेल

मरिच र केराउको तस्करी अनियन्त्रित, १२० क्विन्टल केराउसहित दुई जना पक्राउ : किन हुन्छ तस्करी?

वीरगंज: तराईका जिल्लामा पर्ने भन्सार कार्यालय छेउछाउका जिल्लाबाट भारत तर्फ हुँदै आएका मरिच र केराउको तस्करी अनियन्त्रित बन्दै गएको छ। पर्सा प्रहरीले हिजो राति १० बजे वीरगंजको अलौबाट सीमा कटाइरहेको अवस्थामा तस्करी भइरहेको दुई ट्र्याक्टर सुख्खा केराउ बरामद गरेको छ।

दुई ट्रयाक्टरमा ५० किलोका दुई सय ४० बोरो केराउसहित ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी गराए। मरिचपछि ठुलो परिमाणमा केराउ समातिएको यो ठुलो घटना हो।

प्रहरीले ना१ त २५८७ र ना२ त ७९१९ को ट्र्याक्टरबाट केराउ तस्करी गरिरहेको अवस्थमा ट्र्याक्टर चालक पर्सा बहुदरमाई नगरपालिका वडा नं ७ का रमविनय राम, २० र पकहामैनपुर गाउँपालिका वडा नं १ का राजेश महतो, ३५ लाई पक्रेको छ।

१२० क्विन्टल मरिच ७२ रुपैयाँका दरले ८ लाख ६४ हजार मुल्य बराबरको हुने प्रहरीले जनाएको छ। केराउ नेपालभन्दा भारतमा १० रुपैयाँ महंगोमा बिक्री हुने भएकोले नेपालबाट भारततर्फ केराउको तस्करी बढेको हो। त्यसैगरी ,पर्सा प्रहरीले गत साउनदेखि कात्तिकसम्म विभिन्न मिति तथा समयमा २४ सय ७३ किलो मरिच तस्करी बरामद गरेको छ।

त्यसैगरी बारा प्रहरीले विभिन्न मितिमा यो अवधिमा हजारौं किलो मरिच बरामद गरेको छ। भारतमा मरिचको भाउ पनि महँगो भएकोले विगत दुई वर्षदेखि तस्करीमा वृद्धि भएको हो।

मरिच र केराउको भयावह तथ्याङ्क

वीरगंजस्थित श्रीर्सिया सुक्खा बन्दरगाह भन्सारको तथ्यांकले पछिल्लो वर्षहरुमा मरिच र केराउको भयावह आयातलाई प्रष्ट पार्छ। भन्सार कार्यालयकाअनुसार गत वर्षको तुलनामा यस आर्थिक वर्षको पछिल्लो साउनदेखि कात्तिकसम्म ५ लाख २० हजार किलो मरिच बढी आयात भएको छ भने १ लाख ८६ हजार किलो केराउ बढी आयात भएको जनाएको छ।

गत आर्थिक वर्षमा कात्तिकसम्म साढे ७ करोड राजस्व बुझाएर ४९ करोड बराबरको १० लाख ६२ हजार २८९ किलो मरिच आयात भएको थियो भने यस आर्थिक वर्षको कात्तिक सम्म पौने १३ करोड राजस्व बुझाएर ६१ करोड ८७ लाख मुल्य बराबरको १४ लाख ८२ हजार किलो मरिच आयात भएको छ।

त्यसैगरी, गत आर्थिक वर्षको साउनदेखि कात्तिक सम्म १ करोड ४५ लाख राजस्व बुझाएर २ करोड ३० लाख ३० हजार मुल्य बराबरको ५३ लाख ४८ हजार ८५० किलो केराउ भित्रिएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि कात्तिक सम्म ५ करोड ३१ लाख ९८ हजार राजस्व बुझाएर ९ करोड ८६ लाख २३ हजार मुल्य बराबरको २ करोड ३९ लाख ९२ हजार किलो केराउ भित्रिएको हो। केराउको आयात चार गुणाले बढेको छ भने मरिचको आयात २६ प्रतिशतले वृद्धि भएको दखिन्छ।

कसरी हुन्छ तस्करी?

मरिच तथा केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको देखिन्छ। साइकल, मोटरसाइकल, ट्र्याक्टर र ट्रकमासमेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ। खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उदेश्यले स्थानीय प्रहरी प्रशासनसँगको सेटिङमा मरिच केराउको तस्करी हुने गरेको स्थानीय बताउँछन्।

पर्साको वीरगंज भनसार आसपास, आईसिपी नजिकको हरैया नाका, प्रसौनी, भिस्वा, जानकीटोला, पाण्डेपुर त्यसैगरी बाराको मटिअर्वा, पचरौता, सिम्रौनगढलगायत छोटी नाकाबाट सवारी साधनमा लोड गरी मरिच भारतको बिहार, उत्तर प्रदेश, दिल्लीसम्म पठाइने गरिन्छ।

कहाँबाट कति राजस्व तिरेर आउँछ मरिच केराउ?

मरिच विशेषगरी तेस्रो मुलुक भियतनाम, अर्जेन्टिनाबाट जहाज भएर कोलकत्ताबाट रेलमा वीरगंजस्थित ड्राईपोर्टमा आउँछ भने आईसिपीबाट पनि अहिले ठुलो परिमाणमा भित्रिरहेको भन्सार अधिकारीहरु बताउँछन्। पहिलेदेखि मरिचमा ५ प्रतिशत भन्सार महसुल र १३ प्रतशित मूल्य अभिवृद्धि कर बुझाएपछि मरिच आयात हुन्थ्यो भने सरकारले भन्सार महसुल दोब्बर १० प्रतिशत गर्दासमेत मरिच आयात रोक्न सकिएको छैन्। त्यसैगरी केराउ ५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करमा भित्रिरहेको श्रीर्सिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ बताउँछन्। केराउ क्यानाडा, अष्ट्रेलिया, युक्रेन, बेलारुसलगायत देशबाट आयात गरिन्छ।

नेपाल र भारतमा कतिकतिमा बेचिन्छ?

नेपालमा किलोको मरिच ५ सयदेखि ७ सयमा बिक्री हुन्छ भने भारतमा यसको मुल्य प्रति किलो ७ सयदेखि ८ सयको हाराहारीमा पर्छ। त्यसैगरी नेपालमा ७२ किलोमा पर्ने केराउ भारतमा पुगेपछि ८५ देखि ९० रुपैयाँमा बिक्री हुन्छ।

कारोबारी कोको?

मरिच र केराउको तस्करी गराउनेमा वीरगंजकै एक दर्जन व्यापारिक घाराना संलग्न छ। ६ महिना अगाडि वीरगंज भन्सारको ग्रिन च्यानेलबाट १२ टन मरिच ट्रकमा छाला भनी तस्करी गरिरहदा भारतीय ट्रकसहित चालक पक्राउ परे। राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धानकै क्रममा वीरगंजका छाला व्यवसायी सन्जय अग्रवाललगायत ३ जनालाई पक्राउ गरेको थियो।

अग्रवाल ग्लोबल लेदरका सञ्चालक हुन्। उनी पौने ५ करोड धरौटी बुझाएर अहिले पनि तारेखमा मुद्दा लडिरहेका छन्। कानपुरको ट्रक वीरगंज भन्सार कार्यालयमा छ भने अन्य दुई जना धरौटी बुझाउन नसकेर मुद्दा खेपी रहेका छन्। मरिच र केराउमा वीरगंजका ठुलो व्यापारीकै हात रहेको पुष्टि भइसकेको छ। तर उनीहरु आयातकर्ता मात्र भएको भन्दै बच्दै आएका छन्।

सावरी साधनमा मरिच र केराउ तस्करी गर्ने गिरोहका मानिस फस्ने गरेको देखिन्छ। सरकारले आयातलाई वैधानिक भनेको र तस्करीलाई अबैधानिक भनेकोले तस्कर गिरोहका व्यक्तिसम्म नेपाल सरकार र सम्बन्धित निकाय पुग्न नसकेको हो। यो कार्यमा वीरगंज रक्सौलका दर्जनौ व्यापारी मिलेका छन्। वीरगंज भन्सार नाका भएर मरिच केराउ भित्रेपछि तिलावे पुल नजिक बनेका गोदाममा भण्डारण गरी रातिको समयमा बारा, पर्साको नाका भएर बिहारमा मरिच पठाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell