PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पञ्चायतमा फेकनको शर्त - केटी भगाउनेको बहिनीलाई बलात्कार गर्नुपर्छ, शर्तको विरोध गर्ने राष्ट्रिय सभा सदस्य कुटिए



बीपी साह

पञ्चायतमा फेकनको शर्त - केटी भगाउनेको बहिनीलाई बलात्कार गर्नुपर्छ, शर्तको विरोध गर्ने राष्ट्रिय सभा सदस्य कुटिए

मलंगवा : छठको भोलिपल्ट बुधवार सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६ नवलपुरका रामप्रसाद राय यादवकी छोरी पुनतीकुमारी राय फरार भइन्। बिहीवारबाट खोजी भयो, तर भेटिइनन्।

पुनतीसँगै पढ्ने दलित केटाले भगाएको आरोप लगाउँदै परिवारजनले दलित परिवारमाथि दबाव दिदै पञ्चायत बोलाए।

पुनतीसँगै पढ्ने कविलासी वडा ३ का संतोष राम(चमार)माथि केटी पक्षले आफ्नो छोरी भगाएको आरोप लगाए। केटी पक्षले राममाथि हातपात गर्न खोजेपछि शुक्रवार मदनपुरमा पञ्चायत बस्यो।

केटा दलित भएकोले त्यस क्षेत्रका दलित नेता एवं राष्ट्रिय सभा सदस्य रामप्रित पासवानलाई पनि पञ्चायतमा बोलाइयो। आफ्नो छोरालाई फसाउन खोजेको भन्दै रामका परिवारले पासवानसँग गुहार मागेका थिए।

पञ्चायतमा संतोष राम पनि उपस्थित भए। छलफलका क्रममा केटी पक्षले आफ्नो छोरी संतोष रामले नै भएको दाबी गरे। तर राष्ट्रिय सभा सदस्य पासवानले संतोष राम यही पञ्चायतमा भएकोले केटी भगाउने सम्भावना कम रहेको बताए।

केटी पक्षले संतोष पुनतीसँगै पढ्ने भएकोले भागेको जानकारी संतोषलाई थाहा हुन सक्ने भन्दै खोजेर ल्याउन दबाव दिँदै थिए।

पञ्चायतको अन्त्यमा दुई दिनभित्र केटीबारे जानकारी दिन संतोष रामलाई जिम्मेवारी दिइयो।

तर केटी पक्षका फेकन रायले संतोष रामले दुई दिनभित्र केटी ल्याउन नसके संतोषको बहिनीलाई ल्याएर बलात्कार गर्ने कुरा उल्लेख गर्नु पर्ने भनेपछि पञ्चायतमा विवाद चर्कियो।

‘दुई दिनभित्र उपस्थित गराउन संतोषमाथि दबाब दिदै थियौं। तर फेकन रायले दुई दिन पछि संतोष रामको बहिनीलाई ल्याएर बलात्कार गर्ने कुरा पनि लेख्नु पर्ने भने पछि विवाद भएको थियो।’ राष्ट्रिय सभा सदस्य पासवानले पहिलोपोस्टसँग भने,‘मैले हस्तक्षेप गरें। तर केटी पक्षकाहरुले मलाई तँ दलित भएर हाम्रो पञ्चायतको निर्णय गर्ने भन्दै गाली गलौज गर्दै ममाथि कुटपिट सुरु गरें। म भाग्दै थिएँ। स्थानीयवासीले मलाई लुकाई दिएपछि जोगिएँ।’

प्रहरीमा अहिलेसम्म निवेदन दर्ता नभएको उल्लेख गर्दै राष्ट्रिय सभा सदस्य पासवानले अब जाहेरी दर्ता गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell