PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुर्खेतको पश्चिम क्षेत्रमा विकासले गति लिँदै : चार करोडको बजेटमा १७ योजना, शिक्षा र सडक प्राथमिकतामा



पी बी खड्का

सुर्खेतको पश्चिम क्षेत्रमा विकासले गति लिँदै : चार करोडको बजेटमा १७ योजना, शिक्षा र सडक प्राथमिकतामा

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम क्षेत्र विकासमा गति लिन थालेको छ। भौगोलिक रुपमा विकासको दृष्टिले पछि परेको पश्चिम क्षेत्र यतिवेला विकासमा गति लिन थालेको हो। 

उक्त पश्चिम क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद नवराज रावतले विकास निर्माणलाई गति दिन थालेका हुन्। उनी अहिले स्थानीय, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म लगाव राख्दै आफ्नो क्षेत्रमा विकासलाई तीव्रता दिन थालेका छन्। 

पश्चिम क्षेत्र आफैँमा विकासको हिसावले पछाडि परेको देखिन्छ। पहिलो पटक सांसदमा निर्वाचित भएका रावत जनताको आशा र सपना पुरा गर्ने दाउमा लागेका छन्। यस पटक मात्रै नभएर अर्को पटकको चुनावलाईसमेत आफ्नो पोल्टामा पार्ने कसरतमा उनी लागेका छन्। 

सांसद रावत अहिले गाउँका विकास निर्माणलाई समेत चुस्तदुरुस्त बनाउन केन्द्रित बनेका छन् भने, केन्द्र सरकारसँग समेत विकास निर्माण माग्ने ध्याउन्नमा छन्। 

उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका लागि पटक पटक प्रतिनिधिसभामा समेत आवाज उठाउँदै आएका छन्। विकास निर्माणमा पछि परेको भन्दै उनले विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिन समेत सुझाएका थिए। 

उनले यस चालु आर्थिक वर्षमा मात्र आफ्नो निर्वाचन क्षेत्र अन्तरगत परेका केही विकास निर्माणका कार्यक्रम समेत सार्वजनिक गरेका छन्। आफुले अहिले तत्काल प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको बताउँदै अहिले शिक्षा र सडकलाई बढी जोड गरेको सांसद रावतले बताए। ‘हाम्रो पश्चिम क्षेत्र विकासका हिसाबले धेरै पछि छ।’ उनले भने,‘त्यसो भएर पनि मैले शिक्षा र सडक निर्माणमा जोड गरेको छु। विकासको सुरुवात भनेकै शिक्षा र सडक मुख्य आधार हुन्।’

यी हुन् छनोट भएका १७ योजना

आर्थिक वर्ष २०७५÷०७६ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र नं. २ मा रहेका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनको निर्वाचन क्षेत्र अन्तरगत वीरेन्द्रनगर वडा नं. १ को त्रिपुरेश्वर माविको ६ कोठे भवन निर्माणका लागि  ५० लाख, भुरेली खोला कल्भर्ट निर्माणमा १९ लाख, घतानेको घरदेखि आडकुलो हुदैँ झाक्रीको थानसम्म जाने सडक निर्माण (ट्रयाक खोल्ने, नाला निर्माण र ग्राभेल गर्ने) १० लाख, जनसेवा मावि घुस्राको चार कोठे भवनका लागि १८ लाख बजेट विनियोजन गरेका छन्। 

त्यस्तै, बराहताल गाउँपालिका अन्तरगत कल्याकाँध–करंगे हुदैँ नयावन जोड्ने सडक निर्माणका लागि ३० लाख, मसिना–चेपाङ सडक निर्माण तथा ग्रेड मिलाई ग्राभेल गर्न २० लाख, ओदालताल–दमार–बड्डीचौर सडक निर्माण तथा ग्रेड मिलाई ग्राभेल गर्न ११ लाख, डुडिगैरा–सलैना–बड्डीचौर सडक निर्माण तथा नयाँ ट्रयाक खोल्न १५ लाख रुपैँया बजेट निनियोजन गरिएको छ। 

त्यसैगरी, पञ्चपुरी नगरपालिका अन्तरगत चौरखोला–बुदबुदी–लगम सिँचाई कुलो निर्माणका लागि ५० लाख, युवाज्योती आ.वि. बरैचेको ४ कोठे भवनका लागि १५ लाख, मिलनचोक–चौरखोला–मुरमुरी सडक निर्माण तथा नयाँ ट्रयाक खोली सडक ग्रेड मिलाई ग्राभेल गर्न २० लाख, दोबाटो–जंगलाघाट सडक निर्माणका लागि ३० लाख र विद्याज्योति मावि सुन्दरपुरको ४ कोठे भवनका लागि १८ लाख रुपैँया बजेट विनियोजन गरिएको छ। 

त्यस्तै, सांसद रावतकै निर्वाचन क्षेत्रको चौकुने गाउँपालिकाको समैजी आ. वि. तालागाउँको ६ कोठे भवन निर्माण गर्न २० लाख, योगी नरहरिनाथ वनविज्ञान क्याम्पसको १० कोठे भवन निर्माण गर्न ३६ लाख, मालिका आ. वि. जिउनारीतालको ४ कोठे भवन निर्माण गर्न १६ लाख र सिद्धेश्वरी मा.वि.को ४ कोठे भवन निर्माण गर्न २० लाख रुपैँया बजेट विनियोजन गरिएको छ। 

उक्त कार्यक्रम अन्तरगत आएको जम्मा ४ करोड बजेट मध्ये ३ करोड ९८ लाख रुपैँया विकासे काममा विनियोजन गरिएको छ भने २ लाख रुपैँया प्रशासनिक खर्चमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell