PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी विजयी



गोविन्दराज नेपाल

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी विजयी
PHOTO : ANFA

काठमाडौँ : फेस्टिभल ब्रेकपछि आज बाट सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मीले जित हात पारेका छन्।

हलचोकस्थित एपीएफको मैदानमा भएको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० ले हरायो। लगातार दोस्रो जितपछि मनाङ ६ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा छ। मनाङका लागि अन्जन विष्ट र विदेशी खेलाडी अफिज ओलावालेले पहिलो हाफमा गोल गरे।

१७औँ मिनेटमा एनआरटीका मोसुद ओएले अन्जनलाई डि एरिया भित्र फल गरेपछि प्राप्त पेनाल्टीमा अन्जनले नै गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ओलावाले ३९औँ मिनेटमा तीन विपक्षी डिफेण्डरलाई छलाउँदै गोल गरे।

 
हलचोकमै भएको दोस्रो खेलमा विभागीय टोली आर्मीले च्यासल युथ क्लबलाई १-० ले पराजित गर्‍यो। आर्मीका लागि युवा खेलाडी विकास खवासले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

झण्डै एक महिना भन्दा बढी समयपछि लिग सुरु भएकोले क्लबहरुले सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन्। पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले हराएको मनाङले  लगातार दोस्रो खेल जितेपनि स्वभाविक खेल देखाउन सकेन।

सिक्किममा गभर्नस गोल्डकप जितेको मनाङले लिगमा सोचेअनुसारको खेल्न नसकेको प्रशिक्षक सुमन श्रेष्ठले पनि स्वीकारे। गभर्नर्स गोल्डकप जित्दाका मुख्य खेलाडी सुजल श्रेष्ठ चोटका कारण ६ साता मैदान बाहिर रहनेछन्। यस्तै भुटानको क्लब खेलेर आएका प्रकाश बुढाथोकी एनआरटी विरुद्धको पहिलो खेलमै घाइते भए।

आठ मिनेट पछि नै प्रकाश हात फ्याक्चर भएपछि मैदान बाहिरिनुपर्‍यो। उनको चोट निको हुन दुई महिना लाग्ने र त्यसो हुादा लिग नै गुमाउने मनाङका प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

उनले तीन अंकका सन्तुष्ट भएपनि कम्तीमा आफ्नो टोलीले थोरै गोल गरेको प्रतिक्रिया दिए। मनाङका प्रशिक्षक श्रेष्ठसँगै एनबरटीका प्रशिक्षक महेश्वर मुल्मीले ट्रेनिङका लागि उपयुक्त मैदान नभएकाले खेलाडीले राम्रोसँग तयारी नै गर्न नपाएको गुनासो राखे। मुल्मीले मनाङ विरुद्ध आफ्नो युवा टोलीले देखाएको प्रदर्शनमा सन्तुष्ट भएको बताए।

साउखलाको पुनरागम
दिनको दोस्रो खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका र स्टार खेलाडी मैदानमा उत्रिएका थिए। आर्मीका कप्तान भरत खवाससहित नवयुग श्रेष्ठ, गोलकिपर विकेश कुथु, डिफेण्डर सुमन अर्याल, जितेन्द्र कार्की राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए। यस्तै उमेर समूहका दिनेश हेन्जन, विकास खवास र सेसहाङ आङ्दम्बे पनि पहिलो रोजाईमा थिए।

उता च्यासलमा राष्ट्रिय टोलीबाट खेलिसकेका देवेन्द्र तामाङको नेतृत्वमा विमल घर्ती मगर, हेमन्त थापा मगर जस्ता खेलाडी थिए। यस बाहेक मनाङ र थ्री स्टारबाट लिग खेलिसकेका राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साउखला समेत लिग खेल्नका लागि जापानबाट आएका थिए।


पहिलो रोजाईमा रहेर पूरा ९० मिनेट मैदामा बिताएका सन्तोषले गोल भने गर्न सकेनन्। उनले दोस्रो हाफमा च्यासलका लागि गोल गर्ने अवसर पाएपनि सफल हुन सकेनन्। उनको उत्कृष्ट हेडर आर्मीका विकेश कुथुले मुस्किलले रोकेका थिए।

च्यासलले खेलमा राम्रो मुभहरु बनाएपनि फिनिसिङमा समस्या देखियो भने बर्मीका गोलकिपर कुथु पनि बाधक बने। पहिलो खेलमा एनआरटीसँग बराबरी खेल्दै लिग सुरु गरेको आर्मीलाई पहिलो जित दिलाउन भने विकास खवासको गोल निर्णायक बन्यो। विकासले खेलको २७औँ मिनेटमा सन्तोष तामाङको पासमा गोल गरेका थिए। यस जितपछि आर्मीले दुई खेलबाट ४ अंङ्क जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ।

पहिलो खेलमा मछिन्द्रसँग बराबरी खेलेको च्यासल भने जितविहिन छ।

कठिन जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलमा भन्दा केही सुधार भएपनि फिनिसिङमा अझै समस्या रहेको र आगामी दिनमा त्यसलाई बढी ध्यान दिने प्रतिक्रिया दिए। उता अझै जितको खोजीमा रहेको च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले लगातार खेल्नुपर्दा खेलाडीहरुले आराम नपाएको बताए। च्यासलले दुई दिनअघि मात्र नवलपरासीमा राइनो गोल्डकप खेलेर उपाधि जितेको थियो। शाक्यले दुई खेलमा जित हात पार्न नसकेपनि अझै केही नबिग्रेको र लिगमा जे पनि हुन सक्ने आगामी खेलमा राम्रो प्रदर्शन गर्ने बताए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell