PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपालगन्ज उपमहानगरपालिका 'हर्न निषेधित क्षेत्र', हर्न बजाउनेलार्इ १५ सय जरिवाना



नेपालगन्ज उपमहानगरपालिका 'हर्न निषेधित क्षेत्र', हर्न बजाउनेलार्इ १५ सय जरिवाना

बाँके : नेपालगन्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ। ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ। ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ। 

नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। 

उनका अनुसार मंसिर महिनाभर अभियान सफल पार्न ब्यापक प्रचारप्रसार गरिनेछ। नेपालगन्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मंसिर महिना सरोकारवाला संघ संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए। 

निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन्।

नेपालगन्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनि प्रदूषण भएपछि हर्न निषेधित गरिएको हो। जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ। 

अभियान शुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना गरिनेछ। पछिल्लो समय नेपालगन्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell