PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

श्रीलंकाली संसद कमेडी स्टेजजस्तै, बलपूर्वक हटाउन खोजे प्रतिवाद : राजापाक्षे



श्रीलंकाली संसद कमेडी स्टेजजस्तै, बलपूर्वक हटाउन खोजे प्रतिवाद : राजापाक्षे
फोटो: इन्डियन एक्सप्रेस

कोलोम्बो: श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफूलार्इ बलपूर्वक कसैले हटाउन नसक्ने बताएका छन्। 

संसदमा आफूविरुद्ध कानुनी प्रक्रिया पुर्‍याएर अविश्वासको प्रस्ताव प्रस्ततु भएमा प्रधानमन्त्री पद छाड्न तयार भएको उनले बताए। तर कसैले भन्दैमा र बल प्रयोग गरी हटाउने प्रयास गरेमा त्यसको प्रतिवाद गर्ने राजापाक्षेले बताए। 

अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ राष्ट्रपति सिरिसेनाले अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलार्इ प्रधानमन्त्री नियुक्त गरेका थिए। राजनीतिक द्वन्द्व बढ्दै गएपछि एक हप्ता अघि राष्ट्रपति सिरिसेनाले संसद भंग गरेका थिए। तर, उनको निर्णयमाथि त्यहाँको सर्वोच्च अदालतले मंगलवार रोक लगाएको थियो। बुधवार बसेको संसद बैठकमा राजापाक्षे विरुद्ध अविश्वासको प्रस्ताव पारित भए थियो।

सिरिसेनाले संसदबाट लिइएको सो निर्णय संवैधानिक नभएको भन्दै अविश्वासको प्रस्तावको नतिजालार्इ मान्यता नदिने बताएका थिए। सो क्रममा राजापाक्षे र विक्रमासिङ्गेका सांसदहरुबीच संसदमै झडप भएको थियो। 

शुक्रवार पुन: संसदमा राजापाक्षे विरुद्ध अविश्वासको मत प्रस्ताव हुँदा संसदमा सांसदहरुबीच कुर्सी हान्ने र खुर्सानीको धुलो प्रहार गर्ने कार्य भएको थियो। त्यस दिन पनि राजापाक्षे विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो। त्यो निर्णयलार्इ पनि सिरिसेना र राजापाक्षे समूहले अस्वीकार गरेका थिए। 

संसदमा भएको झडपका कारण संसद 'कमेडी स्टेज' जस्तो भएको भन्दै राजापाक्षेले संसद बैठकमा विपक्षीले चक्कु ल्याउने कार्य गरेकाले आफ्ना सांसदहरुले त्यसको प्रतिकार गरेको बताए। 

संसदबाट राजनीतिक निकास नआए जनतालार्इ निर्वाचनबाट श्रीलंकाको भविष्य छनौट गर्ने अधिकार दिनुपर्ने राजापाक्षेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell