PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्वमा देउवाविरोधी शक्ति प्रदर्शन, कोइराला वंशजका तीन उत्तराधिकारी एउटै मालामा



अनन्तराज न्यौपाने

पूर्वमा देउवाविरोधी शक्ति प्रदर्शन, कोइराला वंशजका तीन उत्तराधिकारी एउटै मालामा

विराटनगर: कोइराला परिवारका तीन उत्तराधिकारीले सयपत्रीको एउटै मालाभित्र उभिएर आफूहरू एक भएको सन्देश दिएका छन्। पार्टीको आगामी महाधिवेशनमा सभापतिका पदका लागि महामन्त्री डा शशाङ्क र केन्द्रीय सदस्य डा शेखर गरी दुई आकांक्षी छन्।

दुबैका आआफ्नै गुट र कार्यकर्ता सञ्चालित छन्। बहिनी सुजाता डाक्टर शेखरका पक्षमा छिन्। शेखरका पक्षमा वातावरण बनाउने भित्री उद्देश्यले सुजाताले आइतबार विराटनगरमा कार्यक्रम गरेकी हुन्।

कार्यक्रमलाई पूर्वमा देउवाविरोधी र कोइराला परिवारको एकीकृत शक्ति प्रदर्शनका रूपमा अर्थ्याइएको छ।

सुजाता अध्यक्ष रहेको गिरिजाप्रसाद कोइराला फाउन्डेसनको प्रदेशस्तरीय कार्यालयको उद्घाटन र गिरिजाप्रसादका जीवनीमा आधारित तस्बिर प्रदर्शनी कार्यक्रममा तीन उत्तराधिकारी नै प्रमुख अतिथिका रूपमा सहभागी थिए।

तीन उत्तराधिकारीले आमागी महाधिवेशनमा जो भए पनि आफ्नो परिवारबाट एक जनामात्र सभापतिको प्रत्यासी हुने सन्देश दुई वर्षअघि नै दिइसकेका थिए। त्यसपछि यस्तो सन्देश दिने उद्देश्यले पटकपटक ससाना कार्यक्रमको आयोजना भइरहेका छन्। यस पटक भने प्रदेश नम्बर १ र २ का काङ्ग्रेसका अगुवा र महत्त्वपूर्ण नेतासमेत बोलाएर बृहत् भेलामार्फत् कोइराला परिवारभित्रको एकता प्रस्तुत गरिएको छ।

कोइराला परिवारमा एकताको सन्देश दिँदै डाक्टरद्वय शशाङ्क र शेखरले आफूहरू हिजो पनि एक थियौँ आज र भोलि पनि एक हुनेछौँ भन्ने घोषणा गरे। शशाङ्कको मन्तव्य पारिवारिक विरासत र राजनीतिभन्दा माथि उठेको थियो।

‘हामी तीन जना त शारीरिक रूपमा कोइराला परिवारका सदस्य हौँ, हामीमा रगतको नाता छ’, उपस्थित कार्यकर्तालाई महामन्त्री शशाङ्कले भने, …तर कर्मले र राजनीतिले तपाईंहरू सबै बिपी र गिरिजाबाबुका सन्तान हुनुहुन्छ। हामीसरह हुनुहुन्छ।’

महामन्त्री कोइरालाले २०३७ सालको जनमत सङ्ग्रहका बेला बिपीले बहुदलले जितेपछि परशुनारायण चौधरी प्रधानमन्त्री हुनेछन् भन्दै दाङ र मोरङमा गरेको भाषणको सम्झना गरे।

‘बिपीले यसो भनेपछि हामीले किन यस्तो भाषण गरेको भनेर सोध्यौँ, शशाङ्कले सुनाए,…त्यसपछि बिपीले तिमीहरू राजनीति बुझ्दैनौ भन्नुभयो।’

उनको भनाइ थियो, …त्यसैले यो पार्टीमा हाम्रो जति अधिकार छ, त्यति नै अधिकार तपाईंहरू सबैको छ ।’

केन्द्रीय सदस्य डा शेखरले बीपी, गणेशमान र सुवर्ण शमशेरले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श राखेर नेपाली काङ्ग्रेसको गठन गरेको जानकारी दिए।

उनले पार्टीमा उहाँहरूको सपना पूरा गर्न कोइराला परिवारका तीन उत्तराधिकारी एकताबद्ध र सक्रिय रहेको बताए।

‘तीन जना कोइराला तीनतिर फर्किएका छन् भन्ने भ्रम आजको कार्यक्रमले निवारण भएको छ’, शेखरको कथन थियो, ‘नेपाली काङ्ग्रेसमा अहिले नेताको खडेरी परेको छ। पार्टी गुटउपगुटमा विभाजित छ। राजनीतिक अस्थिरता छ। आँटिला नेता देखिएका छैनन्। यस्ता बेलामा हामी बिपी र गिरिजाबाबुको सपना पूरा गर्न तयार छौँ।’

पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले कोइराला परिवारका सदस्यबाट अझै आशा रहेको धारणा प्रकट गर्दै आशावादी कार्यकर्तालाई भरोसा दिन सक्नुपर्यो भन्ने सुझाव दिए।

मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बूले कोइराला परिवारका उत्तराधिकारीहरू पारिवारिक रूपमा आफूमात्र मिलेर सार्थक परिणाम नआउने चर्चा गर्दै देशभरिको काङ्ग्रेसलाई एक बनाएर लैजान चुनौती दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell